• १५ मंसिर २०८१, शनिबार

सीता जयन्तीको शुभकामना

blog

काठमाडौँ, जेठ ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीले लैङ्‍गिक, सामाजिक र साँस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्‍ने कामना गर्नुभएको छ । सीता जयन्तीको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो । 

हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । सन्देशमा उल्लेख छ, “माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइन्छ । एक वीरङ्गना हुनाका साथै मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्‍न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गरिन्छ । जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय हो ।”

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले यस दिवसका अवसरमा शुभकामना दिँदै यस जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्दै सभ्य र समृद्ध समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।