• १३ असोज २०८१, आइतबार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

blog

राजु लामिछाने 

रुकुमपश्चिम, जेठ ७ गते । भेरी कोरिडोर अन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४, छरेबगर र जाजरकोटको नलगाड नगरपालिका–१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको बेलिब्रिज सञ्चालनमा आएको छ । त्रिदेशीय व्यापारिक सडक भेरी कोरिडोरको प्रमुख पूर्वाधारका रूपमा रहेको तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएको छ ।

भेरी कोरिडोर कार्यालय जाजरकोटका प्रमुख सुनील रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी कोरिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बताउनुभयो । बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जालमा जोडिएको छ । 

तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि बेलिब्रिज सञ्चालनमा आएको हो । २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपियाँमा बेलिब्रिज निर्माणको ठेक्का पाएको थियो । विविध कारणले बेलिब्रिज निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।  गत वर्षको वैशाख ७ गते यही बेलिब्रिज निर्माणका क्रममा भाँचिएपछि दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाइते हुनुभएको थियो । हाल निर्माण सम्पन्न भएपछि कार्यालयको प्राविधिक टोलीले शुक्रबार बेलिब्रिजको भारवहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । बेलिब्रिजले २५ टनसम्म भार थेग्न सक्ने कार्यालय प्रमुख रञ्जितकारले बताउनुभयो ।

यो सडकलाई रुकुमपश्चिम, जाजरकोट र डोल्पाको जीवनरेखाका रूपमा लिइएको छ । यो कोरिडोरले भारतको रूपैडियादेखि नेपालगन्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकका रूपमा समेत लिइन्छ । कोरिडोर अन्तर्गत तल्लुबगर, नलगाड र खदाङमा पक्की पुल निर्माण सुरु भएको छ । अन्य खोलामा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गरिने तयारी भइरहेको छ । 

भेरी कोरिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडक क्षेत्र फराकिलो बनाउने काम सुरु गरिएको छ । 

रूपगाड खोलाको बेलिब्रिज निर्माण भएपछि भेरी कोरिडोर अन्तर्गत पाँच वटा खोलाका पुल बन्ने छन् । अझै आठ वटा सानातिना खोलामा पुल बन्न बाँकी छ । यो पुल निर्माणपछि १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्नसमेत सहज हुने विश्वास रहेको छ । यस सडकखण्डमा ठेक्का लिने तर काम नगर्ने क्याराभान कन्स्ट्रक्सनलाई तत्काल काममा फर्कन दबाब दिइएको भेरी कोरिडोर कार्यालयले जनाएको छ ।