• १ असार २०८१, शनिबार

भैँसीपालनले प्रख्यात बझाङको त्याडीगाउँ

blog

फाइल तस्बिर

चैनपुर (बझाङ), जेठ ४ गते । सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बिचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भिमलका रुखहरू । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका-६ त्याडीगाउँ हो ।

घरघरमा दुहुनो भैँसी भएपछि पाहुनामात्र होइन छिमेकी समेत त्याडीगाउँको गोरस (दही-दूध)का पारखी छन् । यहाँका महिलाको दिनचर्या भैँसीको हेरचाहमै जान्छ । “टाढा नगया पन देलाउँ दोई भैँसाकी गोठाली छु”, बझाङी भाषामा दीक्षा बोहराले भन्नुभयो, “हामी आँगनकै भैँसी पाल्छौँ । त्यसैले घरमै भए पनि भैँसीको ग्वालो (गोठालो) लाग्नु परेको छ ।” दीक्षाका अनुसार गाउँमा सबै परिवारले एक भैँसी र एक गोरु पालेका छन् । “भैँसी सबैले दुहुनोमात्रै पाल्छन् । दूध नदिने भएपछि त्यसलाई बिक्री गरेर भए पनि नयाँ भैँसी ल्याइहाल्छन्, एक जनाको त कामै यिनैको रेखदेख गर्नु हो”, उहाँले भन्नुभयो ।

त्याडीगाउँमा ४२ परिवार छन् । ती सबैको घरमा भैँसी र गोरु पालिएका छन् । त्याडीगाउँकी बाटुली बोहराले भन्नुभयो, “गोरु वल्लोपल्लो घरको हल बनाएर जोत्छौँ । भैँसी सबैको घरमा गोरस (दही–दूध) खानलाई हुन्छ ।” सो गाउँमा कसैको घरमा पनि कहिल्यै गोरसको कमी नहुने उहाँले बताउनुभयो । बाटुलीको घरमा नौ जना हुनुहुन्छ । उहाँहरू सबैले घरायसी काम गर्नुहुन्छ । त्यतिलाई एउटा दुहुनो भैँसीको गोरसले पुगिरहेकै छ । “गोरस नभई खानेकुरा निल्न (खान) सकिँदैन”, बाटुलीले भन्नुहुन्छ, “उहिल्यैबाट भैँसी पाल्ने हुँदा अहिले पनि छाड्न सकेका छैनौँ । भैँसी नभए बाँच्न पनि सकिँदैन कि जस्तो लाग्छ । त्यसैले एउटा भए पनि पालिरहन्छौँ ।” 

स्थानीयका अनुसार त्याडीगाउँमा पहिले भैँसी पाल्नबिच प्रतिस्पर्धा नै हुन्थ्यो । अहिले सबैले घटाए । स्थानीय उत्तम बोहरा भन्नुहुन्छ, “कहिलेकाहीँ छिमेकीको घरमा नभएपनि सबैले पुग्ने गरी दिइहाल्छन् । नत्र भैँसी खासै कसैको घरमा पनि टुट्दैन”, उत्तम बोहराले भन्नुभयो । त्याडीगाउँका भैँसी बर्खायाममा चर्न पाउँदैनन् । भिरालो जमिन भएकाले लेकतिर लिएपछि मात्रै भैँसीले चर्न पाउने गरेको र बाँकी समय घरमै राखेर गाजो (खर) खुवाउने गरिएको उहाँको भनाइ छ । उत्तमका अनुसार सो गाउँका बोहराले दूध र दूधजन्य पदार्थ खासै बेच्दैनन् ।

सबैको घरमा भैँसी रहेकाले व्यावसायिकरुपमा कोही नलागेका हुन् । घ्यू भने आफन्त तथन भारतमा गएका छोराबुहारीलाई दिन्छन् । गाउँपालिका उपाध्यक्ष मनीषा धामी दूधमा आत्मनिर्भर सो गाउँ सबैको नजरमा रहेको बताउनुहुन्छ । अरू गाउँले पनि सो गाउँबाट सिक्नुपर्ने उहाँको भनाइ छ । “त्याडीगाउँ एउटा आत्मनिर्भर गाउँ हो । यहाँका सबै मानिस आफ्नो काममै हुन्छन् । गरिखाने समुदाय त्याडीगाउँ नै हो । यहाँको सिको अरू गाउँले पनि गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । रासस