• ११ वैशाख २०८२, बिहिबार

चार महिना म्याद छदै बन्यो पुल

blog

अमरराज नहर्की

तनहुँ, वैशाख ११ गते ।  तनहुँको व्यास नगरपालिका स्थित बुल्दीखोलमा ठेक्का अवधि भन्दा चार महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ । ज्वालामुखी कन्स्ट्रक्सनले  तीव्र काम गरेर पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माण भएसँगै उपभोक्ता खुसी भएका छन् ।

 आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता सम्झौता भएको थियो । तर सम्झौता भन्दा चार महिना अगावै पुल सम्पन्न गरेको व्यास नगरपालिकाले जनाएको छ । वैशाखदेखि पुल निर्माण कार्य सुरु गरी एक वर्ष भित्र सम्पन्न गर्न सकिएको  ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी  दिनुभयो । व्यास नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने बुल्दी खोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा  निर्माणाधीन पुल सम्पन्न भएको हो ।

निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्त्वपूर्ण तवरबाट निर्धारित समय भन्दा अघि काम पुरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । समयावधि अघि गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । हाल पुल निर्माण गरिएको स्थान नजिक कज वे बाट [पाइप राखेर बनाइएको अस्थायी संरचना] सवारीसाधन आवतजावत हुँदै आएको थियो ।

पुल बनेसँगै व्यास नगरपालिका–१ मा निर्माण गरिएको बसपार्कमा सवारी पार्किङ गर्न तथा स्थानीय बासिन्दालाई आवत जावतको लागि सहज भएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ ।  पक्की पुल निर्धारित समय भन्दा अघि सम्पन्न भएपछि आवतजावतको लागि सहज भएकोले स्थानीय खुसी भएको व्यास नगरपालिका–१ कराङकाठ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । पाइप राखेर बनाइएको अस्थायी संरचनाको पुल वर्षमायामा बुझिएर स्थानीय बासिन्दालाई भलबाट प्रभावित भएकोमा पुल बनेपछि हर्षित बनेको उहाँले बताउनुभयो ।



बुल्दी खोला माथि निर्माण पुरा भएको पुल । तस्बिर: अमरराज नहर्की