• २२ असार २०८१, शनिबार

'पोखरालाई प्रकृति र संस्कृतिको पनि राजधानी बनाऔँ'

blog

बागलुङका साहित्यका भूपेन्द्र खड्कालाई सम्मान गर्नुहुँदै मुख्यमन्त्री खगराज अधिकारी । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको राजधानीसमेत रहेको देशकै ठूलो महानगर पोखरालाई प्रकृति र संस्कृतिको पनि राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेशले प्रकृति र संस्कृतिका माध्यमबाट समृद्धि हाँसिल गर्न सक्ने सम्भावना औंल्याउँदै उहाँले त्यसका लागि सरकार सबै क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “पोखरा पर्यटनको राजधानी त घोषित भइसकेको छ । कला र संस्कृतिको राजधानीका रुपमा पनि पोखरालाई विकास गर्नेछौँ ।”

आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ पौड्याल, साहित्यकार धर्मराज थापा लगायतको कर्मभूमि गण्डकीलाई पछिल्लो पुस्ताका लेखक÷कलाकारले अझ सशक्त रुपमा अघि बढाउने उहाँको विश्वास छ । “हामी फूल सार्ने छौँ, संरक्षण गर्ने छौँ,” प्रतीकात्मक रुपमा मुख्यमन्त्री अधिकारीले भन्नुभयो । उहाँले भानुभक्तीय रामाणयका केही श्लोक र केही गीतका स्थायीसमेत सुनाउनुभयो ।

वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले कला, साहित्य र सङ्गीतमा स्थापित सात सर्जकलाई नगदसहित सम्मान गर्‍याे । मुख्यमन्त्री अधिकारी, साहित्यकार सरुभक्त, कलाकार दुर्गा बराल ‘वात्स्यायन’, प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ लगायतले सर्जकहरुलाई सम्मान गर्नुभएको हो । समारोहमा गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपेन्द्र खड्का, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा संगीत सम्मान स्याङ्जाका पुरुषोत्तम न्यौपाने र गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई जनही एक लाखसहित सम्मान गरिएको छ । 

नगद पचास हजारसहित गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मान तनहुँकी सात्यिकार सरस्वती प्रतीक्षालाई प्रदान गरियो भने गण्डकी प्रज्ञा युवा सम्मानबाट स्याङ्जाका रविन गुरुङ  र मुस्ताङका छिरिङ फोन्जो गुरुङलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको छ । 

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेशको वाङ्मयको क्षेत्रमा उल्लेख्य योगदान गरेका र यसअघि राज्यबाट कुनै सम्मान नपाएका सर्जकहरुलाई सम्मान गरिएको बताउनुभयो । शनिबारै प्रतिष्ठान परिसारमा स्रष्टा स्मृति पार्कसमेत सुरुवात गरिएको छ । २०७८ सालमा स्थापना भएको प्रतिष्ठानले तीन वर्षमा विभिन्न जातजातिका विषयमा अनुसन्धात्मक पुस्तक प्रकाशन, स्रष्टाहरुको वृत्तचित्र निर्माण, मौलिक बाजा तथा भाषा प्रशिक्षण जस्ता गविविधि गर्दै आएको छ ।