• १० मंसिर २०८१, सोमबार

बुझेको मधेश देखेको मधेश

blog

पुरुष पकडको राजनीतिमा नगरप्रमुख महिला निर्वाचित हुनु र उहाँबाट प्रमाणपत्र बुझ्न पाउँदा खुसीसमेत लागिरहेको थियो । पहाडी समुदायका महिलालाई मधेशमा नगरप्रमुख निर्वाचित भएको देख्न पाउँदा मधेश अगाडि बढ्दै छ है भन्ने आभास पाएँ । 

म र मेरो मित्र ऋतिक यादवले सर्लाही जाने कार्यक्रम बनायौँ । मित्र यादवलाई एक कार्यक्रममा सहजीकरण गर्न प्रस्ताव आएको हुँदा उहाँले मलाई पनि फुर्सद भएसम्म जाउँ हिँड्नु मधेश पनि देख्नुहुन्छ भनेर भन्नुभयो । यसो सोच्दै गर्दा म पनि घुम्न ननिस्केको र काठमाडौँबाहिर जान मन लागिरहेको थियो । 

माघमा म आफ्नो घर बुटवल गएको थिएँ । यसपालि मधेशकै साथीसँग मधेश घुम्न मन लागिरहेको थियो । थोरै समयमा नै मधेशको समग्र पाटोलाई हेर्न मन थियो । काठमाडौँको धुलो, धुवाँ र भागदौडबाट समेत आजित भएको थिएँ । काठमाडौँको धुवाँ त खाइयो अब तराई मधेशकै गर्मी खान जाउँ भनेर साथीलाई हुन्छ सँगै जाउँला भनेँ ।

साथीले अनलाइनमार्फत नै सर्लाही बरहथवाका लागि टिकट काट्नुभयो । वैशाख १३ गते बिहीबार काठमाडौँबाट सर्लाहीका लागि हामीले रात्रि बस समात्यौँ । रात्रि बस चितवन, हेटौँडा, वीरगन्ज हुँदै सर्लाही जाने रहेछ । चितवनदेखि पूर्व नगएकोसमेत धेरै भएको थियो । पहिला कक्षा ८ मा पढ्दै गर्दा सप्तरीसम्म गएको स्मरण छ । 

सर्लाहीको बरहथवा भन्ने ठाउँमा हामी वैशाख १४ गते बिहान ६ बजे पुग्यौँ । त्यहाँ हामी सूचनाको हकसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रममा काठमाडौँबाट सहजकर्ता भएर केही सिकाउन गएका थियौँ । त्यहाँ हामीलाई बोलाउने आयोजकले बरहथवाकै अन्नपूर्ण होटलमा बस्ने खाने बन्दोबस्ती गरिदिनुभएको थियो । यति भएपछि मधेशको खानाको स्वाद चाख्ने अवसर पनि जुर्‍यो ।

कार्यक्रमको पहिलो दिन वैशाख १४ गते नै ११ बजेबाट कार्यक्रम उद्घाटन गर्ने थियो । कार्यक्रममा मित्र यादवले काठमाडौँबाट नै मेहनतसाथ तयार गरेर राखिएको सामग्री प्रस्तुत गर्दै त्यहाँ उपस्थित २० जना इच्छुक सहभागीलाई सूचनाको हक के हो, नेपालमा के कस्ता व्यवस्था गरिएका छन्, ऐन नियममा के कस्ता कुरा लेखिएका छन्, सूचनाको हकमा टेकेर केही कुरा माग्दा के कसरी माग्ने र कुन प्रक्रियामा टेकेर माग्ने जस्ता कुरा व्यक्त गर्नुभयो ।

त्यसै गरी अर्को दिन शनिबार उपस्थित सबैलाई सूचनाको हकसम्बन्धी निवेदन लेख्न सिकाउने, बरहथवा नगरपालिकाको सूचना अधिकारीसमक्ष लगेर उहाँमार्फत अझै सहभागी प्रस्ट होउन् भन्ने लागेर उहाँमार्फत धेरै कुरा जानकारी दिन भनियो । सो अवधिमा विद्यार्थीमार्फत धेरै कुरा सिक्ने कौतुहलता र हुटहुटीसमेत देखियो ।

