• ५ जेठ २०८१, शनिबार

खस्रेभिरमा मह सिकार

blog

गोरखाको अजिरकोट–२, ओलाङगाउँस्थित खसे्रभिरमा डोरीको सहायतले भिरमौरीको मह सिकार गरिँदै ।

गुणबहादुर रोका 

सुलीकोट, वैशाख २३ गते । गोरखाको अजिरकोट–२, ओलाङगाउँस्थित करिब आठ सय मिटर उचाइमा रहेको डरलाग्दो खसे्रभिरमा डोरीको सहायताले भिरमौरीको मह सिकार ‘हनी हन्टिङ’ गरिएको छ । 

अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बिहीबार ओलाङवासीमध्ये भिरमा डोरीको सहायताबाट मह झिक्न सक्ने ११ जना दक्ष अनुभवी व्यक्तिको सहायताले मह सिकार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भिरमौरीको मह उत्पादन गर्ने सही समय भएकाले झन्डै छ पाथीभन्दा बढी मह सङ्कलन गरिएको छ । जटिल भिरमा जाँदा पनि जम्मा पाँच वटा गोलाको मात्र मह सङ्कलन भएको छ । अझै केही गोलाको महको सिकार नगरिएको उहाँले बताउनुभयो । 

अहिले भिरमौरीको महको माग बढेकाले एक मानाको दुई हजारभन्दा बढी मूल्यमा बिक्रीवितरण हुने गरेको पाइएको छ । भिरमौरीको मह अत्यधिक मात्रामा पाइने त्यस क्षेत्रको संरक्षणका लागि योजना बनाएर बजेट व्यवस्थापन गरिएको छ । 

गत वर्ष ओलाङवासीले याम मिलाएर मह झिक्ने गरेका थिए । यस वर्षबाट गाउँपालिकाले बजेट व्यवस्थापन गर्दै त्यसलाई अबदेखि व्यावसायिक बनाई स्थानीयको आयआर्जन वृद्धिका लागि पहल गराउने उद्देश्यसहित यस पटक विशेष कार्यक्रम गरेर मह सिकार गरेको गाउँपालिकाका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

गाउँपालिकाले भिरमौरीको मह सिकारका लागि आधुनिक आवश्यक सामग्री खरिद गरेर वितरण गरेको छ । मह सिकार गरिने क्षेत्रमा गाउँपालिकाले गोरेटो बाटो निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । यसले यहाँ आउने आन्तिरिक तथा बाह्य पर्यटकका लागि मह सिकार गर्ने भिर अवलोकन गर्नका लागि आउजाउ गर्न सजिलो हुने गरी व्यवस्था गरिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । अबका दिनमा गाउँपालिकाले हरेक वर्ष एक दिन ‘हनी हन्टिङ’ लाई महोत्सवका रूपमा अगाडि बढाउने उहाँको भनाइ छ । 

अजिरकोट गाउँपालिकाको ओलाङ भन्ने ठाउँ गोरखाका दुई वटा क्षेत्रमध्ये २ नम्बर क्षेत्रको सबैभन्दा उपल्लो भेग भएकाले पर्यटकका लागि पनि प्रमुख गन्तव्यका रूपमा लिने गरिन्छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ओलाङगाउँलाई नमुना गाउँका रूपमा विकास गर्न यहाँ व्यावसायिक ट्राउट माछापालन, होमस्टे सञ्चालन, स्थानीय जडीबुटीको उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालनका लागि एक करोड रुपियाँ बजेट विनियोजन भएको छ ।