• ४ जेठ २०८१, शुक्रबार

सोनाहा समुदायका किशोरी सामाजिक कार्यमा

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), वैशाख २० गते । राजापुर नगरपालिका–३, बर्दियाकी शारदा सोनाहामा पढेर समुदायका लागि नमुनायोग्य काम गर्ने इच्छा छ । स्नातक तहमा अध्ययनरत शारदा अहिले पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । आर्थिक अभाव, दुःखपीडालाई राम्रैसँग झेलेकी शारदा बुवाआमालाई जस्तो दुःखकष्ट आफ्नो पुस्तामा नहोस् भन्ने चाहनुहुन्छ । त्यसैले त मुस्किलले ५/६ कक्षासम्म पढेर छोड्ने उहाँको समुदायमा शारदा उच्च शिक्षा अध्ययन गर्नेमध्येमा पर्नुहुन्छ । 

२२ वर्षीय शारदाको बाल्यकाल बुवाआमासँगै नदीमा बालुवा चाल्ने, माछा मार्ने कार्यमै बिते पनि शिक्षाको महत्व बुझेपछि उहाँको दैनिकी फेरिएको छ । उहाँको बस्तीमा अहिले पनि मुख्य पेसा नदीमा बालुवा चाल्ने र माछा मार्ने रहेको छ । शारदा भन्नुहुन्छ, “हाम्रो समुदायमा शिक्षाको महत्व बुझे पनि आर्थिक अभावले सानै उमेरमा पढाइ छाड्ने समस्या छ । बालुवा चाल्ने र माछा मार्ने पुख्र्यौली पेसाबाटै दैनिक गुजारा चलाउनु पर्छ ।” छ जनाको शारदाको परिवारमा दाइले ६ कक्षासम्म पढ्नुभएको छ । आर्थिक अभावकै कारण दाइले पढाइलाई निरन्तरता दिन नसकेको शारदाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “विद्यालय पढ्दा मैले पनि धेरै पटक पढाइ छोड्नुपर्ने बाध्यता आइलागेको थियो, तर पनि मैले विद्यालय जान छाडिनँ । विद्यालयपछिको समयमा बुवाआमालाई नदीमा बालुवा चाल्ने र माछा मार्ने काममा सहयोग गरेँ ।” 

लगनशीलताकै कारण शारदाले स्नातक तह पढ्दै गर्दा एउटा सामाजिक संस्थामा काम गर्ने अवसर पाउनुभएको छ । दुर्लभ वन्यजन्तु ओत संरक्षणका लागि समुदायस्तरमा जनचेतना जगाउने कार्यमा सामाजिक परिचालिकाका रूपमा शारदाले काम गर्दै आउनुभएको छ । शारदाको उद्देश्य सोनाहा समुदायका बालबालिकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण बनाउने रहेको छ । “खेतीपाती गरौँ जग्गाजमिन छैन, पुख्र्यौली पेसाले महँगी धान्नै गाह्रो छ । हामी जस्ता नयाँ पुस्ताले पढेर, सिप सिकेर आत्मनिर्भर बन्न सक्नु पर्छ,” शारदा भन्नुहुन्छ, “बालुवा चालेर सुन निकाल्न जति मेहनत गर्छौं, त्यति मेहनत पढाइमा गर्‍यौँ भने अवश्य सफल हुन्छौँ ।”

गेरुवा गाउँपालिका–१ का वडाध्यक्ष कर्माप्रसाद चौधरीलले गेरुवा र राजापुरमा बसोबास गर्ने सोनाहा समुदाय कर्णाली नदीमा आश्रित रहेको बताउनुभयो । उहाँले पुख्र्यौली पेसा बालुवा चालेर सुन निकाल्ने र माछा मारेर बिक्री गरी गुजारा चलाउने गरेको स्मरण गराउँदै नयाँ पुस्ताले पुख्र्यौली पेसा अँगाल्न नचाहेको उल्लेख गर्नुभयो ।