कोर मधेश नभए तापनि त्यहाँ बरहथवा नगरपालिकाको सबै वडाबाट सबै पृष्ठभूमिका युवा सहभागिता थियो । बरहथवा नगरपालिका पहाडिया र मधेशका दुवै मिलेर बसेको ठाउँ रहेछ । आयोजकहरूको पनि सोही किसिमको मेहनत थियो; जसबाट सहभागी सबैले ज्ञानको दायरा विस्तार गर्ने र सूचनाको हकबारे धेरै कुरा बुझ्नसमेत पाए । कार्यक्रमको दोस्रो दिन मैले विद्यार्थीलाई विद्यार्थीको सिकाइ उत्कृष्ट छ, आफ्नो अनुभव र अन्य पाटोबारे विद्यार्थीको ध्यानाकर्षण गराएँ । यो त भयो मुख्य कार्यक्रमको कुरा तर त्यहाँ रमाइलो पक्ष चाहिँ नेपाली भाषा सबैले बुझ्ने गरेको पाइयो । बिहेको सिजन भएर होला, बिहारतिरका गाडी खुलेआम हिँडेको देखिन्थ्यो । भारतमा नेपालको रोटीबेटीको सम्बन्ध छ भनेर बोलिन्थ्यो । त्यहाँ पुगेपछि थप प्रस्ट हुन पाइयो । काठमाडौँमा बसेर मात्र धरातल बुझ्न सकिँदैन भन्ने थप आभास दिलायो । 

वैशाख १४ गते कार्यक्रमको पहिलो दिनको सत्र समाप्त भएपछि हामीलाई आयोजक साथीहरूले भरत ताल घुमाउन लग्नुभयो । सर्लाही पुगेपछि भरत ताल त हेर्नै पर्छ है भनेर काठमाडौँबाट हामी दुवै मानसिक रूपले तयार भएर बसेका थियौँ । आयोजकबाट नै बाइकमार्फत घुमाउँदा मधेशको थप वस्तुस्थिति र बाटोघाटो हेर्न पाइएको थियो । मधेशमा पूर्वपश्चिम राजमार्गको वरिपरि पहाडी समुदायकै बसोबास रहेको देख्न सकिन्थ्यो । भरत ताल बागमती नगरपालिकामा पर्ने रहेछ । हामी बसेको ठाउँबाट बाइकमार्फत नै पुग्न पनि ३५ मिनेट लाग्यो । बाइकमा जाँदा त्यहाँ सामुदायिक वनमा वृक्षारोपण गरेर रुखहरू हुर्किरहेका देखियो ।

भरत ताल मानवनिर्मित ठुलो ताल भन्ने गरिएको छ । आखिर रहेछ पनि ठुलो, त्यहाँको बागमती नदीकै पानी जम्मा गरेर ताल बनाइएको रहेछ । बाइकमार्फत ताल वरिपरि एक फन्को लगाइयो, फोटो खिचियो र त्यहाँ तालनजिकैको क्याफेमा चिसो दही खाइयो । मधेशको गर्मीमा हामी भने होटल पुग्नासाथ ‘एयर कुलर’ चलाइहाल्थ्यो । काठमाडौँको तुलनामा गर्मी त हुने नै हुँदा नुहाइधुवाइ गरेर ‘आइपियल क्रिकेट’ हेर्न र खाना खान होटलको तल्लो तल्लामा बस्थ्यौँ ।

बिहीबारको दिन त्यसरी नै गयो । शुक्रबार अर्को दिन हामी बिहानै उठेर त्यहाँको चिया खान बाहिर निस्कियौँ । चिया त मधेशमा पुगेपछि झन् खानै पर्‍यो । शुक्रबार बिहान १० बजेबाट नै कार्यक्रम सुरु हुने भनेको हुँदा त्यहीँ किसिमले हामी तयारी गर्दै थियौँ । चिया र नास्ता खाएर हामी होटलमा आयौँ अनि आफ्नो काम गर्न थाल्यौँ । 

शुक्रबार सूचनाको हकसम्बन्धी थप कुरा सिकाउने र बुझाउने गरियो । नगरप्रमुखबाट प्रमाणपत्र वितरण कार्यक्रमसमेत भयो । बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल हुनुहुँदो रहेछ । हाम्रो पुरुष पकडको राजनीतिमा नगरप्रमुखमा महिला निर्वाचित हुनु र उहाँबाट प्रमाणपत्र बुझ्न पाउँदा खुसीसमेत लागिरहेको थियो । महिलालाई मधेशबाट नगरप्रमुख निर्वाचित भएको देख्न पाउँदा मधेश अगाडि बढ्दै छ है भन्ने आभास पाएँ । कार्यक्रम सकिएपछि उखुको जुस खान निस्कियौँ । जम्मा ३० रुपियाँमा मज्जाले एक गिलास उखुको जुस खान पाइयो । मन आनन्दित भयो । 

