• १३ साउन २०८१, आइतबार

आगलागीका घटना बढ्दै

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख २१ गते । लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना बढेका छन् । खेतबारीमा आगो लाउँदा झाडी सफा हुने र त्यहींबाट आगो फैलिने गरेकाे देखिएको छ । 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पछिल्लो एक हप्तामा जिल्लामा धेरैले घरगोठ गुमाएका छन् भने आगलागीमा एक जनाको मृत्यु र तीन जना घाइते भएका हुन्। आगलागीले १७ घर जल्दा १७ वटै गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पात पतिङ्गर जलाउने क्रममा बिरुवा गाउँपालिका ७ कुमेरदुङ की ७३ वर्षीय रेउसरी गुरुङको निधन भएको थियो भने यो अवधिमा आगो निभाउने क्रममा जिल्लाका तीन जना घाइते भएका छन् । काली गण्डकी गाउँपालिका ५ लुम्सिङ की ५९ वर्षीय राधिका न्यौपानेको आगो निभाउने क्रममा दुवै हात र गालामा जलेर घाइते हुनुभएको छ भने पुतलीबजार नगरपालिका १३ सतौ भुजुङ्गेकी ७२ वर्षीय डासी कोइराला बारीको झारपात जलाउने क्रममा घाइते हुनुभएको थियो ।

त्यस्तै पुतलीबजार ११ करेनडाडाकी ४० वर्षीय गीता जिटि पनि घाइते हुनुभएको छ । आगलागीका कारण जिल्लामा घरगोठ जल्दा लाखौँको भौतिक संरचना जलेर नष्ट भएका छन् भने अन्नपात, घरमा रहेका नगद, जिन्सी, गरगहना जलेका छन् । पशुचौपायासमेत आगलागीको चपेटामा परी मरेका छन् । कालीगण्डकीको आठचौरका भरत पाण्डेको घरगोठ, तुल्सीराम न्यौपानेको गोठे थिरालाल न्यौपानेको कुखुरा फर्ममा आगलागीका कारण क्षति भएको छ । 

यस्तै काली गण्डकीकै इम्सीलका महनिराम भट्टराईको गोठमा समेत आगलागीले क्षति गरेको हो । गल्याङ नगरपालिका ५ जलुके बाथ्थलाका गुण बहादुर रानाको घरगोठ, भीमबहादुर रानाको घर, गल्याङ ५ को बेतेलेनी अनिरुद्र बस्यालको ढुङ्गे घर गोठसमेत जलेको छ । अर्जुन चौपारीमा एक नारायण सुनारको गोठ, बिरुवा गाउँपालिका ६ तल्लो बलेउकी बुकमाया नेपालीको घरगोठ, चौमाया नेपालीको घर, एकबहादुर वि.कको घरगोठ, दुर्गाबहादुर थापाको धनसार जलेको छ । 

गल्याङ छरककी गोमति थापाको घर, बेलबहादुर रानाको घर, नेहारसिंह थापाको गोठ जलेको छ भने आँधीखोला गाउँपालिकामा कुन्तिका सिंचाइ योजनाको पाइप जलेको छ । यस्तै बिरुवामा जेठीमाया गुरुङको घरगोठ जलेको छ । यस्तै चापाकोट मैदानमा ३ वटा परिवारको घरगोठ जलेको छ भने चापाकोटकै बीरडाँडामा दुई परिवारले घरगोठ गुमाएका छन् ।  पुतलीबजार १ गैह्रीबजारमा रामेश्वर बरालको घरगोठ जलेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आगलागीकाे प्रकृति हेर्दा वनमा लगाइएको आगो अचानक बस्तीमा पस्दा स्थानीयले घरगोठ गुमाएका हुन् । 

आगलागीले घरविहीन भएकाहरुलाई सम्बन्धित पालिकाहरु, रेडक्रस सोसाइटी, विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । आफन्त तथा तत्काल आश्रय लिन नसक्नुभएकाहरुलाई थप त्रिपाल उपलब्ध गराईएको भन्दै यो वैशाख महिनाको अहिलेसम्म ३४ घरपरिवालाई यो राहतको प्याकेज उपलब्ध गराइएको रेडक्रस सभापति दिनेश अर्यालले बताउनुभयो ।