• ४ माघ २०८१, शुक्रबार

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै विश्वासको मत लिन मुख्यमन्त्रीलाई सुझाव

blog

जनता समाजवादी पार्टी नेपाल संसदीय दल मधेश प्रदेशको बैठक ।

धर्बेन्द्र झा 

धनुषा, जेठ ३ गते। जनता समाजवादी पार्टी नेपाल संसदीय दल मधेश प्रदेशको बिहीबार दिउँसो प्रदेश सरकारको मुख्यालय मधेश भवनमा बसेको बैठक सम्पन्न भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम, जसपा नेपालको अगामी जेठ २८, २९ र ३० गते जनकपुरधाममा हुने राष्ट्रिय महाधिवेशन, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्तापछि संविधान तह ३० दिन भित्र प्रदेश सरकारले लिनुपर्ने विश्वासको मत  र पार्टी फुटपछिको अवस्थाको विषयमा बैठकमा छलफल भएको हो। 

बैठकमा सहभागी जसपा नेपाल संसदीय दल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवका अनुसार  प्रदेश सरकारलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दिएको समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भन्दा अगाडि नै विश्वासको मत लिनुपर्ने र त्यसका लागि अन्य दलहरूसँग छलफललाई तीव्र पार्नका लागि मुख्यमन्त्रीलाई बैठकमा सहभागी प्रदेश सभा सदस्यले सुझाव दिनुभएको थियो। बैठकमा माथिल्लो स्तरमा पार्टी फुटे पनि त्यसको असर आमकार्यकर्तामा पर्न नदिनका लागि एकबद्ध भएर नेतृत्वलाई सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक यादवले जानकारी दिनुभयो।

बैठकमा अगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका विषयमा बैठकमा सहभागी प्रदेशसभा सदस्यले लिखितरुपमै  सुझाव दिनुभएको थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक प्रदेश संसदीय दलको बैठक बसेको हो। 

बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउतबाहेक अन्य सबै प्रदेशसभा सदस्यको उपस्थिति रहेको र पूर्व मुख्यमन्त्री राउत पार्टी काम विशेषले बाहिर रहेकोले बैठकमा सहभागी हुन नसकेको प्रमुख सचेतक यादवले जानकारी दिनुभयो।