• १३ साउन २०८१, आइतबार

नक्कली चिकित्सक पक्राउ

blog

नैना हेल्थ क्लिनिकमा अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारीसहितको टोली । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ ३ गते । आफूलाई चिकित्सक भनेर बिरामीको शल्यक्रिया गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित नैना हेल्थ क्लिनिकमा बसेर आफूलाई चिकित्सक भन्दै धमाधम स्थानीयको शल्यक्रिया गर्दै आएका भारतीय नागरिक नागेन्द्र मिश्रालाई प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनै निकायमा उक्त क्लिनिक दर्ता छैन । दर्ताबिनै सञ्चालनमा रहेको क्लिनिकमा आफूलाई बी फार्मा पढेको बताउने भारतीय नागरिक मिश्राले बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी अर्याल नेतृत्वमा गएको टोलीले क्लिनिक शील समेत गरेको छ । गोप्य सूचनाका आधारमा बुधबार प्रजिअ अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, स्वास्थ्य कार्यालय, रुपन्देही प्रमुख गौरव ढकाल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर लगायतको टोली त्यहाँ पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार मिश्राले क्लिनिकमा बिरामीको पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया गर्दै आउनुभएको थियो । मिश्रालाई पक्राउ गरेपछि थप अनुसन्धान सुरु गर्न प्रहरीलाई जिम्मा लगाइएको छ । "हामीलाई क्लिनिकमा फार्मेसी पढेको बताउने भारतीय नागरिकले शल्यक्रिया गर्दै आएको सूचना आएको थियो, सूचनालाई फलो गर्दै हामी त्यहाँ पुग्दा सही भएको पाइयो", उहाँले भन्नुभयो, "अहिलेसम्म मिश्राले उपचार गरेका बिरामीहरूसँग बुझ्छौँ, अन्य पाटाहरू अनुसन्धान गर्छौँ र यसमा संलग्न अरू भए खोज्छौँ, त्यसपछि बाँकी कुराहरू बाहिर आउलान् ।"

क्लिनिकमा एउटा कोठामा बेड राखिएको थियो । यत्रतत्र औषधी छरिएका थिए भने कयौँ म्याद गुज्रेका औषधी समेत भेटिएका थिए । यस्तै, सिरिन्ज लगायतका पुनः प्रयोग गर्न नमिल्ने औषधीहरू भुईँभरि भेटिएका थिए । स्थानीयका अनुसार मिश्राले आफूलाई चिकित्सक बताउने गरेका थिए । त्यहाँ उपचारमा जानेहरूलाई क्लिनिकको भित्रपट्टी रहेको कोठामा रहेको बेडमा राखेर शल्यक्रिया गर्ने गरेका थिए । यस्तै झ्यालमा किला गाडेर स्लाइन पानी चढाउने, अक्सिजन दिने गरेको पनि भेटिएको छ । यस्तै, उहाँले भारतमा बी फार्मा गरेको बताए पनि कुनै पनि सर्टिफिकेट देखाउन सकेनन् ।

कानुनतः फार्मेसिस्टले औषधी विक्री गर्न मात्रै पाउँछन् । तर मिश्राले आफूलाई चिकित्सक बताएर धमाधम शल्यक्रिया गरिरहेका थिए । प्रशासनको टोली पुग्दा उनले एक वृद्धको शल्यक्रिया गरिरहेका थिए । त्यहाँ उपचारमा आएका बिरामीहरूमध्ये केहीले आफूहरू शल्यक्रियाका लागि आएको, कतिले शल्यक्रियापछि फ्लोअपमा आएको बताएका थिए । अर्यालले भन्नुभयो, "बिरामीहरूसँगको कुराकानी, शल्यक्रिया गरिरहेको अवस्थामा मिश्रा भेटिनुले गैरकानुनी भएको ठहर भयो, त्यसपछि फार्मेसी शील गरेर मिश्रालाई नियन्त्रणमा लिएका हौँ ।"

स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक कुनै पनि निकायमा दर्ता नगरी क्लिनिक सञ्चालन गरेको र गैर कानुनीरुपमा फार्मेसी पढेको व्यक्तिले बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएको बताउनुभयो । उहाँले मिश्रालाई प्रहरीले अनुसन्धान गर्ने र त्यसपछि आवश्यक कानुनी कारबाही हुने बताउनुभयो।