• १२ साउन २०८१, शनिबार

सागर फडेराको अवसान

blog

एक रात अचानक घरभित्र बाढी पस्यो र घरसहित सागरकी बहिनीलाई पनि बगाएर लग्यो । त्यसको केही महिनापछि सागरले घर छोडेको थियो । सागर घर नफर्केको आउँदो पुस महिनामा १० वर्ष पुग्थ्यो । बाबु आमाले जति प्रतीक्षा गरे पनि सागर फर्केनन्, सागर कहाँ छ भन्ने पनि उनीहरूलाई थाहा थिएन ।

दिल्लीको उत्तरपट्टिको ग्रामीण भेग वजिरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको थियो । ऊ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्थ्यो, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्थ्यो र सहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता सामग्री बेची साँझमा थाकेर आफ्नो कोठा वजिरपुर फर्कन्थ्यो ।

हुम्ला जिल्लाको सर्केगार्ड गाउँमा सागर, उसका बाबु, आमा र एउटी बहिनी बस्थे । उसका बाबुको उमेर ७८ वर्ष पुगेको थियो भने आमाचाहिँ ७२ वर्षकी थिइन् । फडेरा दम्पतीले जङ्गल नजिकैको खोला छेउमा खरको छानो हाली बारबेर गरेर एउटा छाप्रो तयार गरेका थिए । त्यही छाप्रोमा गुँडुल्किएर उनीहरू रात काट्थे । एक रात अचानक घरभित्र बाढी पस्यो र घरसहित सागरकी बहिनीलाई पनि बगाएर लग्यो । त्यसको केही महिनापछि सागरले घर छोडेको थियो । सागर घर नफर्केको आउँदो पुस महिनामा १० वर्ष पुग्थ्यो । बाबु आमाले जति प्रतीक्षा गरे पनि सागर फर्केन, सागर कहाँ छ भन्ने पनि उनीहरूलाई थाहा थिएन ।

सागरको कोठाको ठ्याक्कै अगाडि अर्को एउटा कोठामा एउटी वेदिका मिना नाउँ गरेकी मद्रासी शिक्षक बस्थिन् । सागरको कोठा र वेदिकाको कोठाको बिचबाट पछाडिका अरू कोठातर्फ जान र बाहिर निस्कन एउटा सानो गल्ली थियो । साँझ परेपछि पछाडिपट्टि बस्ने श्रमिकहरू दिनभरको परिश्रमले थकित भई त्यही गल्ली हुँदै आआफ्ना कोठाभित्र छिर्थे । त्यहाँ भाडामा बस्ने श्रमिकमध्ये कोही फ्याक्ट्रीमा काम गर्ने ज्यामी थिए, कोही सिकर्मी र कोही सामान्य होटलका बेरा थिए । एकले अर्काको कुनै चियो चर्चो गर्दैनथ्यो । अर्थात् यसो भनौँ दिनभर खर्चेको श्रमको थकाइले आफ्नोबाहेक अरूको चासो राख्ने फुर्सद कसैलाई थिएन । कोठा बाहिर निस्केर बाहिर हेर्ने बरन्डा पनि थिएन, कसैलाई त्यसो गर्ने फुर्सद पनि थिएन ।

सागर बिहानको खानपिन गर्थ्यो र खाजाका सामग्रीहरू ठेलामा बोकेर वजिरपुरबाट सहरतिर लम्कन्थ्यो । म पनि साँझमा टहल्न अनायसै त्यतै आइपुग्थेँ । अशोक विहारको जय हिन्द सिनेमा हलको छेउको चौबाटोमा सागरसँग प्रायः मेरो भेट हुन्थ्यो । ग्राहकबाट फुर्सद हुनेबित्तिकै ऊ मतिर फर्कन्थ्यो र भलाकुसारी गर्न मन पराउँथ्यो । दैनन्दिनको भेटमा ऊ मेरो आत्मीय मित्र भइसकेको थियो र मसँग कतिपय अन्तरङ्ग कुरा गर्न ऊ रुचाउँथ्यो । हामी दुवैका निम्ति यो विदेश थियो । यहाँ मन मिल्ने अरू स्वदेशी साथी हामी दुवैका थिएनन् । मेरो पनि मनको कुरा पोख्ने ठाउँ अन्त कतै थिएन । उसको पनि शायद त्यस्तै हुँदो हो ।

एकदिन उसले मलाई भन्यो, “आज मेरो टाउको भारी भइरहेको छ ।” मैले किन त्यस्तो भयो भनी सोधेको प्रत्युत्तरमा उसले भन्यो, “आज रातभर राम्रोसँग सुत्न पाएको छैन ।” मैले “के भएर सुत्न नपाएको ?” भनी सोधेको जवाफमा उसले ‘त्यत्तिकै’ भनी टाउको हल्लायो । नयाँ ग्राहक आयो र उसको ध्यान त्यता मोडियो । त्यसपछि म आफ्नो गन्तव्यतर्फ लागे ।

अर्को दिन फेरि सागरसँग मेरो भेट भयो । त्यो दिन उसले आफ्नो अन्तरङ्ग कथा सुनायो । “वेदिकाले आज त झन् मलाई रातभर सुत्न दिइन । राति रक्सी खान बोलाउँछे, मातेपछि उसलाई मन लागेको गर्छे, म ऊबाट उम्कन सक्तिन ।”

