• ११ मंसिर २०८१, मङ्गलबार

औलो रोकथामका उपाय

blog

औलो मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो । चीन र भारतका थुप्रै प्राचीन साहित्यमा यसको उल्लेख भएको पाइन्छ । सन् २०२४ अप्रिल २५ मा ‘समानतापूर्ण विश्वका लागि औलोविरुद्धको लडाइँलाई तीव्र पारौँ’ भन्दै विश्वभर औलो दिवस मनाइयो । नेपालले सन् २०२५ मा नै औलो रोगलाई निवारण गर्ने प्रयास गरिरहेको छ । औलोका औषधी स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार यदि कुनै स्थानमा लगातार तीन वर्षसम्म स्थानीय औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलो निर्मूल र स्थानीय र आयातित औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलोको उन्मूलन भएको मानिन्छ । 

पोथी एनोफिल्स लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने (प्रोटोजोअन) प्रजीवाणु सरुवा रोग नै औलो हो । मानिसलाई सक्रमण गरी औलो लगाउने एक कोषीय परजीवीमा प्लाज्मोडियमका चार प्रजाति पि.फाल्सिपेरम, पि. भाइभेकस, पि. ओभेली र पि. मलेरी पर्छन्, जसमा पि.भाइभेकस सबैभन्दा बढी सङ्क्रामक हुन्छ । पि. फाल्सिपेरमले सबैभन्दा कडा प्रकृतिको घातक औलो रोग लगाउँछ । 

औलो परजीवीको प्रसार औलो पीडित व्यक्तिबाट स्वस्थ व्यक्तिमा पोथी एनोफिल्स लामखुट्टेको टोकाइबाट सर्छ तर जिम्मेवार तत्वहरूमा प्रसारक लामखुट्टे (पोथी एनोफिल्सको ¥यालमा स्पोरोज्वाइट भए नभएको) उपसर्गको भण्डार भएको मानिस (रगतमा ग्यामोटोसाइट भए नभएको ) ग्रहणशील व्यक्तिको उपस्थिति (प्रतिरोधात्मक शक्ति नभएको ) र उपयुक्त वातावरण (तापक्रम र आद्रता) हुनै पर्छ । 

गरिब, विपन्न, अशिक्षित तथा पिछडिएका समुदायमा बढी देखिने यस रोगबाट तराईका जिल्ला बढी आक्रान्त छन् । कुल जनसङ्ख्याको करिब ७५ प्रतिशत मानिस औलो जोखिममा छन् । तुलनात्मक रूपमा महिलाभन्दा परुषमा र गर्मी तथा वर्षायाममा लामखुट्टे बढी हुने भएकाले तथा तापक्रम २० देखि ३० सेल्सियस पुग्ने भएकाले रोग बढी देखिन्छ । भाइभेक्समा १२ देखि १७ दिन, ओभेलमा १५ देखि १८ दिन र मलेरीमा १८ देखि ४० दिन अन्तरविकास काल हुन्छ । तुलनात्मक रूपमा प्रोड्रोमल लक्षण मलेरीमा कडा प्रकृतिको हुन्छ । भाइभेक्स र ओभेलमा ज्वरोको चक्र ४८ घण्टाको फरक वा एकदिन बिराएर प्रत्येक तेस्रो दिन देखिन्छ भने मलेरीमा ७२ घण्टाको फरक वा प्रत्येक चौथो दिनमा देखिने गर्छ । 

सबैभन्दा कडा प्रकृतिको औलो फल्सिपेरम औलोको अन्तरविकास काल एकदेखि दुई हप्ता हुने गर्छ । औलोका लक्षण देखिनुभन्दा पहिले टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्प हुने र नरम वा मन्द ज्वरो आउने हुने गर्छ । यस्ता लक्षण धेरै दिनसम्म रहन पनि सक्छन् । टाउको असाध्यै दुख्ने, जाडो लागेर कम्प हुने, शरीरका हाडजोर्नीहरू दुख्ने, दिन बिराएर ज्वरो आउने, वाक्वाकी लाग्ने, वान्ता हुने, खानामा अरुचि हुने, पसिना आएर ज्वरो कम हुँदा शरीर हिउँ जस्तै चिसो हुने, रक्तअल्पताका कारण अनुहार फुस्रो देखिने, कब्जियत हने, फियो र कलेजो सुन्निने औलोका लक्षण हुन् ।

