• १३ मंसिर २०८१, बिहिबार

म्याग्दी नदीमा जलयात्रा

blog

दरबाङ समाचारदाता  

म्याग्दी (दरबाङ), वैशाख २१ गते । म्याग्दी नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–७ स्थित म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थल हुँदै मालढुङ्गासम्म छोटो प्याकेजको जलयात्रा सुरु गरिएको हो । 

र्‍याफ्टिङ रनर नामक कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताउनुभयो । गाइड रानामगरले भन्नुभयो, “नदी आसपासमा निर्माणाधीन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ ।” म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारीसमेत गरेको बताउनुभयो । 

बेनी नगरपालिका–६ र ७ वडाभित्रका केही ठाउँमा समस्या भए पनि पहिलो पटक जलयत्रामा निस्किएका पर्यटकले आनन्द महसुस गर्ने बताउनुभयो । यसअघि गलेश्वरदेखि म्याग्दी र कालीगण्डकी दोभान आसपासबाट जलयात्रा गराउने गरेको कम्पनीले म्याग्दी खण्डलाई समेत रोज्न थालेका छन् । म्याग्दीबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गर्न सकिने गाइड रानामगरको भनाइ छ । 

यस अगाडि बेनीको कालीपुलस्थित गण्डकी होटलले समेत स्पलास नेपाल एडभेन्चरसँगको सहकार्यमा जलयात्रा सञ्चालन गर्दै आइरहेको छ । म्याग्दी र कालीगण्डकी नदीमा दुर्घटनाको जोखिम कम र पानीको बहाव राम्रो भएकाले पनि बालबालिकादेखि वृद्धवृद्धासम्मले जलयात्रा गर्न सकिन्छ । 

बेनीदेखि मालढुङ्गा, नयाँ पुल हुँदै मिर्मीसम्म पुग्न तीन दिन जलयात्रा गर्नु पर्दछ । र्‍याफ्टिङको प्रवर्धन गर्न सके आन्तरिक पर्यटकका लागि पर्यटनको ‘हब’ बन्न सक्ने जलयात्राको क्षेत्रमा काम गर्ने प्रतिनिधिको भनाइ छ ।