• १३ मंसिर २०८१, बिहिबार

राजमार्ग विस्तारका लागि घर भत्काउन आग्रह

blog

शुक्लागण्डकी नगरपालिकाकाको कार्यालय । तस्बिर :अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २१ गते ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी राजमार्गको सडक सिमा भित्रको संरचना भत्काउन आग्रह गरेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डमा पर्ने आफ्नो पालिका क्षेत्रभित्र रहेको घर तथा टहरा भत्काउन आग्रह गरेको हो ।

नगर प्रमुख कृष्णराज पण्डितद्वारा बिहीबार जारी विज्ञप्तिमा मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड)अन्तर्गत यस नगरपालिकामा पर्ने राजमार्ग प्रभावित क्षेत्र सेराटारदेखि कोत्रेसम्म सडक मापदण्ड भित्र निर्माण गरिएका संरचना हटाउन आग्रह गरिएको छ ।

सो क्षोत्रमा रहेको एक सय ४६ संरचना हटाउने प्रयोजनका लागि रीतपूर्वक पेश भएका निवेदकहरुलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भइसकेको र यसै सन्दर्भमा सरोकारवालासँग पटकपटक समन्वय, सहकार्य, सहजीकरण र परामर्श गरिएको भएता पनि कतिपय घरधनीले क्षतिपूर्ति रकम बुझ्ने तर संरचना भत्काउने कार्य नगरी सडक स्तरोन्नती कार्यमा अवरोध उत्पन्न भएको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सडक विस्तारको गतिरोधले नगर क्षेत्रमा धूलो, धुँवा र अस्तव्यवस्तता सिर्जना भएको हुँदा दुलेगौँडा, खैरेनीटार र गाछेपानी लगायतका स्थानमा राजमार्गको सडक क्षेत्राधिकार भित्र पर्ने २५ मिटर दाँयाबाँया भित्रका संरचना स्वतःस्फुर्त रुपमा हटाई सूचित गरिएको छ । विकास निर्माणको कार्यलाई सहजता, समन्वय र सहजीकरण प्रदान गर्न सम्बन्धित व्यक्ति, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि र सचेत नागरिकमा हार्दिक अनुरोध विज्ञप्तिमा गरिएको छ । साथै तोकिएको अवधिभित्र संरचना नहटाई बाधा व्यवधान उत्पन्न गरेमा प्रचलित कानुन बमोजिम सडकको मापदण्डभित्र परेका संरचना हटाईने विषय तर्फ समेत सचेत रहन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

सडक स्तरोन्नतिका क्रममा स्थानीय बासिन्दालाई पर्ने पीर मर्काको विषयमा आवश्यक पैरवी गर्न नगरपालिका कार्यालय सम्बन्धित निकायसँग निरन्तर समन्वय र सञ्चारमा रहेको व्यहोरा समेत जानकारी गराइएको छ । सडक अतिक्रमण गरी बनाइएका घर नभत्काउँदा आयोजनाको समय अवधि लम्बिने र लागत मूल्य बढ्ने भएकाले गम्भीर हुनुपर्ने नगर प्रमुख पण्डित बताउनुहुन्छ ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप  श्रेष्ठले २३ प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो । पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ ।

आयाजनाको अनुसार राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्नेछ ।  गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रूपमा पृथ्वी राजमार्ग छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको छ ।

राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ ।  पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।