• ८ जेठ २०८१, मङ्गलबार

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा

अनिल पराजुली
हेटौँडा, वैशाख १९ गते ।
 बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार मनाइँदै गरिएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै ‘‘मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस्’’ भन्नुभएको छ ।

प्रमुख शर्माले आधुनिकता, विकास र समृद्धिको रचनाकार आम श्रमजीवी भएको बताउनुभएको छ । समयको लामो अन्तरालसम्म तिनै मजदुरहरू अधिकारविहीन, शोषित एवम् उत्पीडित रहेको भन्दै गर्दै उहाँले आजभन्दा १३४ वर्ष अघि आजैका दिन अर्थात् मे १ तारिखमा विश्वभरका मजदुरहरूले अनवरत सङ्घर्ष र बलिदान पश्चात् आफ्नो अधिकार स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

हाम्रो देशमा पनि २००७ साल यता यो दिवस मनाउन थालिएको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर सङ्घर्षमा नेपालका श्रमिक वर्गको अविस्मरणीय योगदान रहेको बताउनुभएको छ ।

‘‘हामी ती अमूल्य योगदानको कदर तथा अविचलित सङ्घर्षप्रति गौरव गर्दछौँ ।,’’ प्रमुखले भन्नुभएको छ, ‘‘अझै पनि समय, ठाउँ र श्रमको समुचित परिभाषा नभएको, कानुनी प्रावधान बमोजिम सेवा–सुविधा नपुगेको र सामाजिक सुरक्षाको उचित व्यवस्था हुन नसकेको गुनासाहरू सुनिने गरेको छ ।’’ यसका लागि राज्यले समुचित प्रबन्ध गरी गुनासाहरूको सम्बोधन गर्नु अत्यावश्यक भएको प्रमुख शर्माको भनाइ छ ।