• ८ जेठ २०८१, मङ्गलबार

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

blog

काठमाडौँ, वैशाख १८ गते । कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका व्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार खेल मैदानमा मङ्गलबार भएको खेलमा कीर्तिपुरले तारकेश्वर नगरपालिकालाई ५–० गोलले हरायो । 

कीर्तिपुरको जितमा यमन महर्जनले ह्याट्रिक गर्नुभयो । इन्द्रबहादुर बस्नेतले दुई गोल गर्नुभयो । यमन म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्बार्टरफाइनलमा पुगिसकेका छन् । 

उपत्यकाका १४ पालिकाका १५ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।