ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३० गते । बेनी नगरपालिका-६ स्थित राउवडाको बस्ती जोड्ने सडक ढलानसहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ ।
बेनी नगरपालिका-८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजनाअन्तर्गत रावडामा सडक ढलान, नाली निर्माण र ग्यावियन झाली लगाएर सडक स्तरोन्नति गरिएको हो ।
सडक ढलान भएसँगै हिलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनुका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासीहरु खुसी भएका छन् ।
सडक ढलानका साथै स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पचास लाख रुपियाँ बराबरको बजेट पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत कार्यान्वयन गरेको हो ।
सडक फराकिलो, आरसीसी ढलान, नाली र ग्याबियन झाली निर्माण गरेर सडक स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मुक्ति बुढाथोकीले बताउनुभयो ।
सडक स्तरोन्नति भएसँगै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी जीवन आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षातको समयमा सवारीसाधन हिलोमा फस्ने समस्या थियो । सडक हिलाम्मे हुँदा पैदल यात्रा गर्न पनि निकै कठिने हुने गरेको थियो । सडक ढलान भएसँगै गाउँदेखि बेनी जान सहज भएको छ । सडक पनि चिटिक्क देखिएको छ ।’’
सडक स्तरोन्नति योजना अन्तर्गत सबै भन्दा अप्ठ्यारो मानिएको सडकको एकसय ७५ मिटर सडक नाली सहित ढलान गरिएको छ । भने थप एकसय मिटर नाली निर्माण गरिएको छ । योजनामा एकसय ६३ घनमिटर ग्यावियन झाली लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एकवटा कजवय,दुईवटा क्रसिङ निर्माण गरिएको छ । जेठ ३० गते भित्र सक्नुपर्ने योजनाको अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर बुढाथोकीले जानकारी दिनुभयो । सडक स्तरोन्नति भएपछि राउवडावासीहरुलाई बेनी बजार आवतजावत गर्न सहज भएको बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।
सडकको दुरवस्थाका कारण स्थानीयवासीहरुले भोगेको सास्तीलाई मध्यनजर गर्दै वडाले सडक स्तरोन्नतिका लागि नगरपालिका र प्रदेश सरकार सँग बजेट माग गरेको उहाँले बताउनुभयो । बेनी नगरपालिका ८ को डल्लेपिपल देखि राउवडा बस्ती हुँदै अर्थुङ्गे सम्म नै सडक स्तरोन्नति गर्नका लागि आगामी आर्थिक वर्षमा पनि वडाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।