• १० मंसिर २०८१, सोमबार

साहित्यिक नक्षत्र युगकवि श्रेष्ठ

blog

नेपाली भाषा साहित्यलाई समृद्धि प्रदान गरेर सफलताको चरम शिखरसम्म पु¥याउने युगकवि सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) नेपाली साहित्यका एक अमर विभूति हुनुहुन्छ । आफ्नो प्रखर र बहुमुखी साहित्यिक व्यक्तित्वका कारण उहाँ देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय नेपाली साहित्यिक क्षेत्रमा पनि एउटा सशक्त महान् प्रतिभाका रूपमा प्रतिष्ठित हुनुभएको छ । 

वास्तवमा सच्चा साहित्य जीवनको सर्वकालीन एवं सार्वदेशिक सत्यको प्रतिफल हुन्छ । युगकवि श्रेष्ठले भइरहेको सामाजिक विकृति विसङ्गतिलाई कलापूर्ण ढङ्गले अभिव्यक्त गरेर शाश्वत साहित्य सिर्जना गर्नुभएको छ, जसले युग युगका लागि मार्गदर्शक र प्रेरणाका अजस्त्र स्रोतका रूपमा मानवलाई पथप्रदर्शक गरिरहने छन् । नेपाली काव्य साहित्यका शिखरपुरुष विश्वका नै एउटा महान् प्रतिभा, युगद्रष्टा एवं युगस्रष्टा श्रेष्ठका कवितामा देश प्रेम, सामाजिक विसङ्गतिप्रति विद्रोहको क्रान्ति चेतना र युगबोधको प्रबल भावना व्याप्त भएको पाइन्छ । 

प्रेम, शान्ति, समानता, स्वतन्त्रता, विश्वबन्धुत्व र मानववादका व्यापक सन्देश लिएर उहाँले अनेकौँ पटक विदेशमा नेपालको सही प्रतिनिधित्व गर्नुभएको छ र आफ्नो मुलुकको प्रतिष्ठा बढाउनका साथ अन्तर्राष्ट्रिय मैत्री तथा सद्भावलाई विकसित तुल्याउने अत्यन्त स्तुत्य कार्य गर्नुभएको छ । कवि श्रेष्ठले विश्व व्यथाका मार्मिक अभिव्यक्ति दिँदै, देशीय समस्याका चित्रण गर्दै, देशवासीलाई उद्बोधित गर्दै विश्वव्यापी समाजमा युगको आवाजलाई ध्वनित गर्नुभएको छ । लोकपथगामी कवि श्रेष्ठले विसं १९९६ मा नै आफ्नो मनको अभिलाषा व्यक्त गर्दै भन्नुभएको थियो : 

‘सुखसागरमा लय भई आखिर 

गर्ने जीवन सुन्दर–सुन्दर 

छ यही मनको इच्छा

भित्र बनूँ कवि बाहिर योद्धा’

मानव जीवनलाई सुन्दर, सुखी, मङ्गलमय बनाउनका लागि कविका दृढ सङ्कल्प स्तुत्य देखिन्छ । समाजमा वसन्त ऋतु ल्याउने आँट र साहस कविले आफ्नो हृदयमा अनुभव गर्छन् र त्यसको शुभागमनका लागि समाजका विकृतिहरू, समाजमा सडेगलेको व्यवस्थालाई मास्न आवश्यक ठान्दछन् किनकि :

‘नझारी पात के ऋतुपति कहीँ आउँछ यहाँ ?’

समाजमा व्याप्त असमानता, अत्याचारलाई समाप्त गर्न कवि उत्सुक हुन्छन् । ग्रीष्म ऋतुको तापबाट समाजलाई मुक्ति दिलाउनका लागि, समाजमा चलिरहेको हुरी र धुलो शान्त गर्नका लागि र सुकिसकेको नदी, पोखरीलाई जीवन प्रदान गर्नका लागि, हतोत्साहित जनतामा नवसञ्चारका लागि वर्षा भएर जीवनदान दिनु, खुसियाली प्रदान गर्नु कवि आफ्नो कर्तव्य ठान्दछन् । वास्तवमा लोककल्याण र सङ्घर्षका प्रेरणा उहाँले प्रकृति मुमाबाटै लिनुभएको छ । नेपाली साहित्यका यशस्वी प्रतिभा कवि श्रेष्ठले सौन्दर्यपरक स्वच्छन्दतावादी भावनाबाट नै आफ्नो काव्य यात्रा प्रारम्भ गर्नुभयो तर पछि नेपालीका पीडा व्यथाले उहाँलाई युगबोध गराएर कविलाई सामाजिक राजनीतिक चेतनातर्फ उन्मुख गरायो । नेपाली जनजीवन र नेपाली समाजको यथार्थबोधले कवि हृदयको भावुकतालाई शनैः शनैः सचेतता र प्रबुद्धता प्रदान गर्दै गयो र उहाँमा क्रान्तिकारी र विद्रोही भावना पनि उफ्रन थाल्यो । युगीन जनजीवनका सामाजिक, आर्थिक, राजनीतिक, विषमता, विसङ्गति र विकृतिप्रति कविको कवितामा आक्रोश अभिव्यक्त भएको देखिन्छ ।

