• १३ मंसिर २०८१, बिहिबार

शिक्षा क्षेत्रको विकासमा शिक्षक सङ्गठनको योगदान महत्त्वपूर्ण

blog

सम्मान गर्नुहुँदै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास। तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ३० गते। गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले शिक्षा क्षेत्रको विकासमा शिक्षक सङ्गठनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ। 

पुतलीबजार नगरपालिका–१ मा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर कमिटी पुतली बजारले गरेको २०८१ को क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रममा उहाँले गौरवमय इतिहास रहेको सङ्गठन नै  शिक्षकको हितमा समर्पित एकमात्र संस्था रहेको बताउनुभयो। 

आफ्नो अधिकारको लागि सबै शिक्षक एक हुनुपर्ने बताउँदै सुन्दासले शिक्षकले शैक्षिक गुणस्तर अभिवृद्धिमा पनि तनमनले लाग्नुपर्ने बताउनुभयो। 

विद्यार्थीले पढ्ने र गुणस्तर वृद्धि हुने भन्ने नहुने बताउँदै शिक्षक शैक्षिक गुणस्तर वृद्धि गर्ने पहिलो भएको मन्त्री सुन्दासको भनाइ थियो। आफू पनि एक बेलाको शिक्षक रहेको बताउँदै सुन्दासले प्रदेश सरकारमा शिक्षा तथा शिक्षकको अधिकारको लागि लड्ने बताउनुभयो। 

कार्यक्रममा प्रधानाध्यापक पदमा नियुक्त भएका बलराम दिरङ्गा र सोमबहादुर राना तथा बढुवा हुनुभएका शिक्षक गङ्गाराम पौडेल, ईश्वरी वाग्ले,  मोतीप्रसाद अधिकारी र टिकाराम ढकाललाई मन्त्री सुन्दासले खादा खोडाएर सम्मान पत्रले सम्मान गर्नुभएको थियो। 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशका इन्चार्ज यमबहादुर कुवर, नेकपा एमाले केन्द्रीय सदस्य सीमा कुमारी क्षेत्री, राष्ट्रिय परिषद् सदस्य नारायण प्रसाद मरासिनी, नेकपा (एमाले) जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस), नगर अध्यक्ष भरत गोदार, सङ्गठनका पूर्व सचिव बलराम दोरङ्गा, सचिव हिरा गाहा लगायतले शिक्षकको हक हितको बारेमा बोल्नु भएको थियो।