• १२ असार २०८१, बुधबार

मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्छ : यादव

blog

काठमाडौँ, वैशाख ३० गते। नेकपा (एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ। 

आइतबार मधेस प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा(एमाले) बाहिरिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेश सभाको सबैभन्दा ठुलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताउनुभएको हो। 

उहाँले आफूहरूले दुई पटक अरूलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरूकै नेतृत्वमा सरकार बन्न सक्ने बताउनुभयो। उहाँले सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने बताउनुभयो। आफूहरूले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उहाँको भनाई छ।

उहाँले भन्नुभयो, ‘माथिल्लो समीकरण आजबाट जसपा, नेपालले समर्थन फिर्ता लिने सङ्केत गरेकोले जसपा, नेपालले सङ्केत गरिसकेपछि हामी पनि यहाँ किन बसिराख्ने भनेर हो। माथिल्लो गठबन्धनमा उहाँहरू नबसेपछि यहाँ हामी उहाँहरूको गठबन्धनमा बस्नुपर्छ भन्ने जरुरी ठानेनौँ। बाँकी राजनीतिक दलसँग परामर्श गर्छौ। नयाँ सरकार निर्माणको निम्ति गणपूरक सङ्ख्या हामीलाई पुगे हामीले सरकार निर्माण गर्ने हो। पुगेन भने यो सरकारको निरन्तरता चलिरहन्छ। उहाँहरूले बहुमत सिद्ध गरे उहाँहरू रहने हो। हामीले बहुमत सिद्ध गरे हामी रहने हो। मधेश प्रदेश सभामा एमाले सबैभन्दा ठुलो राजनीतिक दल भएको कारणले गर्दा दुईचोटी हामीले अरूलाई सहयोग गर्‍यौँ। तेस्रो चोटि एमाले आफ्नै नेतृत्वमा बनाउन सक्ने सम्भावना छ।’’

उहाँले सङ्घीय गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिने सङ्केत गरेपछि आफूहरूले प्रदेश सरकारमा जसपा, नेपाललाई समर्थन दिइराख्न उचित नठानेको बताउनुभयो। उहाँले प्रदेश सरकार पनि सङ्घीय गठबन्धन अनुरूपको बनाउने बताउनुभयो।