• १३ साउन २०८१, आइतबार

घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छः अध्यक्ष लोहनी

blog

नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनी कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्नुहुँदै ।

काठमाडौँ, वैशाख ३० गते । नेपाल घरजग्गा तथा आवासीय विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताउनुभएको छ । कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लोहनीले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठुला आयोजनाहरुमा काम गर्ने वातावरण व्यवसायीहरुले बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनका लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताउनुभयो । उहाँले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहहरुले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिने जानकारी दिनुभयो ।

अध्यक्ष लोहनीले अब साना व्यवसायीहरु मिलेर कम्पनी बनाउने र कम्पनीहरु पनि मर्ज भएर ठुलो पुँजी भएका कम्पनी बनाएर ठुला आयोजनाहरुमा काम गर्न आवश्यक भएको बताउनुभयो ।

‘‘ल्याण्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ । सरकारले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग पोलिसी लागू भइसकेको छ । उहाँहरुले आवासीय क्षेत्रहरुको वर्गीकरण गर्छ । त्यसको स्थानीय सरकारले गुरुयोजना बनायोस् । गुरुयोजनामा बिल्डिङ गर्नुपर्‍यो । टाउनप्लानिङ बनाउनुपर्छ । खुद्रे आयोजनाहरु होइन । घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र  साना कम्पनीहरु मर्ज भएर ठूला पुँजी भएका कम्पनीहरु बनाउनुपर्छ ।,’’ अध्यक्ष लोहनीले भन्नुभयो, ‘‘विश्वमा रियल स्टेट व्यवसायीहरु भनेका धनाढ्यहरुले मात्रै बन्ने परिस्थिति बन्छ । तर नेपालमा त्यति ठुलो पुँजी छैन । नेपाली व्यवसायीहरुले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन । संयुक्त कम्पनीको रुपमा काम गर्नु आवश्यक छ । त्यसका लागि व्यवसायीहरु पनि लाग्नुपर्छ र व्यवस्थित शहर बनाउनुपर्छ । त्यसका लागि सरकारले ल्याण्ड पुलिङ खुला गर्नुपर्छ । त्यसका लागि शहरी ऐन बनाउन आवश्यक छ ।’’

उहाँले सरकारले ल्याण्ड पुलिङ खुला गरी शहरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।