झापा, जेठ १ गते । विर्तामोडस्थित गिरीबन्धु टी-स्टेटका मजदुरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी-स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् ।
बिर्तामोड-६ र अर्जुनधारा-११ मा गिरीबन्धु टी-स्टेटको चिया बगान र कारखाना छ । मजदुरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, बिर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन् ।
मजदुरहरुले सोमबार बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई ज्ञापनपत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदुरले पारिश्रमिक नपाएको बताउनुभयो ।“महिनौदेखि पारिश्रमिक नपाउँदा मजदुरहरुको बिचल्ली भएको छ”, उहाँले भन्नुभयो, “व्यवसायीहरुले खाद्यान्न उधारो दिन छाडेका छन् ।”
कार्यरत मजदुरहरु बगानको कच्ची आवासगृहमा बस्दै आएका छन् । अतिरिक्त आयस्रोत नभएका कारण मजदूरहरु भोकमरीमा परेको विषयलाई सरकारले गम्भीररुपमा लिनपर्ने मजदुर अगुवा नारायण दर्जीको धारणा छ । व्यवस्थापनले यसअघि पाक्षिकरुपमा मजदुरको पारिश्रमिक दिँदै आएको थियो । भुक्तानी रोकिए पनि मजदुरहरु नियमित कामकाजमा खटिइरहेको उहाँले जानकारी दिनुभयो । पारिश्रमिक माग्न जाँदा व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको उहाँको गुनासो छ ।
“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राई भन्नुहुन्छ, “उहाँहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ ।” मजदुरहरुले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञापनपत्र बुझाइसकेका छन् । पाश्रिमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदुरहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
गिरीबन्धु टि-स्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक सङ्कटका कारण मजदुरहरुलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताउनुभयो । बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उहाँको भनाइ छ । श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदुरहरु कार्यालयमा आएपछि गिरीबन्धु टी-स्टेट प्रालिलाई पत्राचार गरिएको बताउनुभयो । “मजदुरहरु आउनुभएको थियो”, उहाँले भन्नुभयो, “पारिश्रमिक दिनु भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौँ ।” रासस