• ११ मंसिर २०८१, मङ्गलबार

सामाजिक सुरक्षा भत्ता घर घरमै

blog

बडीमालिका समाचारदाता

बाजुरा, वैशाख १८ गते । बुढीनन्दा नगरपालिकाले अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक र एकल महिलालाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखाको सहकार्यमा वडा नं. ४ मा पर्ने कुरुक्षेत्रका ज्येष्ठ नागरिकलाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जुल्फे रोकायाले बताउनुभयो । कुरुक्षेत्र राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखादेखि एक दिन पैदल यात्राको दुरीमा पर्दछ, ज्येष्ठ नागरिकलाई कुरुबाट कोल्टी आउनजान दुई दिन लाग्ने गर्छ ।  

बैङ्कले वडा नं. ७, ८, ९ र १० का नागरिकलाई पनि घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको नगर प्रवक्ता जङ्गवीर रोकायाले जानकारी दिनुभयो । पालिका पञ्जीकरण शाखाका कर्मचारी सन्तोषी विकले बैङ्कको सेवा प्रवाहमा असर नपर्ने गरेर सार्वजनिक बिदाको दिन सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जानकारी दिनुभयो ।