• २६ मंसिर २०८१, बुधबार

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि

blog

नातिको सहारामा हिँडडुल गर्ने सहरमान विश्वकर्मा, आँखाको दृष्टिपछि आफै हिँडडुल गर्दै । तस्बिर : रासस

काठमाडौँ, जेठ ५ गते । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उहाँले वास्ता गर्नुभएन । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाड्नुभयो । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने हुनुभयो । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गर्नुभयो । 

उहाँको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उहाँको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उहाँको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उहाँका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो । 

नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा.दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो । दुई दिनअघि नातिको सहारामा आँखा शिविर आउनुभएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने हुनुभएको छ । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उहाँले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गर्नुभयो । गुमेको आँखाको दृष्टि पुनः फर्किएपछि उहाँमा खुसीको सीमा छैन ।

“अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ”, उहाँले खुसी हुँदै भन्नुभयो । शल्यक्रियापछि पुनः संसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आशीर्वाद दिनुभयो । आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उहाँले धन्यवाद दिनुभयो । “मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपाईंहरु सबै जना परमेश्वर हुनुहुन्छ”, सहरमानले भन्नुभयो । 

नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूका अनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निः शुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निः शुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । रासस