• ५ जेठ २०८१, शनिबार

‘कृषि उत्पादनलाई बजारको समस्या हुँदैन’

blog

म्याग्दी समाचारदाता

म्याग्दी, वैशाख २२ गते । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषि उत्पादनलाई बजारीकरणको समस्या नहुने बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारमा कृषि उपजको सङ्कलन तथा बिक्री गर्नका लागि कृषि उपज केन्द्रको संरचना निर्माण कार्य थालिएको हुँदा बजारको समस्या नहुने उहाँको भनाइ थियो ।  

बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गण्डकी प्रदेशको आयोजना तथा सुशासनका लागि नागरिक समाज पोखरा र ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहजीकरणमा कृषि ज्ञान केन्द्र म्याग्दीको गत आर्थिक वर्षको सेवासम्बन्धी सार्वजनिक सुनुवाइमा प्रमुख केसीले यस्तो बताउनुभएको हो । बेनी नगरपालिका–८, कालीपुलमा पक्की संरचना निर्माण गरेर कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन गरेपछि जिल्लाभरका कृषकको उत्पादनलाई बजारीकरणका लागि सजिलो हुने उहाँको भनाइ थियो । 

कृषि उत्पादनका लागि अनुदानमा टनेल बाँड्ने भन्ने कृषकको प्रश्नमा नगरप्रमुख केसीले अब अनुदानको टनेल नगरपालिकाले वितरण नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकले अनुदान लिएको सामानको सुरक्षा कम गर्ने देखिएको भन्ने गुनासो बढेकाले टनेलमा कृषकले आफैँ लगानी गरून् । हामी उत्पादित सामग्रीको बजारीकरणको जिम्मा लिन्छौँ अनि बिक्रीमा अनुदान दिन्छौँ ।” कृषकको प्रश्नको जवाफमा केसीले काम गर्नेले अनुदान नपाउने र कुरा गर्नेले अनुदान पाउने भन्ने अवस्था अन्त्य भएको बताउनुभयो । कृषक वर्गीकरण गर्ने तथा आवश्यकले मात्रै अनुदान पाउने वातावरण सिर्जना भइसकेकाले अब कृषकलाई सहज हुने उहाँको तर्क थियो । 

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले कृषकलाई सबैले आआफ्ना ठाउँबाट सहयोग र सपोर्ट गरेको खण्डमा मुलुकले आयात प्रतिस्थापन गर्न सक्ने बताउनुभयो । अहिले पनि म्याग्दीमा बाहिरी जिल्लाबाट आएको तरकारीले स्थानीय उत्पादनलाई टक्कर दिने गरेको तर बाहिरबाट आउने तरकारीभन्दा स्थानीयस्तरमा उत्पादित तरकारी गुणस्तरीय हुने गरेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले ग्रामीण भेगमा जङ्गली जनावरको आक्रमणबाट भएको पशुधनको मुआब्जा वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको वितरण गर्नुपर्ने रकम निकासा भएर आए पनि चालु आवमा भएको क्षतिको शोधभर्ना गर्न नसकिएको हो ।” 

सुशासनका लागि नागरिक समाज पोखराका अध्यक्ष रवीन्द्र बाँस्तोलाले कृषि क्षेत्रमा लगानी जति हुनुपर्ने त्यो अनुसार नभएकाले त्यसको अनुगमनका लागि पनि सार्वजनिक सुनुवाइ आवश्यक रहेको बताउनुभयो । उहाँले कृषकले पाउनुपर्ने सेवासुविधा के कति सदुपयोग दुरुपयोग भएको छ, त्यो यथार्थ थाहा पाउन पनि आजको सार्वजनिक सुनुवाइको आवश्यकता महसुस गरेर मुख्यमन्त्री कार्यालयले आयोजना गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सुशासनका लागि नागरिक समाज पोखराका भानु पराजुलीको सहजीकरण गर्नुभएको थियो ।