• ११ मंसिर २०८१, मङ्गलबार

विश्व मजदुर दिवस

प्रवासी नेपाली मजदुर समस्यामा

blog

समान कामको असमान ज्याला पाउने गरेको गुनासो सुनाउँदै बैतडीका महिला मजदुर ।

गोकर्ण दयाल

बैतडी, वैशाख २० गते । स्वदेशमा रोजगारीको अवसर नपाएपछि भारतलगायत तेस्रो मुलुकमा काम गर्न जाने अधिकांश मजदुरको दुर्घटना बिमा गरिएको छैन । ग्रामीण क्षेत्रका अधिकांश युवा कामको खोजीमा पलायन हुने गरेका छन् । 

कार्यस्थलमा दुर्घटना भई ज्यान जाने वा अङ्गभङ्ग हुँदा परिवारको बिचल्ली हुने गरेको छ । वैशाखमा मात्रै भारतमा काम गर्ने बैतडीका दुई आप्रवासी कामदारको दुर्घटनामा मृत्यु भएको छ । 

सडक दुर्घटना, जोखिमपूर्ण काम र प्रदूषित वातावरणमा काम गर्नुपर्दा परदेशी नेपाली कामदारको जीवन/स्वास्थ्य जोखिममा पर्ने गरेको छ । पाटन नगरपालिका–६ का हिमाल विष्ट भारतमा मेसिनमा बेरिएर दायाँ हात काटिएपछि अपाङ्गता भई घर फर्किनुभएको छ । 

वृद्धा आमा, श्रीमती र छ वर्षीय छोरीको लालनपालन गर्ने सपना बोकेर भारत पसेका २६ वर्षीय विष्टको कमाई खाने हात गुमेपछि परिवारको बिचल्ली भएको छ । उहाँ भन्नुहुन्छ, “बिमा गरेको भए केही राहत त हुन्थ्यो ।” 

कामको खोजीमा सुदूरपश्चिमबाट करिब पाँच लाख नेपाली भारतमा रहेका सुदूरपश्चिमेली समाज भारतको तथ्याङ्कमा उल्लेख छ । बैतडी जिल्लाबाट मात्र ५० हजार कामदार भारतमा रहेका अध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो । उहाँले भारतमा काम गर्ने लाखौँ मजदुरको दुर्घटना बिमा र घरपरिवारको स्वास्थ्य बिमा नभएको बताउनुभयो । परदेशमा अकालमै ज्यान गुमाउनेका लागि बोलिदिने कोही नभएको पीडा उहाँले सुनाउनुभयो । स्थानीय सरकारले गाउँमा रोजगारी दिन नसक्दा भारत जानेको सङ्ख्या बढ्दै गएको छ । कामको खोजीमा बिदेसिनेको दुर्घटना बिमा, श्रम र घरपरिवारको स्वास्थ्य बिमा नहुँदा मजदुरसँगै परिवार जोखिममा पर्ने गरेका छन् । 

स्थानीय तहमा औषधी किन्न आउने वार्षिक २० लाख रुपियाँमध्येबाट परदेशीका घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा र कमदारको दुर्घटना बिमा गरिदिनुपर्ने आप्रवासी कामदारले माग गरेका छन् । 

महिला मजदुरका पीडा बेग्लै दैनिक ज्याला मजदुरी गर्ने महिलाको बेग्लै पीडा छ । पुरुषसरहको काम गर्दा पनि असमान ज्यालाले महिला मजदुर समस्यामा परेको दशरथचन्द नगरपालिका–४, बाडीलेकका मजदुर मीरा भुलले बताउनुभयो । दिनभर गिट्टी कुटेको पैसा ठगेर ठेकेदार बेपत्ता हुने गरेको गुनासो महिला मजदुरको छ । सडक किनारमा दिनभर गिट्टी कुटेर ठेकेदारले प्रतिबोरा ७० रुपियाँका दरले खरिद गरे पनि पैसा नदिएको गुनासो महिला मजदुरको छ । 

ज्याला मजदुरी गर्ने महिलाले पुरुष सरह काम गर्दा पनि छ सय र पुरुषले ८५० रुपियाँ पाउने गरेको दशरथचन्द नगरपालिका–४ की कलावती भुलले पीडा सुनाउनुभयो । हातका औँलाबाट रगत चुहाएर कुटेको गिट्टीको ४० हजार रुपियाँ नदिएर ठेकेदार बेपत्ता भएको पीडा गौमती भुलले सुनाउनुभयो । 

ग्रामीण श्रमिक गौमती जस्तै मीरा भुलले पनि गिट्टी कुटेको ३५ हजार रुपियाँ नदिई ठेकेदार सम्पर्कविहीन भएको पीडा सुनाउनुभयो । दैनिक ज्याला मजदुरी गरेको रकम नदिएर ठेकेदार सम्पर्कविहीन हुँदा साँझबिहान चुलो बाल्न धौ धौ भएको गुनासो उहाँहरूको छ ।