• १२ मंसिर २०८१, बुधबार

चुरे गाउँमा पुग्यो मोटरबाटो

blog

बाबुराम कार्की

वराहक्षेत्र, जेठ ३ गते । मोटरबाटोले नछोएको वराहक्षेत्र नगरपालिका–१ को दुईचुरे गाउँमा मोटरबाटो पुगेको छ । छ महिनाअघि वराहक्षेत्र नगरपालिकाले मोटरबाटोका लागि प्राविधिक अध्ययनको काम सुरु गरेको बाक्सिङ्टार र सिलपाखा टोलमा पहिलो पटक मोटरबाटो पुगेको हो । 

मोटरबाटो बनेसँगै गाउँमा चारपाङ्ग्रे गाडी आउन थालेपछि सिलपाखाका स्थानीयमा खुसी छाएको छ । स्थानीय ७१ वर्षीय बालकुमार राई भन्नुहुन्छ, “थाप्लोमा र पिठियुँमा खाद्यान्न बोकेर हिँड्ने दिनको अन्त्य भएको छ । सामान ढुवानी गर्न पैदल हिँडेर जानु पथ्र्याे । अब स्थानीयको समस्या समाधान भएको छ ।”बाक्सिङ्टार र सिलपाखा गाउँमा मोटरबाटो आएपछि वराहक्षेत्र मन्दिरसम्म पुग्न स्थानीयलाई सहज भएको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । गाउँमा मोटरबाटोको ट्र्याक खोल्न गत मङ्सिरमा जनप्रतिनिधि श्रमदान अभियानमा जुटेका थिए । नगर प्रमुख कार्कीको श्रमदान अभियानपछि ट्र्याक खोल्न नगरपालिकाले १० लाख र वडा कार्यालयले चार लाख बजेट विनियोजन गरेको थियो ।

चुरे क्षेत्रमा रहेको बाक्सिङ्टार र सिलपाखा टोलमा अहिलेसम्म मोटरबाटो पुगेको थिएन । स्थानीयहरू वर्षाैंदेखि हिँडेरै दैनिक जीविका चलाउँदै आएका थिए । वराहक्षेत्र नगरले वराहक्षेत्र मन्दिरको सडकसँग जोड्ने गरी मोटरबाटोेकोे ट्र्याक खोलिएको छ । मोटरबाटो नपुगेको बाक्सिङ्टार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिरस्थित तमोर कोरिडोेरको बाटोले जोड्न ट्र्याक खोल्ने कार्य सम्पन्न भएको सडक निर्माण उपभोक्ता समितिकी अध्यक्ष सरिता राईले बताउनुभयो । गाउँमा पहिलो पटक बाटो आएपछि विद्यार्थी, किसान र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सलगायतका साधन गाउँमा आउन थालेको अध्यक्ष राईले बताउनुभयो ।