• १२ मंसिर २०८१, बुधबार

अज्ञात रोगले मरे गाई र भेडा

blog

अज्ञात रोगका कारण मरेको भेडा। तस्बिर सौजन्य : मनिराज गुरुङ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ४ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अज्ञात रोगका कारण गाई र भेडा मरेका छन्। फुङ्लिङ नगरपालिका–६ का स्थानीय किसानले पालेका गाई र भेडाहरु अज्ञात रोगले मरेका हुन्।

स्थानीय मनिराज गुरुङका अनुसार एकदिनको अन्तरालमा तीन वटा गाई र दुईवटा भेडा मरेका छन्। फुङ्लिङ नगरपालिका–६ चप्लेटीका प्रेम गुरुङले पालेको दुई माउ गाई र एउटा बच्चा (बाच्छा) मरेको उहाँले जानकारी दिनुभयो। दुहुना गाईहरु अचानक बिरामी परेर छोटो समयमै मरेका छन्।

त्यस्तै सोही वडास्थित बतासेका लालबहादुर गुरुङले पालेका दुईवटा भेडा पनि मरेका छन्। गाईजस्तै भेडाहरु पनि अचानक बिरामी परेका र केही समयभित्रै मरेको स्थानीयले बताएका छन्। गाई र भेडाहरु अचानक बिरामी हुँदै भटाभट मर्न थालेपछि स्थानीय किसान त्रसित भएका छन्। पशुचौपाया बिरामी भएपछि मरिहाल्ने अज्ञात रोग भएको उनीहरुको भनाइ छ।