• १३ मंसिर २०८१, बिहिबार

चेक बाउन्सका कारण व्यवसायी र प्रहरी हैरान

blog

अन्तरक्रिया कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । तस्बिर :

रमेश पौडेल
पोखरा,  वैशाख ३१ गते ।
पोखरा उद्योग वाणिज्य सङ्घले बढ्दो चेक अनादर (बाउन्स) र यसले निम्त्याएका समस्या एवम् समाधानका उपायबारे विज्ञसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आयोजित उक्त अन्तक्र्रिया कार्यक्रममा चेक बाउन्सले निम्त्याएका समस्या र समाधानका लागि अपनाउनुपर्ने कानुनी बाटो बारे बृहत् चर्चा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाबाट बैंकिङ कसुरको अवस्था, समस्या र समाधानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा विज्ञका रुपमा बैकर्स एसोसियन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारी र सहसंयोजक रामेश्वर खतिवडा उपस्थित हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा आर्थिक वर्ष २०७९/०८० मा चेक अनादर ( बाउन्स) कामात्र ५१७ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा यो सङ्ख्या ७१७ रहेको छ । कास्की प्रहरीले सो कसुरमा अघिल्लो आर्थिक वर्षमा २९४ जना तथा चालु आर्थिक वर्षमा २२९ जनालाई अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया चलाएको थियो । यसमा ठाडो उजुरीको संख्या भने गनिएको छैन । 

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार दिनकै २५ वटाभन्दा बढी उजुरी आउने भएकाले ती सबै दर्ता र अनुसन्धान गर्ने जनशक्ति प्रहरीमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एक वर्षयता चेक बाउन्सको हकमा कानुनले नै मिलापत्र गर्नसक्ने अवसर प्रदान गरेको छ । त्यसैले हामीले सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौँ । पीडकलाई बोलाउँछौँ । त्यसरी बोलाउँदा उहाँ (पीडक) आएको खण्डमा मिलापत्र हुँदै पनि आएको छ । मिलापत्र नहुने मुद्दा चाहिँ अगाडि बढ्छ ।’’

उहाँका अनुसार प्रहरी कहाँ आउने धेरैजसो चेक बाउन्सका मुद्दाहरु घरजग्गा, गाडी, वैदेशिक रोजगारसँग सम्बन्धित रहेका छन् । सहकारीको चेकका समस्या र मिटरब्याजी पनि उस्तै डरलाग्दो रहेको उहाँले सुनाउनुभयो । मालपोतमा तिर्नुपर्ने दस्तुर छल्न सो क्षेत्रको लागि तोकिएको न्यूनतम मूल्यको थैली बाँध्ने र त्यसको मात्र राजस्व तिर्छुभन्दा धेरैजना ठगिएको उहाँको अनुभव छ । प्रहरी उपरीक्षक थापाले भन्नुभयो, ‘‘तीन पटकसम्म काटिएको चेक नसाँटिए हामीकहाँ वा सोझै जिल्ला अदालतमा उजुरी दिन पाइन्छ । बैंकिङ कसुरमा बिगो भराउने, जरिवाना लिने र ३ महिनादेखि १२ वर्षसम्म जेल सजायको व्यवस्था पनि गरिएको छ ।’’

उहाँले चेक काटिएको मितिले ६ महिनाभित्र ३ पटक सो चेक साटिएन भने चेक बाउन्स हुने र सम्बन्धित बैंकले ‘खातामा पर्याप्त रकम नभएको’ भन्ने जानकारीसहित चेक बाउन्सको चिठी दिएपछि प्रहरीकहाँ उजुरी गर्न सकिनेलगायत अन्य प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार प्रहरी कहाँ मुद्दा दर्ता गर्दा पीडितले कुनै शुल्क तिर्नुपर्दैन । यस्तो मुद्दा लड्ने काम राज्य पक्षकै हुन्छ । अपराधमा सजाय भने बिगो भराउने, जरिवाना तिराउने र ३ महिनासम्म जेल पठाउने काम राज्यले नै गर्छ । उहाँका अनुसार बैंकिङ कसुरमा अनधिकृत रुपमा खाता खोल्ने,रकम भुक्तानी माग गर्ने,पैसा नहुँदा पनि भुक्तानीका लागि चेक काट्ने, विद्युतीय माध्यमबाट अनधिकृत रुपमा भुक्तानी लिनेदिनेलगायतका विषय समेटिएका छन् । यस्ता कार्य रोक्नका लागि बैंकिङ कसुर तथा सयाज ऐन २०६४ देखि दूरसञ्चार ऐन, सहकारी ऐन, मुलुकी अपराधसंहिता २०७४,बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)२०७३ लगायतका कानून आकर्षित हुन्छन् ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले पछिल्लो समय चेक बाउन्सका घटना बढोत्तरी हुँदा त्यसको मारमा व्यवसायी पनि परेको दृष्टान्त पेश गर्दै चेक बाउन्स हुँदा कसरी  कानुनी उपचार खोज्ने, प्रहरी कहाँ जाँदा कसरी उजुरी दिने र अदालतमा जाँदा कस्तो प्रक्रिया अपनाउने भन्ने बारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बजार सुस्ताउँदा नगद कारोबारभन्दा पनि उधारो चेकको कारोबार बढेकोप्रति राज्य संवेदनशील बन्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चेक बाउन्सको चपेटामा आम उद्योगी/व्यवसायीहरु पर्न थालेकोप्रति चिन्ता प्रकट गर्दै सजग भई कारोबार गर्न र कानुनी ज्ञान लिन व्यवसायीहरुसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै बैंकर्स एसोसियसन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारीले उधारो कारोबार नगर्नु नै चेक बाउन्सबाट बँच्ने उपाय भएको बताउनुभया । उहाँले अहिले विद्युतीय भुक्तानी प्रणालीको विकास भएको दृष्टान्त दिँदै तत्काल भुक्तानी माग्न र अनधिकृत काम नगर्न पनि सुझाउनुभयो । बैंकिङ कसुरमा कोही व्यक्ति कालोसूचीमा परेपछि उसका सबै आर्थिक कारोबार बन्द हुने,त्यो मुद्दामा छोराछोरी पनि प्रभावित हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा बैंकर्स एसोसियसन गण्डकीका सहसंयोजक रामेश्वर खतिवडाले आफ्नो खातामा पर्याप्त रकम भएमात्र चेक काट्ने बानीको विकास गराउनुपर्नेमा जोड दिनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, राम कँडेल, अधिकृत बिक्रेता सङूघका अध्यक्ष अनिल श्रेष्ठ,व्यवसायीहरु नारायण लम्साल, ध्रुव पोखरेललगायतले बैंकले चेक बाउन्सको जानकारी लिँदा पीडितबाटै शुल्क लिने गरेको, कालोसूचीमा राख्ने प्रक्रिया झन्झटिलो भएको गुनासोसहित कानुनी उपचार खोज्दा अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी मागेका थिए ।