• १० जेठ २०८१, बिहिबार

विद्यार्थीको आकर्षण बढ्दै

blog

प्रविधिको प्रयोग सहरमा मात्र नभएर दुर्गमका विद्यालयमा पनि बढ्दै गएको छ । जसका कारण विद्यार्थीले यो विधिबाट हुने पठनपाठनप्रति पनि रुचि राख्न थाल्नुभएको छ । दुर्गमका विद्यार्थी प्रविधिबाट हुने पठनपाठन कार्यप्रति आकर्षण बढिरहेको पाइएको छ । प्रविधिबाट शिक्षण हुँदा विषयवस्तुका साथै सान्दर्भिक श्रव्यदृश्य पनि शिक्षकले देखाउने भएका कारण विद्यार्थीको आकर्षण बढेको हो । 

खार्पुनाथ गाउँपालिका–४ को सीता नमुना माविका कक्षा १० की छात्रा अस्मिता रावलका अनुसार पाठ्यपुस्तक हेरेर पढाइने विधिभन्दा प्रविधिबाट हुने शिक्षण निकै उपयोगी भएको छ । किताब हेरेर पढाइने विधिमा विषयवस्तु मात्र सुन्न पाइने तर प्रविधिबाट हुने शिक्षणमा विद्यार्थीले विषय वस्तुका स्लाइट हेर्न सकिने भएका कारण पनि बढी उपयोगी भएको हो । प्रविधिबाट हुने शिक्षण विधि आफैँमा रमाइलो वातावरणमा शिक्षण हुने र विद्यार्थीले आँखाले देखेको कुरा सोच्न पनि सहज हुने भएका कारण यो विधिप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । सो विद्यालयको कम्प्युटर विज्ञानमा कक्षा ११ मा अध्ययन गर्दै आएका विद्यार्थी रमेश सुनारले यो विधिबाट विद्यार्थीले आफैँले कम्प्युटरमा अभ्याससमेत गर्न पाउने भएका कारण बढी उपयोगी भएको बताएबाट पनि स्पष्ट हुन्छ ।  अर्को कुरा यस प्रविधिमार्फत हुने शिक्षण विधिबाट शिक्षकले विषय वस्तुका स्लाइट अतिरिक्त सादर्भिक अन्य श्रव्यदृश्य सामग्री पनि देखाउने भएका कारण बढी उपयोगी हुने गरेको छ । पठनपाठनका विषय सबै आफ्नै आँखाअगाडि ह्याइट बोर्डमा आउने भएको कारण पनि विद्यार्थीले बढी चासो दिने गरेको पाइएको हो । विद्यालयका प्रधानाध्यापक जुनराज हमालले जिल्लामै प्रविधिबाट पठनपाठन हुने पहिलो विद्यालय सीता मावि भएको बताउदै कक्षा  १ देखि १२ सम्मका सबै कक्षा प्रविधिबाट पढाइ भइरहेको बताउनुभयो । उहाँले कक्षा १ देखि ३ का पाँच वटा कक्षा, ४ देखि १० सम्मका सात वटा कक्षा र प्राविधिक धारतर्फको कक्षा ११ र १२ का नौ वटा कक्षा सबै प्रविधिको प्रयोग गरेर पठनपाठन भइरहेको जानकारी दिनुभयो । सो विद्यालयमा कक्षा १ देखि ५ सम्म स्मार्ट बोर्डबाट पठनपाठन हुने गरेको छ भने कक्षा ६ देखि १२ सम्म प्रोजेक्टर र पर्दामा पढाइ हुने गरेको छ । प्रत्येक शिक्षकले आफूले पठनपाठन गर्ने विषयको स्लाइट तयार पार्ने गर्दै आउनुभएको छ । यसका लागि विद्यालयले शिक्षकका लागि आवश्यक पर्ने आठ वटा ल्यापटप र १५ वटा ट्याबलेटको व्यवस्था गरेको छ । विद्यार्थीको अभ्यासका लागि कम्प्युटर ल्याबमा ७० वटा डेक्सटपको व्यवस्था गरिएको छ । ई लाइबेरीमा गुगोलमा सर्च गरेर अध्ययन गर्न सकिने व्यवस्था पनि विद्यालयले गरेको छ । सो विद्यालयमा बालविकासमा ७० जना बालबालिकासहित ४९५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । 

Author

राजन रावत