“उ एक्लै छे र ?” मैले थप कुरा बुझ्न खोजेँ ।

उसले भन्यो, “उसको एउटा सात वर्षको छोरो पनि छ । बच्चा निदाएपछि उसले मलाई बोलाउँछे । पहिले पहिले त म नाइँ भन्थेँ तर उसले बोलाउँदा बिस्तारै म पनि ‘नाइँ’ भन्न नसक्ने अवस्थामा पुगेँ । म गएपछि उसले ब्रान्डेड रक्सी र स्न्याक ठिक पार्थी । त्यसपछि रक्सीको चुस्की लिँदै हामी गफ गर्न थाल्थ्यौँ र बिस्तारै आपसमा आलङ्गिन गर्न थाल्थ्यौँ ।” “पहिले त ऊ एक्लै थिई । एक महिनाअघि छोरो लिएर उसको लोग्ने चाहिँ मद्रासबाट दिल्ली आएको थियो । वेदिका स्कुलमा शिक्षिका थिइन् । उसलाई छोरो जिम्मा लगाएर लोग्ने चाहिँ छिटै मद्रास फर्क्यो । शायद ऊ पनि मद्रासमा जागिर खान्थ्यो । बिहानको खाना खाएर छोरो लिएर वेदिका स्कुल जान्थी । उसको छोरो पनि त्यही स्कुलमा पढ्थ्यो । स्कुल छुटेपछि ऊ पनि आमासँगै फर्कन्थ्यो ।”

“दिन बित्दै गए, वेदिका यौन उत्तेजनाले उग्र हुँदै मसँग आशक्त हुन थालेकी थिइन् । म पनि उसलाई छोड्न सक्तिनथेँ । मलाई पनि कतिबेला उसको कोठामा पसुँ जस्तो हुन्थ्यो ।” वेदिकासँग भएका सारा क्रियाकलाप सागर फडेराले मलाई भनिसकेको थियो ।

अचानक म राजस्थान जानुपर्ने भयो । केही दिन त्यतै बस्नु परेकाले सागरसँग मेरो भेट हुन सकेन । फर्केपछि एकदिन फेरि मैले व्यस्त सडक छेउमा सागर फडेरालाई भेटेँ । उसले आज मलाई अर्कै कथा सुनायो । उसले भन्यो, “आज मैले अचानक सर्केगार्ड पुगेको सपना देखेँ । नयाँ फरिया लगाएर आमा कतै जाँदै थिइन् । उनलाई मैले बाटोमै भेटेँ, अचानक मलाई बाटोमा भेटेपछि आमा खुसी भइन् र मलाई अँगालो हालिन् । मैले आमालाई ढोग गरेँ । आमा अगाडि लागिन्, म आमाको पछाडि लागेँ । आमासँगै म घरभित्र पसेँ । बा पनि छक्क परेर मुसुमुसु हाँस्न थाले । मलाई अचम्म लाग्यो, बाले कस्तो राम्रो नयाँ घर बनाएछन् । बडो रमाइलो भयो । बा पनि झन् भर्खरका पो देखिए । बा आमासँग रमाइलो गफ गरेर बसिरहेको थिएँ, अचानक म बिउँझिएँ । मलाई त एक पटक घर जाऊँ, जाऊँ पो लागेको छ ।”

मेरो आफ्नो व्यस्तताका कारण केही दिनदेखि मैले सागरलाई भेट्न सकेको थिइनँ । आजको भेटमा उसले वेदिकासँगको गतिविधिको कुरा केही गरेन । सागरको कथा मोडियो । उसले भन्यो, “हिजो साँझ वेदिकाको लोग्ने आइपुगेको छ । हिजोदेखि नै उसँगको सम्पर्क अलग्गिएको छ । आजदेखि म पनि एक्लिएको महसुस गरिरहेको छु ।”

जुलाई महिनाको अन्त्यतिरको कुरा हो, अर्थात् नेपालमा मध्य श्रावणको समय थियो, रातिदेखि नै पानी परिरहेको हुँदा दिल्ली अँध्यारो थियो । घर बाहिर मानिस र सवारीसाधनको आवतजावत पातलो थियो । बर्साती ओढेर आएको नवभारत टाइम्सको वितरक घरको आँगनमा पत्रिका फ्याँकेर साइकलमा हुइँकिइसकेको थियो । पत्रिका केही भिजेको थियो । आँगनबाट पत्रिका टिपेँ र सरस्वती हेर्न थालेँ ।”

“सेक्स स्क्यान्डल मे नेपाल के बहादुर कि हत्या” शीर्षकको मुख्य समाचारमा मेरो आँखा प¥यो । समाचारमा ‘नेपाल’ शब्द जोडिएको हुँदा तुरुन्तै पढिहाल्ने कौतूहलता मभित्र जाग्यो । समाचार पढेँ, त्यो समाचार सागर फडेराको परस्त्रीसँगको यौन सम्बन्ध र उसको बीभत्स हत्यामा आधारित थियो । प्रहरी अनुसन्धानले उसको हत्याको कारण परस्त्रीसँग यौन सम्बन्धको निरन्तरता भन्ने देखाएको थियो । रगत लतपतिएको उसको बीभत्स शव हेर्दा गर्धन आधाभन्दा बढी काटिएको र लिङ्ग छिनालिएको अवस्थामा थियो । घटनापछि वेदिका र सागरको यौन सम्बन्धबारे विभिन्न समाचार माध्यम र सर्वसाधारणबिच विभिन्न तर्क भएको मैले सुनेँ । ती तर्कमध्ये केही युवाले यस सम्बन्धलाई महिला र पुरुष दुवैको जैविक आवश्यकता भने, पाका मानिसहरूले परस्त्री र परपुरुषबिचको यो सम्बन्ध अनैतिक र घोर आपत्तिजनक भने र अरू केही सन्त महन्तले परस्त्री गमन महापाप कर्म हो भने । जसले जे भने पनि दुःखद घटना आखिर भइसकेको थियो, सागर फडेराको अवसान भइसकेको थियो ।