राणाशाही शासनप्रति विरोध भावनाले कवि झन् झन् क्रान्तिकारी हुँदै गएको पाइन्छ । आफूलाई मेटाएर पनि देशमा व्याप्त अन्याय अत्याचारलाई समाप्त गर्ने हिम्मत, कहिल्यै नहार्ने आँट लिएर कवि नेपाली साहित्यका एक प्रखर व्रmान्तिकारी कविका रूपमा हाम्रो अगाडि यसरी उभिनुभएको छ ।

‘आज नखाऔँ नसुतौँ आओ सब मिली हडताल मचाऔँ 

कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ ।’

‘कविता जीवनको निम्ति हो,’ सिद्धान्तका कट्टर समर्थक कवि श्रेष्ठले राष्ट्रिय जागरणको हुङ्कार गर्दै आफू नेपाली भएकामा गौरव अनुभव गर्नुभएको छ । साथै सम्पूर्ण जगत्को रक्षा गर्नका लागि, अरूको भलाइ गर्नका लागि आफ्नो सर्वस्व, आफ्नो जीवनसमेत समर्पित गर्नका लागि हरदम तयार उहाँको उदात्त मानववादी भावना सम्पूर्ण मानवताका लागि प्रेरणाप्रद सिद्ध भएको देखिन्छ ।

‘शिक्षा मेरो जगत्भरको गर्नु रक्षा सदैव

दीक्षा यै हो परहित गरुँ आखरी श्वाससम्म 

ज्वाला दन्कोस् दनदन कहाँ मृत्यु आई फुकेको 

अत्याचारी यदि छ त कहाँ माथ नै ताक्छु त्यसको’

निश्चय नै नेपाली साहित्यको इतिहासमा उहाँको योगदान उल्लेखनीय रहेको छ । आफ्ना रचनाको माध्यमबाट कविले सामाजिक समस्या, युगीन भावनालाई अभिव्यक्त गरेर समाजमा सजगता, चेतना व्याप्त गर्नुभयो, युवा वर्गलाई उद्बोधित गर्नुभयो, व्रmान्तिको आह्वान गरेर समाजमा एकता र समानताको भावना अभिव्यक्त गरेर समाजलाई अजस्र प्रेरणा दिनुभएको छ । उहाँले प्रदान गरेका बहुमूल्य योगदानले नै उहाँलाई ‘युगपुरुष’ को महिमामय प्रतिष्ठा प्रदान गरेको छ । देशको दर्दनाक स्थितिको यस्तो जीवन्त चित्रण अन्यत्र दुर्लभ देखिन्छ । यस्तो प्रतीत हुन्छ, मानौँ जनताका हृदयमा नै समाएर कविले युगको आवाजलाई जनताका ढुकढुकीमा प्रतिध्वनित गर्नुभएको छ ।

एकातर्फ उहाँका ‘परिचय’ जस्ता कविता देश प्रेमले ओतप्रोत, नेपाली स्वाभिमान र नेपाली वीरतालाई ओजस्वीपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ, ‘चम्क युवक’ कवितामा युवाजनमा वीरतालाई ललकार्दै देशका लागि त्याग र बलिदानको आह्वान गरिएको छ, अर्कोतर्फ आफ्नो अनेकानेक कवितामा मानवतावादका अझ सबल पक्ष लिएर । कविका ‘मङ्गलमान’ काव्य मानव कल्याणकारी दिशामा जनमुखी चेतना फैलाउँदै एउटा सफल प्रयास भन्न सकिन्छ जसमा सामाजिक–राजनीतिक प्रतिविम्ब प्रतिफलित हुनका साथै अन्याय र शोषणविरुद्ध आवाज र मानवाधिकारका प्रश्न चित्रित भएको देखिन्छ । उहाँको ‘च्यामिनी’, ‘अछूत’ कविताले सामाजिक वैमनस्यताका समस्यालाई ठुलो चुनौती दिएको छ । अछुतप्रतिका सामाजिक भेदभावलाई प्रखर स्वर दिएको छ । मानवीय भावनालाई उदात्तता प्रदान गर्दै आफ्नो ‘अछूत’ शीर्षक कवितामा उहाँले स्पष्ट पार्नुभएको छ :

