• ५ जेठ २०८१, शनिबार

स्वीकृति नलिएका १५ फुटबल पदाधिकारी बेलायत जान नपाउने

blog

खेलाडीको भिसा प्रक्रिया बारे छलफल गर्नुहुँदै युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौँ, वैशाख १८ गते । बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिवसँग मङ्गलबार छलफल गर्नुभएको छ । 

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले मङ्गलबार (आज) रातिसम्म भिसा आउने जानकारी दिनुभयो । भिसा लिनकै लागि एन्फाले आफ्नो प्रतिनिधि भारतको दिल्ली पठाएको पनि महासचिव राईले जानकारी गराउनुभयो । 

एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कूल ३० जनाको नाम राखेपमा पठाएको र सोमबार स्वीकृति दिएको सदस्य सचिव टङ्कलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । 

यसबाहेक पाँच जना भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषद्मा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पार्नुभयो । यस्तै एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको बताउनुभयो । उहाँले बाकी २० जना आफ्नै खर्चमा बेलायत जाने पनि बताउनुभयो । तर एन्फाले अन्य व्यक्तिको भिसाको लागि बेलायती राजदूतावासमा सिफारिस गरेको पनि जानकारी गराउनुभयो । 

राष्ट्रिय खेलकुद ऐनअनुसार  खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताउनुभयो। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राखेपबाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गर्नुभएको छ । 

स्वीकृति नलिएसम्म बाँकी १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन् । युवा तथा खेलकुद मन्त्रालयले राखेपको स्वीकृतिबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पत्राचार गरेको समेत जनाएको छ ।