निश्चित समयसम्म जाडो हुने, गर्मी हुने, खलखल्ती पसिना आउने र एकैछिनपछि केही कमजोर महसुस भए पनि पूर्ण आराम भएको महसुस हुने यो रोगको प्रमुख विशेषता हो । रक्तअल्पता भई फुस्रो, कमलपित्त भई पहेँलो देखिनुका साथै कलेजो र फियो बढी ठुलो हुने र थिच्दा दुख्ने गर्छ । सेरिब्रल मलेरियाले बालबालिका र वयस्क दुवैलाई बेहोस बनाउन सक्छ । आ“खाको रेटिनामा रक्तस्राव हुने, आँखाको गति र चाल असामान्य हुने, दाह्रा किट्ने, मुख नखोल्ने आदि जटिलता देखिन सक्छ । अत्यधिक रक्तअल्पता, मिर्गौला काम नलाग्ने हुने, शरीरमा ग्लुकोजको कमी हुने, तरल, इलेक्ट्रोलाइट र अम्ल–क्षारमा असर, फोक्सोमा सुजन, रक्तसञ्चारमा अवरुद्ध, एकाएक रगत बग्ने, गर्भवतीमा आमाको मृत्यु, गर्भपतन, पेटमै बच्चा मर्ने, कम तौलको बच्चा जन्मन सक्छ । 

ज्वरो अत्यधिक आएमा निधारमा पानीपट्टी तथा समस्त शरीरलाई चिसो पानीले पुछपाछ गर्नु पर्छ । ज्वरो औलो हो होइन भन्ने निर्णय गर्न क्लोरोक्विन चक्की खानुभन्दा पहिले नै रगतको परीक्षण गर्नु पर्छ । औलोको लक्षण अन्य रोगसँग मिल्दोजुल्दो हुने भएकाले औलोको औषधी खाएको दुई दिनसम्म निको नभएमा अस्पतालमा पठाउनु पर्छ । 

महामारी देखाउने औलो, डेङ्गु, इन्सेफलाइटिस, हात्तीपाइले, कालाजारलगायत दर्जनौँ रोग लामखुट्टेको टोकाइबाट मात्र सर्छ । सङ्क्रमण फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन तसर्थ रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु पर्छ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्छ । 

लामखुट्टेको टोकाइबाट बच्न घरको झ्यालढोकामा जाली हाल्नु पर्छ । सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पङ्खा, एयरकुलर, एयरकन्डिसन प्रयोग गर्ने, जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने तथा घर बाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट लगाउनु पर्छ । प्रकोप भएको ठाउँमा बाक्लो कपडा पूरा शरीर छोपिने गरी शरीरमा लगाउनु पर्छ । 

करिब तीनदेखि चार हप्ता मात्र बाँच्ने लामखुट्टेलाई फुलबाट वयस्क बन्न करिब दुई हप्ता लाग्छ । आआफ्नो घर गोठमा कीटनाशक औषधी छर्कनु पर्छ । औषधी छर्केको तीनदेखि छ महिनासम्म लामखुट्टे मर्ने भएकाले कीटनाशक छर्केको भित्तामा कम्तीमा तीन महिनासम्म लिपपोत गर्नु हुँदैन । कीटनाशकयुक्त झुलको प्रयोग गर्नु पर्छ । पानी सोस्ने रुख जस्तै जामुन, सिमल, लगाउनु पर्छ । आफ्नो वरिपरिका खाल्टाखुल्टी पुर्नु पर्छ । पोखरी, इनार र कुलोको वरिपरि घाँसपात बढ्न दिनु हुँदैन । मट्टितेल, डिजेल, डिडिटी मालाथियन, क्लोडिन, डेल्ड्रिन छर्कनु पर्छ । लामखुट्टेले विशेष गरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकाले त्यस्ता खाल्डा पुरिदिएमा लार्भाहरू मर्दछन् । 

सङ्क्रमित लामखुट्टेले टोकेर केही दिनपछि ज्वरो आउने भएकाले रगतमा भएका परजीवी जाँच गराई पत्ता लगाएपछि औलोको औषधी खाई परजीवी नोक्सान गर्न सकिन्छ । सक्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नु हुँदैन । औलो प्रभावित क्षेत्रमा जानुभन्दा एक हप्तापहिले र उक्त क्षेत्र छोडेको चार हप्तासम्म लगातार औषधी खाई औलोको रोकथाम गर्न सकिन्छ । स्पोरोज्वाइट खोप, ब्लडस्टेज खोप र मेरोज्वाइट खोप बजारमा उपलब्ध छ, जसमा मेरोज्वाइट खोप सबैभन्दा सफल ठानिन्छ । 

सरकारको रणनीतिले सन् २०३० सम्ममा औलो रोगको नयाँ सङ्क्रमणदर र मृत्युलाई ९० प्रतिशतले झार्ने लक्ष्य छ । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक रणनीतिको आधारमा नेपालले राष्ट्रिय रणनीतिक योजना २०७०/७१, २०८२/८३ कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्य सन् २०३० मा औलो अन्त्य गर्ने रहेको छ । तथापि आयातित औला नै ९५ प्रतिशतभन्दा बढी भएकाले लक्ष्य भेट्न कठिन छ । सरकारको प्रयास नै पूर्ण नहुने भएकाले आमनागरिक लामखुट्टेको टोकाइबाट जोगिनु नै उत्तम हुन्छ ।

Author

डा. प्रकाश बुढाथोकी