‘साँच्चै पूजा गर्ने हो त ऊ उसलाई अघि लाऊ । 

पाउ समाई उसकै पहिलो मेरो मन्दिरमा आऊ ।”

‘मेरो प्रतिविम्ब’ कवितामा सिङ्गो नेपाली जनजीवन र युगीन परिवेश र तत्कालीन सामाजिक वैमनस्यतामाथि व्यङ्ग्यको माध्यमले तीव्र प्रहार गरिएको छ । नारीप्रति कविका आदर्श दृष्टिकोण सराहनीय छन । स्नेहमयी, ममतामयी, प्रेरणामयी नारी, सर्वमङ्गलका रूपमा कविको काव्यमा प्रतिष्ठित भएकी छिन् । आफू कष्ट सहेर पनि अरूलाई आश्रय र सुख दिने नारी आदर्शका पात्र हुन् । महिमामयी नारीले आफ्नो त्याग र आदर्शले यस लोकमा पनि विश्राम र शान्ति प्रदान गर्छिन् र परलोकमा पनि सुधार दिने प्रयास गर्छिन् । विश्वबन्धुत्व भावनाको प्रसार गर्दै कविले यो मान्यता प्रस्तुत गर्नुभएको छ कि धर्तीका सबै मानव ईश्वरका सन्तान हुन् । सबै मानव आपसमा भाइ भाइ हुन् । वर्ण, जाति, धर्म आदिका नाममा भेदभाव गर्नु हाम्रो हृदयको सङ्कीर्णता हो । आफ्नो ‘अभेद’ शीर्षक कवितामा समानताका यस्तै भावनालाई समाजमा व्याप्त गर्नुभएको छ ।

यसरी देशप्रति भक्तिभावना, देशमा एकता, समानता ल्याउने प्रयास देश निर्माणका लागि आह्वानका साथै कवि श्रेष्ठले विशाल मानवतावादी भावनालाई राम्ररी प्रश्रय दिनुभएको छ । सम्पूर्ण विश्व मानवका कल्याण कामनाका लागि उहाँको मन अधीर रहेको छ र उहाँका हृदयमा व्याप्त लोक चेतनाको भाव उत्तरोत्तर बलियो हुँदै गएको हामी पाउँछौँ । यस धरामा मानवताको कल्याण होस्, यो भावना नै कविका लागि सर्वप्रथम हुँदै गएको छ । प्रेम र शान्तिले परिपूर्ण मानवताका अमर सन्देश नै कवि जीवनको सार्थकता बन्न पुगेको छ ।

‘उड उड मानव स्वप्नमूर्ति तँ बनी जा देशदेशान्तर

सारा मानिस हुन् बराबर भनी छर्दै तँ जा चेतन’

कविका राष्ट्रिय गीतहरूमा कहीँ जातिगत, धर्मगत वा स्थानभेदका आधारमा सङ्कीर्णता छैन बरु धर्म, जाति, वर्ण, लिङ्ग, स्थान आदिभन्दा धेरै माथि उठेर, अत्यन्त व्यापकताका साथ देशका सम्पूर्णता वा सिङ्गो नेपाललाई अङ्गीकार गरेका छन् । मानवताको भावना उहाँको काव्यमा सर्वोपरि देखिन्छ । कविका अनुसार मानव कल्याण र मानव हितका लागि सेवा र परोपकारका भावना नै हामी सबैका लागि सबैभन्दा ठुलो धर्म हो । समाजमा फैलिएको प्राचीन रूढिवादले, जीर्ण परम्पराले, कुरीतिले हाम्रो एकतालाई, हाम्रो आपसी प्रेमको भावनालाई छिन्नभिन्न गरिरहेका छन् । मानवीय विकासको बाटोमा बाधा उत्पन्न गर्ने यी जर्जर परम्परालाई नाश गरेर समाजमा शान्ति र सुव्यवस्था ल्याउने दायित्व कविको हुन्छ । जनजीवनमा व्याप्त अशान्ति, असन्तोष, घृणा र द्वेषलाई समाप्त गर्ने उद्देश्यले मानव कल्याणको दिशामा कवि श्रेष्ठ पनि सक्रिय सहभागी हुनुभएको छ । वास्तवमा जनहितका लागि नै उहाँले कविता लेख्नुभएको छ :

