• ५ जेठ २०८१, शनिबार

प्रकोपविरुद्ध रैथाने प्रविधि

blog

पानीको सांस्कृतिक पक्षलाई संरक्षण र सम्मान गर्दै यसको उपयोगबाट जीवन र जीविकोपार्जनलाई सहजीकरण गर्ने हाम्रो परम्परा हो । पछिल्लो समयमा पानीको जैविक तथा मानवीय पक्षसँगै यसको आर्थिक आयाम पनि महत्वका साथ चर्चा गरिन्छ । पानीको धार्मिक तथा सांस्कृतिक आयामलाई आधुनिक राज्यको कानुनले समेत नकार्न सकेको छैन । पछिल्लो समय विश्वव्यापी चर्चा र चासोका रूपमा रहेका वातावरणीय सन्तुलन, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा पनि पानीलाई एक महत्वपूर्ण तर जोखिमयुक्त तत्वका रूपमा लिइन्छ । 

स्वच्छ पानीको उपलब्धताका आधारमा राम्रो अवस्था रहेको भनिएको हाम्रो मुलुकमा पानीको भौगोलिक र समयबद्ध उपलब्धता, गुणस्तर, स्रोत परिचालन र पानीजन्य विपत्का घटनाका कारण पानी व्यवस्थापन आफैँमा चुनौतीपूर्ण कार्य हो । सन् १९९० को राजनीतिक परिवर्तनपश्चात् भौतिक विकासनिर्माण कार्यमा चौतर्फी लगानी तथा चासो बढेको र विकासका सूचकाङ्कमा उल्लेख्य उपलब्धि हासिल भएको तथ्याङ्क देखिन्छ । तथापि पानीको दीर्घकालीन संरक्षण, दिगो विकास र प्रदूषण नियन्त्रणमा उल्लेख्य चासो र प्रगति हासिल गर्न कठिनाइ परेको छ । 

उपत्यकाको नदी प्रणालीको उत्थान आफैँमा एउटा ठुलो चुनौतीपूर्ण कार्य रहँदै आएको छ । मनसुनको समयमा पहाडमा जोखिमपूर्ण पहिरो र खहरेको ताण्डव अनि तराई र सहरका अधिकांश भूभागमा हुने डुबानका समस्याबाट समुदायले भोग्ने कष्ट एकातिर छ भने अर्कोतिर जलवायु परिवर्तनको प्रतिकूल असरका रूपमा व्याख्या गरिँदै आएको वर्षाका चरम प्रकृतिका घटनाको वृद्धिले सिँचाइ प्रणाली, जलविद्युत् उत्पादन केन्द्रहरू तथा खानेपानी आपूर्ति प्रणालीको कार्यक्षमतामा ह्रास मात्रै होइन, तिनको सान्दर्भिकता र औचित्यमा समेत प्रश्न उठ्ने जोखिम बढेको छ । यी यावत् चुनौतीसँग जुधेर त्यसबाट हामीले हाम्रो अपार भनिएको जलस्रोतको उपलब्धतालाई मुलुकको समृद्धिको आधार प्रमाणित गर्न एक पटक एक कदम पछाडि फर्किएर हाम्रा विकासे नीति, कानुनी प्रबन्ध, अभ्यासका अनुभवहरू, परम्परागत रैथाने ज्ञान र सुधारका सम्भावनाको खोजी गर्नैपर्ने बेला भएको छ ।

पोखरी संस्कृति

भूमध्यसागर वरपर पोखरीमा पानी जम्मा गर्ने प्रचलन सुरु भएको नौ हजार वर्ष पुरानो इतिहास भए पनि नेपालमा भने लिच्छवि वंशीय शासनको बेला करिब नौ सय वर्ष पहिलादेखि पोखरी संस्कृति भित्रिएको दस्ताबेज भेटिन्छन् । चर्चित पानी अध्येता तथा खोजकर्ता साफल्य अमात्यको दाबी अनुसार भने उपत्यकामा त्यो समयभन्दा धेरै अघि नै पोखरी निर्माण भएको इतिहास छ (मधुकर उपाध्याय, २०६९) । पहाडमा पानी पोखरी निर्माण र संरक्षण परम्परागत समाज र समुदायको अभिन्न सांस्कृतिक आभूषणका रूपमा रहँदै आएको हो । 

लामो यात्राका बटुवाको बिसौनी, स्थानीय खेतीपाती, कामकाज र धार्मिक एवं सांस्कृतिक क्रियाकलापलाई सहयोग पुग्ने गरी चौतारी निर्माण गरी वरपिपलको रुख रोप्ने अनि सँगै पोखरी खनेर बर्खाको पानी सङ्कलन गर्ने परम्परा अहिले लगभग लोप भएको मात्रै होइन, विकासनिर्माणको व्रmममा यस्ता संरचना मासिने रफ्तार तीव्र गतिमा रहेको छ । पहाडी क्षेत्रमा यस्ता पोखरीले बर्खाको बेला पानी सङ्कलन गरिराख्ने र हिउँदको सुक्खा समयमा त्यसको बहुउपयोग हुने प्रचलन थियो । 

