सुलीकोट समाचारदाता
सुलीकोट, वैशाख ३० गते । गोरखाको आरुघाट गाउँपालिका–४ र ५ मा पर्ने आर्खेत बजारको आर्खेत खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पूर्वाधार कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख गणेश सुवेदीले गाउँपालिकाको ४ र ५ नम्बर वडामा पर्ने आर्खेत खोला जोड्ने मोटरेबल पुल दुई वर्षमा सम्पन्न हुने सम्झौता भए पनि सम्झौता भएको भन्दा दुई वर्षपछि वैशाख १५ गते मोटरेबल पुल सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरेबल पुल निर्माणका लागि बानियाँ सिद्धि विनायक जेभी हेटौँडासँग २०७६ साल फागुन १४ गते सम्झौता भई २०७८ साल भदौ १९ गते नै दुई वर्षमा सकिने गरी काम अघि बढाइए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाई म्याद थपका लागि कार्यालयमा निवेदन दिएपछि दुई पटक म्याद थपेपछि पुल निर्माण सम्पन्न भएको हो । आरुघाटदेखि चुमनुब्री गाउँपालिका हुँदै सामा गाउँको चाइना बोर्डरसम्म पुग्ने सडकखण्डमा पर्ने उक्त पुलको लम्बाइ ४० मिटर रहेको छ । उक्त मोटरेबल पुल निर्माणसँगै पुलको वारिपारि ५०/५० मिटर एप्रोच रोडसमेत निर्माण भएको छ । पूर्वाधार कार्यालय गोरखा र बानियाँ सिद्धिविनायक जेभी हेटौंडासँग कुल पाँच करोड ६५ लाख ४३ हजार रुपियाँ लागतमा सम्पन्न भएको हो ।
त्यस ठाउँमा पक्की पुल निर्माणले बर्खामा पनि सजिलै आवतजावत गर्न सकिने भएको छ । उत्तरी भेगका आम नागरिकलाई सहजै मोटर यात्रा गर्न निकै सहज हुने साइट इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो । उक्त पुलबाट आरुघाटदेखि धार्चे हुँदै चुमनुब्री साथै धादिङ जिल्लाका स्थानीयलाई समेत यात्रा गर्न सहज हुने पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।
त्यस ठाउँमा मोटरेबल पुल निर्माणले उत्तरी गोरखाका नागरिकलाई सहज भएको छ । इन्जिनियर मोहन श्रेष्ठले उत्तरी गोरखमा भएका जडीबुटी तथा स्थानीय किसानले पालनपोषण गरेका भेडा, च्याङ्ग्रा बोकालगायत पशुचौपाया सहजै रूपमा सदरमुकामलगायत काठमाडौँसम्म बिक्रीवितरण गर्न सक्ने बताउनुभयो ।