प्रेमराज सिम्खडा
कालीकोट, वैशाख १९ गते । कालीकोट जिल्लामा किसानले लगाएको गहुँवाली खडेरीले सुकिरहेका बेला रास्कोट नगरपालिका वडा नम्बर ९ को थोल्म जिउलो भने हरियो देखिन्छ । लामो समयको खडेरीले पनि थोल्म जिउलोलाई असर गर्न सकेन । जिउलाका लागि दुई वटा सिँचाइ भएकाले किसानले पालैपालो जिउलोमा सिँचाइ गर्दा गहुँवाली सुक्नबाट जोगिएको हो ।
स्थानीय शङ्करप्रसाद बरालले दुई वटा सिँचाइ कुला भएकाले खडेरीबाट गहुँखेती जोगाउन सकिएको बताउनुभयो । बरालले भन्नुभयो, ‘हाम्रो जिउलामा दुई कुला छन् । मुसेकुला र थोल्म कुला तिनै कुलाको पानी पालैपालो सिँचाइ गर्दा लामो खडेरी पर्दा पनि असर नपरेको हो । पानीका मुहान सुकेर फुगाडखोलामा पानीको मात्र घट्दा पनि मिलेर सिँचाइ गर्दा आजसम्म गहुँलाई हरियो बनाउन सकिएको छ । फल पनि निकै लागेको छ ।’
खडेरीका कारणले रास्कोटका अन्य वडामा भने गहुँ सुकेर गएको छ । सिँचाइ कुलो भएकाले फुकोटको वडा नम्बर ९ को थोल्म गाउँको जिउलो भने खडेरी मुक्त बनेको छ । पछिल्लो समयमा गाउँमा हुने डोजरे विकासले पनि पानीका श्रोत सुक्न थालेपछि पानीको श्रोत घटिरहेको छ । रास्कोट ८ का मदनराज बरालले स्थानीय सरकारले विकासका नाममा डोजर (एक्स्काभेटर) को प्रयोग गर्दा मुहान छिनेर अन्य जाने गरेकाले पानीको अभाव हुन थालेको बताउनुभयो ।
सिँचाइ भएका ठाउँमा र एक्स्काभेटर आतङ्क नभएको ठाउँमा गहुँवाली सिँचाइ गर्दा किसानलाई राहत भएको बरालको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरतबहादुर बस्नेतले पनि आफू पछिल्लो समयमा गाउँमा जाँदा सिँचाइ कुलो भएको र गाउँले शिक्षित भएको बस्तीमा खडेरीको मार कमै परेको बताउनुभयो । ‘सबै शिक्षित हुँदा मिलेर खेतमा सिँचाइ गर्छन्, पढेर भन्दा पनि परेर शिक्षित भएको समुदाय भएको ठाउँमा गहुँवाली राम्रो भएको छ’, उहाँले भन्नुभयो ।