• १२ मंसिर २०८१, बुधबार

म्याद सकिए पनि नगरपालिका भवन बनेन, मासिक डेढ लाख भाडा तिर्न बाध्य

blog

अलपत्र मोरङको रतुवामाई नगरपालिका भवन । तस्बिर: हरि

हरि कोइराला

उर्लाबारी, वैशाख २९ गते । नगरपालिकाको भवन निर्माण गरी २०८१ भदौमा जिम्मा लगाउनु पर्ने सम्झौता सहित निर्माण सुरु भए पनि अझै २० प्रतिशत काम हुन सकेको छैन । ठेकेदारको बदमासीका कारण नगरले मासिक डेढ लाख भाडा तिर्न बाध्य छन् । 

यो मोरङको रतुवामाई नगरपालिकाको यथार्थता हो । नगरपालिकाले मासिक मासिक १ लाख ५२ हजार रुपियाँका दरले वार्षिक १८ लाख २४ हजार रुपियाँ घरभाडा तिर्दै आएको छ  । नगरपालिकाका प्रशासन प्रमुख नरहरि निरौलाका अनुसार एउटै घरमा कोठा नपुगेर स्वास्थ्य शाखा,रोजगार सेवा केन्द्र उद्यम विकास शाखा,शिक्षा,युवा तथा खेलकुद,कृषि एवम् महिला बालबालिका शाखा,आयुर्वेद शाखा अलग अलग घरमा भाडामा राखिएको छ । 

साबिकका महादेव,झर्किया,सिंजुवा, इटहरा गाविस पुरै र बरडङ्गा,गोविन्दपुर गाविसका  ४÷४ वडा मिलेर बनेको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वमा पर्ने नगरपालिका हो  । राज्य पुनर्संरचना आयोगले रतुवामाई नगरपालिकाको केन्द्र साबिकको सिंजुवा गाविस कार्यालयलाई तोक्यो । नगरपालिका भएपछि वडा नम्बर ७ मा परेको गाविस कार्यालय साँघुरो थियो ।  सो भवन नगरपालिकाको कार्यालय सञ्चालन गर्न सकिने अवस्थाको नरहेपछि  सिंजुवामा नै भाडाको घरमा बस्न थालेको नगरपालिका विगत ८ वर्ष देखि भाडाको घरमै बसिरहेको छ । 

 सुरुका ४ वर्ष सम्म जग्गा प्राप्तिमा अल्मलिएको नगरपालिकाले २०७८ मा जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया सुरु गरेको थियो । हाल भाडामा रहेको भवनबाट पश्चिम दक्षिणमा स्थानीय  भीमप्रसाद भट्टराई र टेकनाथ भट्टराईले १ बिगाहा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराउनु भएको थियो । जग्गा प्राप्त भएपछि सोही स्थानमा (सिंजुवा बजार) मै नगरपालिका भवन बनाउने गरी  भट्टराई दाजुभाइले १बिगाहा जग्गा नगरपालिकालाई दिएपछि भवन निर्माण प्रक्रिया अघि बढेको थियो ।

भट्टराई दाजुभाइले प्रदान गरेको सोही जग्गामा भवन निर्माणको टेन्डर आह्वान भयो । २०७८ भदौ २८ गते नगरपालिकाले निर्माणको टेन्डर प्राप्त गरेको भूमि वीसीपीए जेभीसँग भवन निर्माणको सम्झौता गरेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले भ्याट सहित ९ करोड ४१ लाख ६४ हजार १७४ रुपियाँमा भवन निर्माण गरी २०८१ को भदौ २५ गते प्रमुख प्रशासनिक भवन नगरपालिकालाई जिम्मा लगाउनु पर्ने थियो । 

डिपीआर निर्माण गर्दा १६ करोड रुपियाँको लागत इष्ट मेट तयार भएको थियो ।तर, घटाघटमा झन्डै ७ करोड रुपियाँ कमीमा  ९ करोड ४१ लाख रुपियाँमा निर्माण हुने गरी ठेक्का सम्झौता भयो । त्यस बेला ठुलो खर्च जोगिएको भन्दै पालिकाका जनप्रतिनिधिले खुसी प्रकट गरेका  थिए । तर, ठेकदारले बिच मै काम छोडेर हिँडेपछि यति बेला नगरपालिकाको टाउको दुखाई सुरु भएको छ । ११ महिना देखि सम्पर्क विहीन ठेकदार बल्ल सम्पर्कमा आएका छन् । जिन्सी शाखा प्रमुख महेन्द्र ठाकुरले भन्नुभयो– निर्माण कम्पनीसँग सम्पर्क गरिरहेका छौँ । काम गर्छौँ, भन्नु भएको छ । जुन गति र लयमा हुनुपर्ने हो ,त्यसरी भएको छैन । ‘सम्झौता भएको मितिले ३२ महिना भित्र कम्तीमा पनि ९० प्रतिशत काम सम्पन्न हुनु पर्ने हो । तर,हालसम्म २० प्रतिशत काम पनि भएको छैन’– नगरपालिकाका इन्जिनियर अङ्कित खड्काले भन्नुभयो ।   

नगरको मात्र होइन, ८ र १० नम्बर वडा कार्यालय पनि अझैसम्म भाडा कै घरमा बसेर सेवा प्रवाह गरिरहेका छन् ।