बर्खाको बेलामा पहाडी भूभागमा परेको वर्षाको ठुलो अंश यस्ता पोखरीमा जम्मा हुनाले ठाडो भिरालो र कमजोर जमिनमा भूस्खलनको समस्यामा स्वतः कमी आउने मात्र होइन, मलिलो माटो बगाएर टाढा पु¥याउनबाट बचाउँथ्यो र माटोको उर्वराशक्ति जोगाइराख्न ठुलो मद्दत मिल्थ्यो । भदौ महिनापश्चात् मनसुनको पानी कम हुँदै जाँदा पोखरीमा जम्मा भएको पानीले जमिनको चिस्यान कायम राख्न मद्दत गरी कृषि बालीलाई सहयोग पुग्ने गर्दथ्यो । आवश्यक परेको बखत सिँचाइकै लागिसमेत उक्त पानी प्रयोग गर्ने अभ्यास थियो । हिउँद लाग्दै गर्दा कृषि र पशुपालनमा निर्भर पहाडमा पिउने पानीको अभाव हुँदै जान्थ्यो अनि घरपालुवा पशुलाई पिउन, आहल बस्न तथा वरिपरिको प्राकृतिक वातावरणलाई सुक्खा हुनबाट यस्ता पोखरीमा जम्मा भएको पानीले ठुलो योगदान दिने गर्दथ्यो ।

अग्ला अग्ला पहाडका टुप्पामा अझै पनि सानाठुला पोखरी देखिन्छन् । ती पोखरीका कारण जलचर, वन्यजन्तु तथा स्थानीय पर्यावरणको अस्तित्व बचाउन मद्दत पुगेको हुन्छ । कतिपय स्थानको नामसमेत यिनै पोखरीकै नामबाट राखिएको हुन्थ्यो । बस्तीको नजिक रहेका पोखरीमा जम्मा भएको पानीले बस्तीमा हुन सक्ने आगलागीका घटनामा उद्धार गर्नसमेत उपयोग हुने गरेका थिए तर अहिलेको परिवेशमा त्यस्ता पोखरीको संरक्षण हुन सकेन र अस्तित्वसमेत मेटिँदै गएको छ । उपत्यकामा रहेका विभिन्न पोखरीमध्ये केही पोखरी अहिले पनि कुनै न कुनै रूपमा संरक्षित भएकाले ती पोखरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको बिन्दु बनेका छन् । 

पहाडी तथा ग्रामीण क्षेत्रमा भएका परम्परागत पोखरी खेल मैदान, सडक निर्माण, सामुदायिक भवन निर्माण जस्ता कार्यका नाममा नामोनिसान मेटिँदै गएका छन् । तराई क्षेत्रमा अहिले व्यावसायिक मत्स्यपालनका लागि ठुला ठुला पोखरी निर्माण गर्ने प्रचलन बढे पनि सामुदायिक हितका लागि निर्माण भएका परम्परागत पोखरी जोगाउन कठिनाइ परिरहेको छ । पछिल्लो समयमा केही पहाडी क्षेत्रमा पुराना पोखरीको पुनस्र्थापना र सिँचाइका लागि पोखरी निर्माण गर्ने अभ्यास पनि भएका छन् । सिँचाइका लागि पोखरी निर्माण गर्दा रैथाने विधि र सामग्रीभन्दा पनि सिमेन्ट तथा प्लास्टिक प्रयोग गरिने भएकाले यसले परम्परागत पोखरीको तिर्सना भने मेट्न सक्दैन ।

बाढी र पोखरी

बाढी नियन्त्रणका लागि पोखरी संस्कृति प्रभावकारी विधि हो भन्ने तथ्य बुझ्न हामीलाई ढिला भइसकेको छ । सहरी बाढी काठमाडौँ उपत्यका वा नेपालको मात्र नभई विश्वका विकसित मुलुकहरूका लागि पनि ठुलो चुनौतीका रूपमा देखा परेको छ । उपत्यकाको भौगोलिक अवस्थालाई नियालेर हेर्ने हो भने परम्परागत रूपमा यसको वरिपरि भित्तामा खेती गर्ने र समथर भूभागमा मात्रै ठुलो बस्ती रहेको र ती बस्तीबिचमा पनि नदी प्रणालीको सघन सञ्जाल रहेकाले केही दशकअघिसम्म सहरी क्षेत्रमा बाढी तथा डुबानको समस्या थिएन । 

