• २३ पुस २०८१, मङ्गलबार

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल । फाइल तस्बिर

मोरङ, जेठ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिन सम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।” गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षको माग उचित नभएको उहाँले प्रस्ट पार्नुभयो । उहाँले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताउनुभयो ।

विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राख्नुभयो । उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताउनुभयो ।

सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिनुभयो । उहाँले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने पनि बताउनुभयो । रासस