• ६ जेठ २०८१, आइतबार

इनरुवा नगर शैक्षिक सुधार गर्न ध्यानाकर्षण

blog

जयकृष्ण यादव 

इनरुवा, वैशाख २३ गते । इनरुवा नगर शैक्षिक सुधार अभियानले इनरुवा नगरपलिकाका प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरप्रमुख भण्डारीलाई अभियानका संयोजक दिलिपचन साहु नेतृत्वको अभिभावक तथा अभियानकर्मीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो ।

इनरुवा नगरपालिकाका ३० सामुदायिक विद्यालय र ४५ भन्दा बढी निजी विद्यालयको शिक्षा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको साहुले जानकारी दिनुभयो । साहुले ध्यानाकर्षण गराएको बुँदाहरुमा विगतमा बुझाएको ज्ञापनपत्र, मागपत्र र सुझाव पत्रको पूर्ण कार्यान्वयन गर्नुपर्ने, कक्षा ८ को गैरकानुनी चार वटा विषयको ग्रेड वृद्धि परीक्षाको विषयमा छानविन गर्नुपर्ने, पाठ्पुस्तक समयमा वितरण नगर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, खाजामा भइरहेको अनियमितताको विषयमा छानबिन गरी कारबाही गर्नुपर्ने, खाजाका लागि आएको बजेट शिक्षक र समितिलाई थाहा नदिनेले त्यसमा पारदर्शिता ल्याउनुपर्ने माग गरिएको जानकारी दिनुभएको छ । 

त्यसैगरी सामुदायिक विद्यालायका विद्यार्थीको श्रमशोषण (सरसफाइमा लगाउने तर साबुन, ग्लोब नदिने, गालीगलौज गर्ने ), सरस्वती मावि बबियामा समयानुकूलको आवश्यक भएको लेखा विषय हटाउने र बेकामे विषय लगाएर विधार्थी अभिभावकलाई मारमा पार्ने काम बन्द गर्नुपर्ने समेत माग गरिएको छ । उक्त पत्रमा बिदामा रहेको शिक्षकलाई कागजमा काज देखाउने र केहीले घर तथा पढ्न गएको, साथीलाई भेट्न गएको शिक्षकलाई काज देखाएकोले लगबुकको व्यवस्था गर्नुपर्ने, बिना वार्षिक कार्य योजना शैक्षिक सत्रलाई मजाक बनाएको तथा कतै धेरै शिक्षक त कतै विषयगत शिक्षक अभाव रहेको, कतै शिक्षक नेता हावी भएकोले सबैलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ । 

यहाँका कतिपय विद्यलायमा असमान घण्टी वितरण भएको, प्रधानाध्यापक र शिक्षकको बिचमा तालमेल नमिलेको र कतै तालमेल मिल्दा सरकारी सम्पत्तिको दुरुपयोग गर्ने र भ्रष्टाचार गर्ने गरेको उदाहरण रहेकाले छानबिन गर्नुपर्ने समेत माग उठाएको छ । विद्यालयलाई पान, खैनी, चुरोट, गुठखा मुक्त बनाई विधालयमा बालमैत्री वातावरण बनाउनुपर्ने, बाहिर निजी स्कुल कजेलमा पढाउने तथा सरकारी स्कुलमा आएर आराम गर्ने प्रवृत्ति हावि भएको, एउटै विद्यालय उही कक्षामा फरकफरक भाषामा पढाइ भएको (पैसा तिर्नेले अङ्ग्रेजीमा र नतिर्नेलाई नेपालीको माध्यममा) यो विभेदकारी कार्य बन्द गर्नुपर्ने सुझाव दिएको छ । 

