• ५ जेठ २०८१, शनिबार

हरि खड्काद्वारा ट्रफी अनावरण

blog

सुखडमा कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी अनावरण गर्दै पूर्व कप्तान हरि खड्का, नगरप्रमुख खडकबहादुर रावत लगायत । तस्बिर: चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), वैशाख २२ गते । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित खेल मैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख २८ गते हुने प्रतियोगिताको शनिबार नेपाली फुटबल टोलीका पूर्व कप्तान राष्ट्रिय खेलाडी हरि खड्काले ट्रफी अनावरण गर्नुभयो । 

ट्रफी अनावरण गर्दै पूर्व कप्तान खड्काले खेलले व्यक्तिलाई अनुशासित बनाउनुको साथै राष्ट्रलाई चिनाउने काम गर्ने भएकाले फुटबल खेलमा खेलाडीको आकर्षण बढाउन र फुटबल खेलको विकासका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

ट्रफी अनावरण कार्यक्रममा कैलाली जिल्ला लिग फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दीर्घकालीन फुटबल खेलको विकासको नीतिअनुरूप फुटबल खेल विकास र खेलाडीको विकासका लागि निरन्तर प्रतियोगिता हुँदैआएको बताउनुभयो ।  

अनावरण कार्यक्रममा घोडाघोडी नगरपालिका नगर प्रमुख खडकबहादुर रावतले खेल र खेलाडीको विकासका लागि स्थानीय सरकारबाट सक्दो सहयोग रहने बताउनुभयो । उहाँले घोडाघोडी नगरपालिका विभिन्न विद्यालय स्तरमा राम्रा खेलाडी उत्पादन हुँदैआएको बताउनुभयो । 

प्रतियोगिताको कैलाली जिल्ला फुटबल सङ्घको आयोजनामा हुने भएको छ । जिल्ला फुटबल सङ्घका महासचिव ललित मिश्रले वैशाख २८ गतेदेखि ज्येष्ठ १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले ‘ए’ डिभिजनका सात, ‘बी’ डिभिजनका छ, क्वालीफायर्सका छ टिम प्रतियोगितामा भागलिने बताउनुभयो । २१ टिमको ४२ खेल हुने भएको छ । कैलाली जिल्लाका विभिन्न क्लबबाट प्रतियोगितामा खेलाडीले भाग लिनपाउने भएका छन् । 

प्राय जाडोमा हुने फुटबल प्रतियोगिता एन्फाका कारण केही पछाडि ढकेलिएको जनाउँदै गर्मी मौसमा साँझ र बिहानको समयमा प्रतियोगिता हुने जनाइएको छ । 

प्रतियोगितामा पहिलो पटक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जिल्ला फुटबल सङ्घका उपाध्यक्ष एवम् प्रतियोगिता समितिका संयोजक कुमारबहादुर शाहीले ‘ए’ डिभिजनमा प्रथम हुनेलाई ७५ हजार र द्वितीय हुनेलाई ३७ हजार पाँचसय दिने व्यवस्था मिलाइएको बताउनुभयो । त्यसैगरी ‘बी’ डिभिजनमा प्रथमलाई ५० हजार र द्वितीयलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । 

घोडाघोडी नगरपालिका प्रवर्द्धक रहेको प्रतियोगिताको स्थानीय आयोजकको रूपमा घोडाघोडी क्लब रहेको छ । ट्रफी अनावरण कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका हेड अफ कोच सन्चिव सिंह, सङ्घका केन्द्र, जिल्लाका पदाधिकारी, खेलाडीलगायतको उपस्थिति थियो ।