• १३ मंसिर २०८१, बिहिबार

तीन जिल्ला जोड्ने सडक बनाउन मन्त्री गिरी र पूर्वमन्त्री गुरुङ सक्रिय

blog

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेट्न पुग्नु भएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र पूर्व कानुनमन्त्री धनराज गुरुङ । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, वैशाख ३१ गते । 
स्याङ्जाको वालिङदेखि पर्वतको हुवास हुँदै सेतीवेणी जोड्ने सडकलाई व्यवस्थित गर्न स्याङ्जा र पर्वतका नेताहरूले सक्रियता देखाउनुभएको छ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र पूर्व कानुनमन्त्री धनराज गुरुङले सक्रियता देखाउनुभएको हो ।

स्याङ्जा पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणीशिलासम्म पुग्ने सहज मार्गको रूपमा रहेको सो सडकलाई प्राथमिकतामा राख्न दुवै जिल्लाका नेताहरू सक्रिय हुनुभएको हो ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग दुवै नेताहरूले भेट गरी सो सडकको बजेट सुनिश्चित गर्न माग गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि योजना तथा बजेट विनियोजन गर्दा सडकलाई विशेष ध्यान दिन अनुरोध गरिएको कांग्रेस उपसभापति तथा पूर्वमन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जिल्ला जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रस्ताव गर्दै स्याङ्जा क्षेत्र नं.२ का विभिन्न सडकलाई ध्यान दिन आग्रह गरेको छु ।”

तीन जिल्ला जोड्ने सडकको स्तरउन्नतीका लागि एक अर्ब बजेट लाग्ने नेताहरूको भनाइ छ ।

२०४९ सालमा ट्रयाक खोलिएको सडक अहिले पनि अस्तव्यस्त अवस्थामा रहेको छ । वालिङको भुम्रेबाट स्याङ्जाको सिमाना डुम्रेभन्ज्याङ सम्मको १७ किलोमिटर सडक अस्तव्यस्त अवस्थामा रहेको हो । हुवाससम्म पुग्ने पर्वत खण्डको पाँच किलो मिटर सडक भने कालोपत्रे भइसकेको छ ।

वर्षौँसम्म सडक अस्तव्यस्त हुँदा स्याङ्जा र पर्वतको दक्षिणी भेगका नागरिक समस्यामा पर्दै आएका छन् । पैयुँ गाउँपालिका–५ का वडा अध्यक्ष निर्भिकनारायण भूर्तेलले सडक नराम्रो हुँदा नागरिक कष्टकर यात्रा गर्न बाध्य भएको बताउनु भयो ।

२०७७ सालमा ४२ करोडमा ठेक्का भई निर्माणको काम सुरु भएको सो सडक बजेट रोकिदा काम पूरा हुन नसकेको वालिङ नगरपालिका–१४ का वडा अध्यक्ष बोधराज कुँवर ( राजु) ले बताउनुभयो ।

तत्कालीन मन्त्री पद्मा कुमारी अर्यालले २०७७ सालमा भुम्रेमा सडक कालोपत्रेको शिलान्यास गर्नुभएको थियो ।