पोखरा समाचारदाता
पोखरा, वैशाख २१ गते । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा सबै वर्गको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा भएको अन्तर्क्रियामा उहाँले यस्तो बताउनुभएको हो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आचार्यले यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोरकिशोरीमा उमेर नपुग्दै हुने गरेका विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण किशोरकिशोरीमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर पर्ने उहाँले बताउनुभयो । उहाँले महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थालगायत महानगर क्षेत्रमा सञ्चालित अस्पताल तथा सेवाप्रदायक संस्थालाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन निर्देशनसमेत दिनुभयो ।
पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा आवश्यक हुने बताउनुभयो । उहाँले किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा स्वास्थ्य सचेतनासम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको बताउनुभयो ।
पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिना, महानगरको किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा रहेको स्वास्थ्यको अवस्थाका बारेमा बोल्नुभएको थियो ।
राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार १५/१९ वर्षका १४ प्रतिशत किशोरकिशोरी गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोरकिशोरीमा रहेको तथ्याङ्कले देखाएको छ । करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ ।
गत आर्थिक वर्ष २०७९/८० मा २० वर्षमुनिका झन्डै दुई हजार किशोरकिशोरी गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ । गर्भपतन गराउने २० वर्षमुनिका किशोरकिशोरीको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
किशोरकिशोरीको स्वास्थ्यका सन्दर्भमा सञ्चालित परियोजनाका कार्यक्रम संयोजक सुदीप अर्यालका अनुसार सामुदायिक स्वास्थ्य सचेतना अभिवृद्धि र किशोरकिशोरीलाई आफ्नो स्वास्थ्यप्रति प्रतिबद्ध बनाउन सरकारको स्वास्थ्यसम्बन्धी नीति र संयन्त्रमा व्यापक सुधारको आवश्यकता छ ।