• १२ असार २०८१, बुधबार

हाम्रो सम्पदा

नौबिसेको जगबैज्येश्वर महादेव (फोटो फिचर)

blog

काभ्रे, वैशाख २९ गते । जिल्लाको नमोबद्ध नगरपालिका दाप्चाबेसी वडा नं. ७ भकुण्डेबेसीको नौबिसेमा अवस्थित जगबैज्येश्वर महादेवको मन्दिर । उत्तर बाहिनी हुँदै बगेको गङ्गा, सरस्वती र यमुना नामक दाप्चेखोलाको सङ्गम त्रिवेणी पर्दछ। यस घाटलाई प्रयागको एक सानो टुक्रा मानिने बनारसको मनि कर्णिका, शंखमूल, कुशेश्वर घाटको महादेवको रूपमा यस महादेवलाई मानिएको छ। जगतका पति महादेवको नामबाट नै जगबैज्येश्वर नाम रहन गएको मानिएको छ।

यस मन्दिरका पुजारीकाअनुसार मार्ग शुक्ल त्रयोदशीका दिन दिवङ्गत आत्माको चिर शान्तिका लागि जाग्राम बसेर बत्ती बाल्ने र भोलीपल्ट बीज छर्ने गरिन्छ। साथै तीज र श्रीपन्चमीका दिन यस मन्दिरमा भक्तजनहरूको अत्यधिक भिड रहने पुजारी बताउनु हुन्छ। 

यस मन्दिरको पुरानो प्रतिरूप मूर्ति हराएकोले २०५५ सालमा चतुर्मुखी शिवलिंग निर्माण गरी स्थापना गरिएको हो। यस महादेवको उत्पत्ति सम्बन्धमा पूर्वतर्फ जाने भरियाहरूको बाटो भएको र एक दिन यहाँ भरियाहरूले ढिँडो पकाउन पानी जति पटक बसाल्दा पनि घोप्टिएर जाने भएको र त्यस रात सपनामा भरियाहरूले महादेवलाई देखेकोले सबै मिली पूजा अर्चना गर्न थालेको किम्बदन्ती समेत रहेको छ।

यस मन्दिर परिसरमा विभिन्न देव, देवता, शिवलिंगहरु आदी रहेका छन्।