साँझपख फेरि आयोजक साथीहरूले बाइकमा लगेर अझै कोर मधेश इलाका देखाउँदै हुनुहुन्थ्यो । कहीँ अलिक गरिब अवस्था जस्तो देखिए तापनि जमिन भएको र पशुपालन गरेको देख्दा जीवन निर्वाह गर्न समस्या नभएको अनुभव गरेँ । समस्या छैन भन्दा हुँदै नभएकोसमेत होइन, प्रतिव्यक्ति आय न्यूनस्तर भएको र मधेश अझै विकासका पूर्वाधारलगायतको कुरामा पछाडि छ । 

त्यहाँनजिकै मस्जिदसमेत रहेछ । अहिले तराई मधेशतिर हिन्दु–मुस्लिम द्वन्द्व बढ्दै गरेको स्थितिमा त्यहाँ भने सबै मिलेर बसेको देख्न पाइयो । त्यहाँबाट केही पर भने केही समयअघि मुस्लिम–हिन्दु टकराब भएको भन्ने पनि थाहा पाएँ । धर्म जसको जुनसुकै भए पनि नेपालमा यो किसिमको गतिविधि र मनमुटाब बढिरहेको देखिनु स्वाभाविक भने होइन । भारतको राजनीतिले प्रभाव पारेको हुन पनि सक्ला तर मिलेर बस्नु नै सबैको हित हुन्छ भन्ने बुझ्नु पर्छ । पहाडतिर पनि धर्म प्रचार गर्ने व्यक्तिहरू विभिन्न संयन्त्रमार्फत परिचालित हुनु पनि राम्रो कुरा होइन । मधेश राममय बनेको छ । जय श्री राम लेखेको झन्डा यत्रतत्र देख्न सकिन्छ । गाडीहरूमा पनि राखेको देखिन्छ । त्यहाँ भजन कीर्तन सुन्ने बानी छ, त्यो भने देख्दा मज्जालाग्दो थियो । हामी पहाडतिरको बानी बिग्रेको छ तर तराईमा भने बिहान मज्जाले भजन सुन्ने रमाइलो बानी छ । सिमाना वारिपारि बिहे हुने चलनले भोलिका दिनमा नागरिकता प्राप्ति गर्न हुने झन्झट र व्यवधानको समस्यासमेत बेग्लै छ ।

नागरिकता पाउन हुने समस्याले अब भोलिका दिनमा नेपाल–भारतको सम्बन्धमा समेत कमी आउने देखिन्छ भन्ने कुरा साथीले व्यक्त गर्नुभएको थियो । यी सबै कुरा हेर्दा मधेश बुझ्न मधेश नै जानु पर्छ काठमाडौँको मिडिया, मिडियाका विचार पृष्ठ र नेताको बोली सुनेर मात्र धारणा बनाउनु किमार्थ उचित नहुने भन्नेमा विश्वस्त भइयो ।

सर्लाहीको बरहथवा भर्खर हुँदै गरेको बस्दै गरेको सहर रहेछ । नाकाबन्दी र कोभिडले समेत खासै प्रभाव नपारेको ठाउँ रहेछ । तरकारी ताजा र मिठो त्यहीँकै ताजा हुने रहेछ । अहिले आँपको सिजन भएको हुँदा आँप फल्दै गरेको देखियो । हल्का ठुलो नभएको हुँदा खान भने नपाएर मन खिन्न भएको थियो । आँपकै जङ्गल हुने हुँदा देख्दा पनि मन आनन्दित भएको  थियो । पहिला म सप्तरी जाँदा त्यतिबेला पनि वैशाखमै परेको हुँदा आँप मज्जाले खान पाइएको थियो । 

यसरी मधेशको दुईदिने यात्रामा धेरै स्मरण सँगालेर वैशाख १६ गते दिउँसोको गाडी समातेर बर्दिबास र सिन्धुली हुँदै काठमाडौँ फर्किएँ । साथी त्यतैबाट घर वीरगन्जतिर एक/दुई दिन बसेर काठमाडौँ आउने भन्दै लाग्नुभयो । मधेश बुझ्न अझै मधेशको ‘कोर एरिया’ र अन्य ठाउँ देख्नुपर्ने घुम्नुपर्ने रहेछ भन्ने लाग्यो ।