केही ठाउँमा बालबालिकालाई आएको खाजा आफैं प्रअ वा शिक्षकको हैसियतमा गैरकानुनी रुपमा खाएको गुनासो रहेकाले यसमा सुधार गर्नुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी र विव्यसकै छोराछोरी सामुदायिक विधालयमा नपढाउने र अभिभावकले पट्कै चासो नराख्ने प्रवृत्ति रहेकाले अभिभावक शिक्षा तथा जागरणका कार्यक्रम नगरपालिकाले गर्नुपर्ने सुझाव ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सहभागीहरुले इनरुवा नगरपालिकाको शिक्षाको बेथितिमा सुधार, शैक्षिक गुणस्तरका बारेमा सार्थक र सकारात्मक प्रयासमा रहेको भए पनि राम्रो नपढाएको गुनासो गरेका थिए । यस्तै अभियानको क्रममा शिक्षाको सुधारका लागि सरकारी नीति, ऐन, कानुन र संविधानमा भएको व्यवस्थालाई मात्रै कार्यान्वयनको कुरा उठाएको सहभागी देवकृष्ण मेहताले बताउनुभयो । मेहताले पटक पटक बुझाएको ८ बुँदे, १९ बुँदे र ३९ बुँदे मागहरुको सम्बोधनका लागि एक हस्ते समय सीमासहितको ध्यानाकर्षण पत्र बुझाएको हो । 

इनरुवामा शिक्षा ऐन, कार्यविधि, विद्यालय अनुगमन, शिक्षकलाई पुरस्कार र दण्डको नीति कुनै पनि कार्यान्वयन भएको छैन । त्यसैले नगरको शिक्षा विगतभन्दा पनि खस्कँदै गएको सहभागीहरुले दावी गरेका थिए । हालै कक्षा ८ मा निजी तथा सामुदायिकका गरि एक हजार ३३८ जना परीक्षार्थीमध्ये ६४९ जना मात्र उत्तीर्ण भएको यसको ज्वलन्त उदाहरण भएको उल्लेख गरेको छ । नगरपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये उत्तीर्ण भएका भन्दा अनुत्तीर्ण बढी देखिएका छन् ।

नगरको सूचना अनुसार ११ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विद्यालय गरी ३७ विद्यालयका कुल एक हजार ३३८ जना परीक्षार्थीमध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ सरस्वती मावि बबियाबाट ८२ जनामध्ये १०, भगवती माविबाट ५७ जनामध्ये १६ जना, जनता मावि मधेशाबाट ७८ जनामध्ये ७ जना, शारदा मावि बलाहाबाट १६६ जनामध्ये ८४ जना, त्रिभुवन मावि डुम्राहामा ८६ जनामध्ये ४ जना, राजाजी माविमा २८ जनामध्ये १९ जना, बालमन्दिर माविबाट १०४ जनामध्ये २२ जना, श्री नेपाल राष्ट्रिय हरि मावि चाँदबेलाबाट २७ जना मध्ये ३ जना, ज्ञानोदय आधारभूत विद्यलायबाट ३० जनामध्ये ५ जना, वीपी आवि इनरुवा ८ बाट १५ जनामध्ये १ जना, गणेश नेपाल राष्टिय आधारभूत विद्यालय गणेशपुरबाट ३४ जनामा एकै जना पनि उत्तीर्ण भएनन् । यो सामुदायिक विद्यालय अन्तर्गत सञ्चालित कक्षा ८ को परीक्षामा ७०७ जना परीक्षार्थीमध्ये १७१ जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ उत्तीर्ण भएका भन्दा अनुत्तीर्ण भएको सङ्ख्या धेरै अर्थात् ५३६ रहेका छन् । समग्रमा सामुदायिक विद्यालयतर्फ उत्तीर्ण दर २४ प्रतिशत छ । 

यो नतिजाका धारमा विद्यालयहरुलाई सचेत गराउनुपर्ने, कार्वाही गर्नुपर्नेमा नगर परीक्षा समितिको बैठकले गैरकानुनी रुपमा बढीमा दुई विषयसम्ममा ग्रेड वृद्धि परीक्षा लिनुपर्नेमा चार विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय गरेको भन्दे त्यसको भन्दा विडम्बना अरु के हुन सक्छ ? भन्दै स्थानीय अभियानकर्मीहरुले प्रश्न उठाएका छन् ।