खेती प्रणाली भएको जमिनमा परेको पानी यसले सोसेर लिने अनि खेतका हरेक गरो आफैँमा साना पोखरी जस्ता थिए । जमिनमा परेको पानीको ठुलो हिस्सा जमिनमा सोसिएर जाने, खेतका आली तथा गरोमा पानी केही समय जमेर रहने अनि केही समयपछि वा ठुलो वर्षा भएपछि मात्र बगेर नदी प्रणालीमा पुग्ने हुनाले नदी प्रणालीमा बाढीका घटना देखे पनि बस्तीमा डुबानको समस्या उपत्यकावासीले बेहोर्नु परेको थिएन । 

यसरी पानी जम्दा जमिनको चिस्यान लामो समय रहने; जसले गर्दा केही समय पानी नपर्दा पनि कृषि बालीमा प्रतिकूल असर पर्दैनथ्यो अनि भूमिगत जल भण्डार पुनर्भरणमा पनि सघाउ पुग्ने गर्दथ्यो । पछिल्लो समय सडक निर्माणलाई नै विकासको पर्याय मानिएको छ । पहाडी भूधरातलको संवेदनशीलता ख्याल नगरी रेखाङ्कन तथा विस्तार गरिएको सडक सञ्जालले परम्परागत पानी निकासलाई नै पथान्तरण गरिदिएको छ । यसले स्थानीय स्तरमा भूक्षय तथा पहिरो अनि बाढीका घटनालाई बढाएको तितो यथार्थ हो । 

पहाडी क्षेत्रमा पानीको मूल, पानीको परम्परागत निकास प्रणाली तथा भौगोलिक अवस्थितिको अध्ययन गरी सो अनुसार एकीकृत पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गर्न सकिएको भए सो अनुसार परम्परागत पोखरी संरक्षण हुने मात्र होइन, विकास पनि हुने थिए । पोखरी निर्माणले बर्खाको समयमा पानी भण्डारण हुने, पानीको वेग नियन्त्रण हुने, पर्यावरण संरक्षण अनि नदी प्रणालीमा बर्खाको पानी पुग्ने समय घट्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा बाढी नियन्त्रणमा ठुलो योगदान पुग्ने थियो । उपत्यका तथा तराई क्षेत्रमा निर्माण हुने यस्ता पोखरीले बाढी नियन्त्रणका अलावा भूमिगत जलस्रोत पुनर्भरणमा समेत उल्लेख्य योगदान पु¥याउन मद्दत गर्न सक्छन् । 

पोखरी, बाढी नियन्त्रण र पुनर्भरण

तराईमा सिँचाइ र उपत्यकामा पिउने पानीका लागि भूमिगत स्रोतको अत्यधिक दोहनले यसको भण्डारण घटाएको मात्र नभई भौगर्भिक जोखिमसमेत बढाएको अध्ययनले देखाएका छन् । पोखरी निर्माणलाई अभियानका रूपमा सुरु गर्ने हो भने यस्ता क्षेत्रमा बाढीको जोखिम घटाउने र भूमिगत पानीको भण्डारलाई सन्तुलित राख्न योभन्दा सुलभ र बहुउपयोगी विधि अर्को हुनै सक्दैन । सहरी बाढी एवं डुबान नियन्त्रण र भूमिगत स्रोतको पुनर्भरणका लागि हरेक घर तथा भवनलाई अनिवार्य बर्खाको पानी सङ्कलन, उपयोग र पुनर्भरणको संरचना र संस्कृति निर्माण गर्न प्रोत्साहन गर्न सकिन्छ । 

पहाडमा ‘एक बस्ती एक पोखरी’, तराईमा ‘एक घर एक पोखरी’ र सहरमा ‘हरेक घर वर्षात्को पानीको भर’ भन्ने संस्कृतिको विकास गर्नु जरुरी छ । पोखरी संस्कृतिको विकासले मात्रै हामीले बाढीका घटनामा कमी ल्याउन तथा त्यसका प्रतिकूल प्रभाव घटाउन अनि पर्यावरण संरक्षण र पुनर्भरण बढाउन सफल हुने छौँ । अन्यथा जब पोखरी लुप्त हुँदै जाने छन्, बाढीका घटना र असर बढ्दै जानु स्वाभाविकै हो । वैदेशिक पुँजी, प्रविधि र परिवेशका महँगा आयोजना हाम्रो परिवेशका लागि परिकल्पना र अपेक्षा गर्नुभन्दा हाम्रो जस्तो भौगोलिक संवेदनशीलता, सीमित स्रोतसाधन, प्रविधि अनि पानीमा निर्भर जीविकोपार्जन र संस्कृति भएको मुलुकका लागि हाम्रै मौलिक अनुभवसिद्ध प्रविधिको पहिचान, संरक्षण र विस्तार गर्नु नै उपयुक्त विकल्प हुन सक्छ ।

Author

हरिबहादुर थापा