• ७ जेठ २०८१, सोमबार

गोरु तस्करीको ट्रान्जिट बन्दै कोरिडोर

blog

बोमलाल गिरी

नवलपुर, वैशाख २८ गते । प्रहरीले २७ गते बिहीबार पाल्पाको रामपुर नगरपालिका–२, भलायटारबाट ४३ वटा गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु फेला पारेको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

एक हप्ताअघि वैशाख २७ गते पनि ४३ वटा गोरुसहित दुई वटा ट्रक नवलपुर प्रहरीले गैँडाकोटबाट नियन्त्रणमा लिएको थियो । बुटवल–नारायणघाट सडकखण्डमा खटिएको प्रहरी चेकिङ टोलीले ना ६ ख ६९७ नम्बरको ट्रकमा २१ वटा र ना ६ ख २७४९ नम्बरको ट्रकमा २२ वटा गोरु नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन सेन्टर रामनगर, चितवन पठाएको थियो । पाल्पादेखि नवलपुरसम्मको कालीगण्डकी कोरिडोर भएर गोरु आवतजावत गराउँदा नवलपुर प्रहरीले मात्र पाँच पटकमा ९८ वटा गोरु र नौ वटा गाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाएको जिप्रका नवलपुरका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो ।  

पछिल्लो समय गोरु तस्करी बढ्दै जाँदा तस्करले कालीगण्डकी कोरिडोरलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरेका छन् । दाङको भालुवाङदेखि कपिलवस्तु, रुपन्देही, पाल्पा हुँदै कालीगण्डकी कोरिडोर भएर नवलपुरसम्म आउँदा दर्जनौँ ठाउँमा प्रहरी जाँच पार गर्नु पर्छ । पाल्पादेखि नवलपुरसम्मको कालीगण्डकी कोरिडोरकै मात्र कुरा गर्ने हो भने चार ठाउँमा प्रहरी जाँच हुन्छ । 

पाल्पाको रामपुर, नवलपुरको बुलिङटार र डेढगाउँको प्रहरी जाँच पार गर्दै वैशाख २० र २७ गते गोरु लिएर आएका चार वटा ट्रक चितवन हुँदै भारत प्रस्थान गर्ने तयारीमा थिए तर दाङदेखि सहजै प्रहरी नाका पार गर्दै आएका ट्रक २० गते गैँडाकोटमा र २७ गते रामपुरमा समातिए । ‘ट्रकमा गोरु तस्करी भइरहेको विशेष सूचनाका आधारमा हामीले प्रहरीलाई सक्रिय बनाएका थियौँ तर गैँडाकोट आएपछि मात्र प्रहरी तस्करलाई समात्न सफल भयो, नवलपुरका प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो । 

प्रायः फाट्टफुट्ट बस र साना तथा दुईपाङ्ग्रे सवारीसाधन चल्ने कोरिडोरमा कालो प्लास्टिकले छोपिएका शङ्कास्पद ट्रक सबै प्रहरी नाका पार गर्दा पनि प्रहरीले ट्रकभित्र के छ भनेर शङ्कासमेत गर्न नसक्दा गोरु तस्करी सलबलाइरहेको बुझिन्छ । स्थानीयका अनुसार ती ट्रकलाई मोटरसाइकलले स्कटिङ गर्दै पार गराउने गर्छन् । अरू बेला रातमा मात्र यो बाटोमा गुड्ने ट्रक यो पटक भने दिउँसै गन्तव्य पार गर्ने गरेकाले प्रहरी उनीहरूलाई समाउन सफल भएको हो । पछिल्लो पटक नवलपुर नआइपुग्दै गोरु पाल्पामै समातिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी उपरीक्षक नरेन्द्र चन्दले गोरु तस्करीका बारेमा बेला बेला प्रश्न उठ्ने गरेकाले प्रहरीलाई सक्रिय बनाउँदा समाउन सफल भएको बताउनुभयो । 

“अरू बेला जिप्रका पाल्पाले पनि थुप्रै पटक गोरु ओसारपसार गर्नेलाई समाई मुद्दासमेत चलाउने गरेको छ”, प्रहरी उपरीक्षक चन्दले भन्नुभयो, “तर अदालतबाट स्टे अर्डर लिएर आउने गर्छन् । हामी बाध्य भएर पछि हट्छौँ ।” तस्करहरूले कमजोर कानुनको फाइदा उठाउने गरेको उहाँको भनाइ छ । 

प्राथमिकतामा सहायक मार्ग

पछिल्लो समय गोरु तस्करहरूले मुख्य राजमार्गभन्दा सहायक मार्गलाई प्राथमिकता दिन थालेको देखिएको छ । मुख्य राजमार्गमा स्तरोन्नतिको काम पनि भइरहेको र गोरु पास गराउन सहज हुने भएकाले सहायक राजमार्ग प्रयोग हुन थालेको नवलपुर प्रहरीको भनाइ छ । 

पाल्पादेखि नवलपुरसम्मको कालीगण्डकी कोरिडोर भएर गोरु आवतजावत गराउँदा नवलपुर प्रहरीले मात्र पाँच पटकमा ९८ वटा गोरु र नौ वटा गाई तथा पाल्पा प्रहरीले ४३ वटा गोरु नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको प्रहरीको भनाइ छ । 

अधिकतम जरिबाना पाँच हजार

एउटा जिल्लाबाट अर्को जिल्लामा गाईगोरु ढुवानी गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य गरिएको छ तर नियन्त्रणमा लिइएका गोरुको भेटेरिनरी प्रमाणपत्र भएमा थप कारबाही गर्न नसकिने रामनगर, चितवनका भेटेरिनरी प्रमुख डा. कृष्ण पौडेल बताउनुहुन्छ । 

मापदण्डविपरीत ढुवानी भएमा, आवश्यक कागजपत्र नभएमा अधिकतम पाँच हजार रुपियाँ मात्र जरिबाना गर्न पाउने व्यवस्था गरेको भेटेरिनरी प्रमुख पौडेलले बताउनुभयो । गृह मन्त्रालयको निर्देशिकाले आन्तरिक रूपमा गाई, गोरु ढुवानी गर्न पाउने भनेको छ । आवश्यक पर्ने सबै निकायमा दर्ता गरेर पूर्व झापादेखि पश्चिमसम्म नै खरिद बिक्री गर्न पाउने कागजपत्र बनाएका नवलपुर प्रहरीको भनाइ छ । 

तस्करहरूले कागजपत्रसमेत बनाउने, अदालतको आदेश, कर तिरेको राजस्व अनुसन्धान विभागको (भिसिटिएस) समेत लिएर गोरु पठाउने गर्छन् । पाल्पा प्रहरी प्रमुख चन्दका अनुसार पशु चौपाया खरिद बिक्री केन्द्रका नाममा विभिन्न सरकारी निकायमा दर्ता गरेका प्रमाणपत्रसमेत साथमा लिएर गोरुको तस्करी भइरहेको हो ।

स्रोतका अनुसार भारतबाट नेपाल भित्रिएका गोरुको नेपाल हुँदै बङ्गलादेशसम्म तस्करी गर्ने गर्छन् । पछिल्लो समय तस्करहरूले कपिलवस्तु जिल्लाको बहादुरगन्ज क्षेत्रलाई केन्द्र बनाएका छन् ।