• ८ जेठ २०८१, मङ्गलबार

स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग

blog

तम्घास (गुल्मी), वैशाख २८ गते । गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नम्बर २ सिन्दुखा र वडा नम्बर ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो । आफ्नो घर-गोठ जलेपछि पीडित छिमेकीकोमा रात कटाए पनि उनीहरुले स्थायी आवासको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।

इस्मा गाउँपालिका-४ दोहोली कोटकोटेरीका बिमला अधिकारीले छ वर्षअघि दुईतले घर बनाउनुभयो । घर बनाउँदा लागेको ऋण तिर्न श्रीमान परदेश जानुभयो । नयाँ घरमा छोराछोरीसहित बिमलाले जेनतेन गुजारा चलाइरहनुभएको थियो । तर बिमलाको परिवारलाई नयाँ घरमा धेरै समय बस्न भाग्यले दिएन । वैशाख ८ र ९ गते लागेको भीषण आगलागीले उहाँको घर र गोठ जलेर पूर्णरुपमा नष्ट भयो । “घर जलेको खबर मैले श्रीमानलाई भन्नै सकेकी थिइन्, तर नभनी पनि भएन”, उहाँले भन्नुभयो, “ऋणमाथि बनाएको घरसँगै खुसी पनि जलेको छ”, उहाँले अहिले पनि घर बनाएको ऋण भएको बताउनुभयो । 

श्रीमान रोजगारीका लागि रोमानिया गएपनि त्यहाँ सोचेजस्तो कमाइ नभएकाले अहिले तत्काल घरमा पैसासमेत पठाउन नसक्ने बताएको बिमलाले सुनाउनुभयो । उहाँका छोराले एसइई दिएका छन् भने छोरी गाउँकै विद्यालयमा कक्षा ५ मा प्रथम भएकी थिइन् । तर छोरीले पाएको पुरस्कार पनि घरसँगै जलेको छ । बिमलाको परिवार अहिले छिमेकीको घरमा गुजारा चलाएर बसेको छ । “सधैँभरि छिमेकीकोमा बस्ने कुरा पनि भएन, सरकारले स्थायी आवास बनाइदिए राम्रो हुने थियो”, उहाँले भन्नुभयो ।  

सोही आगलागीमा परेर कोटकोटेरीको सुरेन्द्र विकको पनि घर जल्यो । छोराको परिवार एउटै घरमा दुई परिवार भएर बसेका थिए । छोरा-बुहारीले टेलरिङ पसल सञ्चालन गरेका थिए भने सुरेन्द्र र उहाँकी श्रीमतीले किराना पसल सञ्चालन गर्नुभएको थियो । त्यसबाट उहाँहरुको जीविकोपार्जन भएको थियो । तर वैशाख ९ गतेको आगोले उहाँहरुको घर, लत्ताकपडासँगै खुसी पनि जल्यो । पहिले गाउँमै व्यापार गरिरहेका विक परिवार अहिले आवासको खोजीमा छ । “भएको घर जल्यो, अहिले छिमेकीकोमा बसेर गुजारा चलाएका छौँ”, विकले भन्नुभयो, “हामीलाई जतिसक्दो छिटो स्थायी आवासको व्यवस्था भएमा पहिलेकै जिन्दगीमा फर्कने कोसिस गर्ने थियौँ ।” 

कोटकोटेरीकै बलबहादुर दर्जीको पनि आगोमा परी दुई घर र एउटा गोठ जल्यो । अहिले छिमेकीको घरमा बस्दै आएका दर्जी आफू सानोमा पनि आगोमा परेर भाग्यले बाँचेको सम्झनुहुन्छ । अहिले पुनः आगोले घर जलेको छ । “अब बर्खा पनि सुरु हुन थाल्यो, जतिसक्दो छिटो स्थायी आवास भयो भने अलि राहत हुने थियो”, दर्जीले भन्नुभयो । विमला, सुरेन्द्र र बलबहादुर त आगोले घर जलेर स्थायी आवास बनाइदिन अनुरोध गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । 

उहाँहरुजस्तै इस्माका अन्य अग्निपीडितले आफूहरुलाई अस्थायी आवासभन्दा स्थायी आवास नै बनाइदिन माग गरेका छन् । अहिले वर्षा भएको र थप वर्षा हुने समय पनि नजिकिएकाले उनीहरुले सकेसम्म वर्षाअघि नै नयाँ घर बनाउने विषयमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेका छन् । आगोमा परेर इस्माका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट दुईसयभन्दा बढी नागरिक प्रभावित भएका छन् । योबाहेक एउटै घरमा दुई परिवार भएर बसेका, गोठमा समेत परिवार बसेका गरी इस्मामा बढी मात्रामा क्षति भएको छ । 

इस्मा गाउँपालिकाले आगलागीबाट क्षति भएका संरचनाको उचित व्यवस्थापन र केही ठाउँमा अस्थायी आवास निर्माण गर्नको लागि प्रधानमन्त्री रोजगारका कामदार परिचालन गरेको थियो । त्यसका साथै जनप्रतिनिधि र कर्मचारीले समेत स्थानीयको सहयोगमा श्रमदान गरेका थिए । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले घर निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारीमा चार र गाउँपालिकाको एक लाख गरी पाँच लाख प्रदान गर्ने बताउनुभयो ।

पालिकाले दिने रकमको सम्झौतासमेत गरिएको छ । जसमा ५०-५० हजार गरी दुई किस्तामा रकम प्रदान गरिने छ । अध्यक्ष खड्काले अहिले आफूहरु विपदमा रहेको भन्दै सक्दो सहयोग गर्न सबैसँग अपिलसमेत गर्नुभयो । अग्निपीडितको अवस्था अवलोकन गर्न पुगेका सोही क्षेत्रका सङ्घीय सांसद गोकर्ण विष्टले आफूहरुले पीडितको घर बनाउने गरी योजना बनाएको बताउनुभयो । “वर्षा अगावै घर बनाएर पीडितलाई हस्तान्तरण गर्न लागि परेका छौँ”, विष्टले भन्नुभयो । रासस