• ७ जेठ २०८१, सोमबार

कला र संस्कृतिलाई जनताको अवस्था बदल्ने बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : सञ्चारमन्त्रीको निजी सचिवालय

काठमाडौँ, वैशाख २७ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिजो राजनीतिक व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कला संस्कृतिको क्षेत्र अब परिवर्तित व्यवस्थाअनुकूल जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शर्माले हरेक परिवर्तनका लागि कला, साहित्य र संस्कृति निकै बलशाली हुने बताउनुभयो।

‘‘हिजो हामीले राजनीतिक वा सामाजिक आन्दोलनको बेलामा बोलेका हजार शब्दभन्दा कलाकारले गरेको एउटा प्रस्तुतिबाट जनता प्रभावित भएर परिवर्तनको यात्रामा भाग लिन्थे’’, मन्त्री शर्माले भन्नुभयो,  ‘‘राजनीतिकर्मी, कलाकार, पेसाकर्मी सबैको एकताबद्ध सङ्घर्षको फलस्वरुप राजनीतिक व्यवस्था परिवर्तन भएको छ।तर व्यवस्थाअनुकूल जनताको अवस्थामा परिवर्तन गर्न सकिरहेका छौँ, त्यसैले अबको हाम्रो मिसन जनताको अवस्था परिवर्तनमा केन्द्रित हुनुपर्नेछ ।’’


नेपालको संविधानले मौलिक हकमा धेरै व्यवस्था गरे पनि कार्यान्वयनको पाटो कमजोर देखिएको औँल्याउँदै उहाँले यसमा सरकार वा कुनै निकायले मात्रै भन्दा पनि आम जनताको चेतनामा परिवर्तन ल्याएर मात्रै कार्यान्वयन गर्न सकिने बताउनुभयो।‘‘हामीले मौलिक हकमा छोराछोरीलाई सम्पत्तिमा समान अधिकार, सबैखाले छुवाछूतको अन्त्य जस्ता महत्त्वपूर्ण सवाल समावेश गरेका छौँ’’, मन्त्री शर्माले भन्नुभयो, ‘‘कुनै पनि अधिकार कागजमा लेखेर मात्र हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने आम मानिस दिलदिमागबाटै तयार हुनुपर्छ, त्यसरी तयार पार्ने काममा कला संस्कृति क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ ।’’

संविधान र कानुनलाई व्यवहारमा कार्यान्वयन गरेर मात्रै हिजो गरिएका राजनीतिक आन्दोलन र प्राप्त भएका उपलब्धिलाई अर्थपूर्ण बनाउन सकिने उल्लेख गर्दै उहाँले यसका लागि सबै पक्षको साझा अभियान जरुरी रहेको बताउनुभयो ।

नेपाली समाजमा मादल जस्ता वाद्यवादका साधनको ठुलो भूमिका रहेको औँल्याउँदै उहाँले तीज होस् वा अन्य चाडपर्वमा महिलाले आफ्नो प्रतिभा प्रस्फुटन गर्दै महत्त्वपूर्ण माध्यम र संस्कृतिको निरन्तरताको साधन मादललाई बनाउँदै आएको स्मरण गर्नुभयो।

यसलाई महिला सशक्तीकरणको आधारको रूपमा पनि लिन सकिने उल्लेख गर्दै उहाँले गाउँठाउँका प्रतिभा खोजेर राष्ट्रिय प्रतियोगिता गराएकोमा आयोजकलाई धन्यवाद दिनुभयो।