‘बाटो मेरो छेकी रहेको 

एक अजङ्गको साँढेलाई 

लौरो लिकन दूर लघारे

मैले कविता लेखे ।’

देशमा व्याप्त अन्याय, अत्याचार तथा विषमता हटाउनका लागि उहाँ जीवनपर्यन्त व्रिmयाशील हुनुभयो । उहाँका समग्र कविता यात्राका गहिराइपूर्वक अध्यन गरेपछि हामी पाउछौँ कि विषमताविरुद्धका उहाँका स्वर सम्पूर्ण मानवताका कल्याण, हित, कामनामा उत्तरोत्तर प्रबल हुँदै गएको छ । सम्पूर्ण संसारका मानव हित, कामना उहाँका कवितामा बढ्दै गएको पाउँछौँ । ‘स्व’ का भावना ‘हामी’ मा विलीन हुँदै सम्पूर्ण संसारलाई नै विषमता शून्य देख्न चाहने कविको योगदान वास्तवमा अत्यन्त महत्वपूर्ण छ । कविका सिर्जनशीलताको मूल उद्देश्य विषमता शून्य संसारको कल्पना हो ः

‘युग–युगको अपमान, घृणा, शोषण अनि अत्याचार

खतम गराउन उत्रिरहेको मेरो जाज्वल्य विचार ।’

लगभग छ दशकभन्दा लामो अवधिसम्म नेपाली वाङ्मयको सेवा गर्दै उहाँले सामाजिक चेतनाको विकासमा उल्लेखनीय कार्य गर्नुभयो । साथै मानवतावादी भावनालाई पनि फिजाउनमा सव्रिmय योगदान दिनुभएको छ । वास्तवमा उहाँको बहुमूल्य योगदानको उचित कदर हुनै पर्छ । उहाँको हार्दिक अभिलाषा थियो :

‘कविता रच्दै शान्ति फिजाऊँ

प्राण प्राणमा प्रेम जगाऊँ ।’

कवि सिद्धिचरण (१९६९–२०४९), त्रिभुवन पुरस्कार (२०४७), रत्नश्री सुवर्ण पदक (२०३१), पृथ्वी प्रज्ञा पुरस्कार (२०४५), वेदनिधि पुरस्कार (२०४६) तथा प्रबल गोरखा दक्षिण बाहु, विख्यात त्रिशक्तिपट्ट आदि मानसम्मान, पुरस्कारबाट विभूषित हुनुहुन्थ्यो । सङ्क्षेपमा उहाँका कविताले सबल राष्ट्रियताको शङ्खनाद गरेको छ र अन्याय, शोषण र अत्याचारविरुद्ध सङ्घर्षका लागि आह्वान गरेको छ । मानिसलाई कर्म गर्ने प्रेरणा दिएको छ, मानवता विरोधी तत्वलाई समाप्त गरेर विश्वमा शान्ति फिजाउने सन्देश दिएको छ साथै विश्वबन्धुत्व र मानवताको चर्को स्वरले बिगुल फुकेको छ ।

लोक कल्याण, मानव कल्याणका दिशामा समर्पित उहाँका जनमुखी चेतनाले भरिएका कविताले उहाँलाई नेपालका ‘ज्योतिपुरुष’ का रूपमा प्रतिष्ठित गरेको छ । नेपाली वाङ्मय क्षितिजमा उज्ज्वल नक्षत्र भएर उहाँ सदैव हाम्रा लागि प्रेरणाका आलोक भएर हाम्रो पथप्रदर्शन गरिरहनुहुने छ र उहाँले प्रदान गरेको मानवतावादका दिव्य सन्देश सधैँ गुन्जिरहने छन् । आफ्नो बहुमूल्य साहित्यिक देन र उपलब्धिमा उहाँ सदैव जीवित रहनुहुने छ । ज्योतिपुञ्ज सिद्धिचरण श्रेष्ठको साहित्यको महत्वलाई बुझेर उहाँका अप्रकाशित कृतिहरू प्रकाशित गर्ने, अनुवाद गराउने, अनुसन्धान गराउने र यसलाई प्रोत्साहित गर्ने दायित्वबोध हामी सबैमा आउनु पर्छ । 

 

Author

प्राडा उषा ठाकुर