• ४ जेठ २०८१, शुक्रबार

विद्युत् योजना अलपत्र, अँध्यारोमा स्वराडवासी

blog

१८ महिनामा पूरा गर्नुपर्ने ३३ केभी मेलौली सबस्टेसन छ वर्षसम्म पनि अधुरै ।

गोकर्ण दयाल   

बैतडी, वैशाख १८ गते । करिब आठ करोड रुपियाँ लागतमा बन्ने भनिएको ३३ केभी मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको छ । उक्त काम १८ महिनामा पूरा गरिसक्नुपर्ने सम्झौता भए पनि छ वर्षसम्म पूरा नहुँदा ६० हजार जनसङ्ख्याको बिजुली बाल्ने सपना अधुरै रहेको छ । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बिजुली बाल्न विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले आर्थिक वर्ष २०७५/७६ मा आठ करोड ३२ लाख २९ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । 

ठेकेदारको लापर्बाहीका कारण १८ महिनामा गर्नुपर्ने काम ७२ महिना (छ वर्ष) बितिसक्दा पनि आयोजनाको भवनबाहेक अन्य संरचना निर्माण भएको छैन । मेलौली नगरपालिका–१ मा ३३ केभीको सबस्टेसन निर्माण गरेर तल्लो स्वराड क्षेत्रमा बिजुली पुर्‍याउने लक्ष्य अनुसार आरके इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता भएको प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख जङ्गबहादुर चन्दले बताउनुभयो । 

उहाँले १८ महिनामा काम सक्ने सम्झौता भए पनि आव २०७५/७६ देखि आव २०७९/८० सम्म पूरा हुन सकेको छैन । ठेकेदारलाई दुई पटक म्याद थपिसकेको जानकारी दिँदै उहाँले ठेक्का तोडेर कारबाही गर्न सकिने भए पनि आयोजनाको काम गर्न पुनः अर्को ठेक्का खोल्नुपर्ने भएकाले समस्या भएको बताउनुभयो । निर्माण कार्यमा संलग्न कम्पनीले दुई पटक म्याद थपको सुविधा पाएसँगै चार करोड ५१ लाख ५३ हजार रुपियाँ भुक्तानी पनि लगिसकेको छ । दुई पटक म्याद थप्दा पनि काम पूरा नभएपछि फेरि तेस्रो पटक म्याद थपेर २०८१ साल असारभित्र काम सक्ने तयारी भइरहेको छ । 

आरके इन्टरनेसनल कम्पनीले हालसम्म साढे चार करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको कार्यालयका लेखा प्रमुख धनीदत्त बजगाईंले जानकारी दिनुभयो । आयोजनाको कुल लागतको आधा रकमभन्दा बढी भुक्तानी भइसक्दा पनि विद्युत् सबस्टेसनको भवन निर्माणबाहेक अन्य काम हुन सकेको छैन । ठेकेदारले सबस्टेसनमा विद्युतीय मेसिन उपकरण जडान र लाइन विस्तारका लागि तार र पोल नल्याएको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद नेगीले बताउनुभयो । यहाँका बासिन्दा बिजुली बल्छ भनेर छ वर्षदेखि प्रतीक्षामा बसे पनि भवनबाहेक कुनै संरचना नबन्दा निराश बनेका छन् ।

सो आयोजना अलपत्र परेपछि स्वराडवासीले भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य हुनु परेको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको विषयमा प्रादेशिक कार्यालयदेखि काठमाडौँसम्म धाए पनि सुनुवाइ नभएको गुनासो स्थानीयको छ । उहाँले गुनासो लगेर पटक पटक दुःख भोग्नु परेपछि हालः मेलौली नगरपालिका–९ मा छिमेकी जिल्ला डडेलधुराबाट बिजुली ल्याउन वडा कार्यालयबाट पहल भइरहेको जानकारी दिनुभयो ।