• १३ मंसिर २०८१, बिहिबार

पार्टीमा भ्रष्ट प्रवृत्ति देखियो : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं, जेठ १ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको छ । मङ्गलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको हो ।

उहाँले पार्टीभित्र भ्रष्टीकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रूपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरूलाई कसैले विश्वास नगर्ने बताउनुभयो । उहाँले आफूहरूले राजनीतिको भ्रष्टीकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरूपको गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले आफूहरूको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिहरू छलफल गरेर टुङ्गो लगाउन सकिने उहाँको भनाइ छ । उहाँले एकीकृत समाजवादीलाई धराशायी पार्न खोज्नेहरूले त्यस्तो हल्ला चलाएका बताउनुभयो ।

अध्यक्ष नेपालले राजनीतिक समीकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढङ्गले अगाडि बढिरहेको बताउनुभयो । उहाँले कतिपय शक्तिहरू षड्यन्त्रपूर्ण ढङ्गले सबै पार्टीभित्र अन्तर्विरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका औँल्याउनुभयो ।

‘‘अहिले राजनीतिक घटनाक्रममा दिनदिनै परिवर्तन भइरहेको छ । समीकरणमा दिनदिनै परिवर्तन भइरहेको छ । गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ । एक ढङ्गले अगाडि बढ्ला भन्यो अर्को ढङ्गले अगाडि बढ्न पुगेको छ । किनभने कतिपय शक्तिहरू अत्यन्त षड्यन्त्रपूर्ण ढङ्गबाट लागेका छन् ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘जसरी पनि आफ्नो शक्ति वृद्धि गर्ने, साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर, सबै पार्टीभित्र अन्तर्विरोध पैदा गरेर, विभिन्न पार्टीका कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउनका लागि, तान्नका लागि न्वारनदेखिको बल लगाइरहेका छन् । यो कुरालाई हामीले हेक्का राख्नुपर्छ ।’’

उहाँले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरू लागिरहेका भन्दै त्यसप्रति आफूहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गर्नुभयो । उहाँले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको बताउनुभयो । अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्त्याएर निकालिने स्थिति रहेको उहाँले बताउनुभयो ।

उहाँले वर्तमान सत्ता समीकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरूप्रति नेता, कार्यकर्ताहरूको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरूसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो ।