• ६ जेठ २०८१, आइतबार

पुटिनको अर्थनीति

blog

रुसको अर्थव्यवस्था मजबुत बनाउने कार्यमा पुटिनले निर्वाह गरेको भूमिकालाई प्रशंसा नगरी रहन सकिँदैन । मलेसियाको महाथिर, ब्राजिलको लुला, टर्कीका एर्डोगान जस्तै पुटिनलाई पनि एक आर्थिक सुधारका पक्षधर राजनीतिक नेताका रूपमा लिने गरिन्छ । पुटिनलाई रुसबाहिर पाकिस्तान, जर्मनीका दक्षिणपन्थी पार्टीहरूले बढी मन पराएको देखिन्छ । पुटिनलाई आवश्यकताले जन्माएको एक सुधारवादी नेता, राष्ट्रवादी र व्यवहारवादी नेताका रूपमा लिने गरिन्छ । सन् २०१४ मा धेरै पत्रपत्रिकाले पुटिनलाई विश्वकै सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा चित्रण गरेको थियो किनभने पुटिनले रुसलाई स्थायित्व प्रदान गरे ।

सन् १९९० को दशकमा साम्यवादी अर्थव्यवस्थाबाट बजार व्यवस्थामा रूपान्तरण हुँदा रुसका तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले रुसको अर्थव्यवस्थालाई एक प्रकारले धराशायी नै बनाए । शीतयुद्धको अन्त्यसँगै रुसको केन्द्रीकृत योजना प्रणालीबाट बजार अर्थतन्त्रमा भएको रूपान्तरणले भियतनाम र चीन जस्ता देशको तुलनामा सुखद रहन सकेन । सन् १९९८ मा रुसको मुद्रा रुबलको मूल्य अमेरिकी डलरको तुलनामा धेरै घट्यो, जसले रुसमा मुद्रा सङ्कट नै देखा प¥यो । यही वर्ष रुसले विदेशी ऋण तिर्न सकेन । रुसका लागि सन् १९९२ आर्थिक इतिहासमा सबभन्दा कठिन वर्ष साबित हुन पुग्यो । सन् १९९४ मा रुसमा पनि मुद्रास्फीति दर तीन अङ्क नाघेको थियो । वस्तुमा आधारित अर्थव्यवस्था भएको देश रुस यसरी धराशायी हुनुमा समष्टि आर्थिक व्यवस्था सञ्चालनमा आएको कमजोरी नै हो ।

केन्द्रीकृत योजनाको दबदबा भएको बेलामा र ठुला उद्योगहरू; जसले ट्रक, ट्याक्टर, क्षेप्यास्त्र आदि उत्पादनबाट अर्थव्यवस्थालाई समृद्ध बनाउने आर्थिक नीति कार्यान्वयन हुँदा रुसी अर्थव्यवस्था विश्वमा निकै चम्केको थियो । करिब १५ करोड जनसङ्ख्या रहेको रुसको चालु मूल्यको कुल गार्हस्थ उत्पादन करिब चार हजार अर्ब अमेरिकी डलर बराबर रहेको पाइन्छ । अहिले रुस विश्वको एघारौँ ठुलो अर्थव्यवस्थाका रूपमा रहेको छ । रुसले खास गरेर कच्चा तेल, ग्यास, खाद्यान्न, रासायनिक मल, निकल र सुन तथा अन्य खानीजन्य पदार्थ निर्यात गर्दछ । 

सन् २००३ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि पुटिनले पश्चिमी देशले अपनाएको संरचनागत सुधारका कार्यक्रमबाट नै रुसको अर्थव्यवस्थालाई लयमा फर्काएका थिए । प्राकृतिक ग्यास उत्पादनमा विश्वकै दोस्रो ठुलो देश र तेल उत्पादनको हिसाबले विश्वकै तेस्रो ठुलो देशका रूपमा विश्वसामु रुस उभिएको छ । खानीमा आधारित उद्योग, हातहतियार र अन्तरिक्षसम्बन्धी उद्योग नै रुसको मूल उद्योग मानिन्छ । तेल निर्यातबाट रुसले आधा जस्तो राजस्व प्राप्त गर्दछ भने ग्यास निर्यातबाट पनि राजस्व प्राप्त गर्छ । सरकारको राजस्वको आधा जस्तो भाग इन्धन क्षेत्रबाट प्राप्त हुन्छ ।

आर्थिक सुधारको माध्यमबाट सन् २०१५ सम्ममा रुसलाई १२० औँ स्थानबाट ५१ औँ स्थानमा पु¥याउन पुटिन सफल भएको विश्व बैङ्कको एक अध्ययनले देखाएको छ । पुटिनले रुसलाई कम आय भएको देशबाट मध्यम आय भएको देशमा परिणत गर्न सफलता प्राप्त गरेका थिए । सन् २००० को तुलनामा सन् २०१० मा रुसको अर्थव्यवस्थाको आकार दोब्बर भएको थियो र रुसी जनताको आम्दानी पाँच गुणाले बढेको थियो । यसलाई तत्कालीन समयमा उत्साहप्रद मानिएको थियो । पुटिन अहिले रुसको अर्थव्यवस्थालाई विश्वकै पाँचौँ ठुलो अर्थव्यवस्था बनाउने लक्ष्य लिएर अगाडि बढेको पाइन्छ ।

सन् २०१४ मा पुटिन युक्रेनको सेना र जनताको प्रतिरोधबिना नै क्राइमियालाई रुसमा गाभ्न सफल भए र यो घटनाले रुसलाई पुनः विश्वशक्तिमा रूपान्तरण गरिदियो । क्राइमिया रुसमा गाभेपछि पश्चिमका देशले लगाएको नाकाबन्दीले रुसको अर्थतन्त्रमा खासै असर पुगेको देखिँदैन । रुसले पश्चिमी मुलुकबिनाको अर्थतन्त्र पनि सफलतापूर्वक सञ्चालन गरेको पाइन्छ । युक्रेनलाई आर्थिक, सामाजिक र राजनीतिक रूपले गाभ्ने उद्देश्यले सन् २०२२ मा रुसले दोस्रो आक्रमण गरेको थियो । युक्रेनमाथि गरेको आक्रमणपछि पनि पश्चिमी देशहरूले लगाएको नाकाबन्दीले रुसको अर्थव्यवस्थामा कुनै असर गरेन । 

पश्चिमी देशले यो नाकाबन्दीलाई नाकाबन्दीका रूपमा नलिइकन एक प्रकारको संस्थागत बहिष्करणका रूपमा लिनुपर्ने राय एक जना अमेरिकी प्राध्यापकले दिएका छन् । यो नाकाबन्दीपछि करिब १४ सय विदेशी कम्पनीले रुस छोडे । उनीहरूले आफ्नो कम्पनी सस्तोमा रुसी धनाढ्यलाई बेच्नु प¥यो । ती धनाढ्यलाई धेरै घाटा भयो । पुटिनले यस्ता कम्पनी सञ्चालन गर्न ती धनाढ्यलाई परिचालित गरेका थिए । यसबाट रुसी अर्थव्यवस्थामा हुने नोक्सानी कम भएको थियो ।

रुसले यो नाकाबन्दीपछि चीन र भारत जस्ता विश्वका ठुला अर्थतन्त्र भएको देशसँग आफ्नो आर्थिक सम्बन्ध विस्तार गरेको पाइन्छ । भारतलाई कच्चा तेल आपूर्तिमा पहिला साउदी अरेयिबा, इरान जस्ता देशहरूको महìवपूर्ण हिस्सा रहेकोमा अब रुसको हिस्सा महत्वपूर्ण रहेको छ । पश्चिमी देशहरूको नाकाबन्दीको लाभ उठाउँदै चीनले मात्र रुसमा तीन लाख वटाभन्दा बढी कार निर्यात गरेको छ । चीनले पनि रुससँग मनग्गे मात्रामा कच्चा तेल किनेको पाइन्छ । ग्यास र तेल निर्यात गरेरै भए पनि रुसले ६३० अर्ब डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चिति राखेको छ । यसमध्ये तीन सय अर्ब अमेरिकी डलर युरोप र अमेरिकामा रहेको र ती देशले आर्थिक नाकाबन्दीको कारण उक्त रकम दिन सकेका छैनन् । कानुनी अड्चनले ती देशले यो रकम जफत गर्न पनि सकेका छैनन् ।

पुटिनले रुसको कर प्रणालीमा सुधार मात्र गरेनन्, उनले तेलबाट प्राप्त नाफालाई होसियारीपूर्वक खर्च गरेका थिए । पुटिनले सुरुमा एकमुस्ट १३ प्रतिशतको आयकर लगाइयो । पुटिनलाई आर्थिक सुधारमा एक प्रकारले नथाकिने राजनेताका रूपमा लिइन्छ । उनले सरकारी ऋण घटाउन पनि धेरै सफलता प्राप्त गरे । रुसको तेलबाट प्राप्त नाफाले नयाँ उद्योगहरू खोल्न लगाए । तेलको मूल्य बढी भएको बेलामा रुसले कमाएको विदेशी मुद्राबाट पेन्सनको रकम बढाएर जनताको मन जित्न सफल भए । 

रुसको अर्थव्यवस्थालाई चुलबुले अर्थव्यवस्था मानिन्छ । किनभने कच्चा तेलको मूल्य घट्नासाथ रुसको कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आम्दानी र सरकारी राजस्व जस्ता सबै समष्टिगत आर्थिक चरहरूमा नकारात्मक प्रभाव परिहाल्छ । उदाहरणका लागि तेलको मूल्यमा सन् २००४ र २०१४ मा आएको गिरावटले रुसीको प्रतिव्यक्ति आम्दानी १४ हजार अमेरिकी डलरबाट घटेर आठ हजार अमेरिकी डलर भएको थियो । रुसले अँगालेको संरक्षणवादी नीतिलाई पनि विश्वभरि नै आलोचना नगरिएको होइन । सन् २००८ देखि २०१५ सम्म रुसले पाँच सय वटाभन्दा बढी वैदेशिक व्यापारमा संरक्षणका उपाय अपनायो, जुन तत्कालीन भारतको भन्दा कम हो । 

जीवांश इन्धनमा आधारित रुसी अर्थव्यवस्थाले अहिले जलवायु परिवर्तनका प्रतिबद्धतामा त्यति चासो राखेको पाइँदैन । किनभने सोलार जस्ता ऊर्जामा जोड दिएमा रुसी अर्थव्यवस्था फेरि धराशायी हुन बेर लाग्दैन । न्युयोर्क टाइम्सका एक स्तम्भकारले राजनीतिमा चासो नभएका व्यक्तिका लािग रुसमा पुटिनको कार्यकाल सबभन्दा सम्पन्नताको अवस्था रहेको टिप्पणी गरेको छ । एउटा सामान्य मान्छेले पहिला आर्थिक सुरक्षा हेर्छ र अनि पछि अरू कुरा खोज्छ भन्ने कुरालाई पुटिनले रुसमा सत्य साबित गरिदिएका छन् ।   

Author

नरसागर श्रेष्ठ