• ८ जेठ २०८१, मङ्गलबार

आयोडिनयुक्त नुन अभाव

blog

बैतडी समाचारदाता

बैतडी, वैशाख १८ गते । बैतडीको दुर्गम गाउँमा अझै पनि आयोडिनयुक्त नुन खान नपाउने परिवार भेटिएका छन् । जिल्लाको सिगास गाउँपालिकाको दलित बस्तीमा आयोडिनयुक्त नुन खान नपाउँदा गलगाँडको समस्या झेलिरहका बिरामी भेटिएका छन् । 

सिगास गाउँपालिका–६, थलाकी महामती विक गलगाँडको समस्याबाट पीडित हुनुहुन्छ । महामतीका श्रीमान् बितेको पाँच वर्ष भयो । छोराछोरी छैनन् । साँझबिहानको छाक टार्न धौ धौ परेका बेला उहाँलाई गलगाँडको उपचार गर्न सकस भएको छ ।

“अस्पताल जाने खर्च छैन,” दुःखेसो पोख्दै महामतीले भन्नुभयो, “नुन किन्ने पैसा नहुँदा छरछिमेकसँग ढिकेनुन मागेर जीविका चलाउँदै छु । गलगाँडले घाँटी दुख्छ । टाउको दायाँबायाँ गर्न अप्ठ्यारो हुन्छ ।” गलगाँडबाट महामती विक मात्रै होइन, उहाँको गाउँका अर्का एक जनाले पनि समस्या भोगिरहेको स्थानीय नरेन्द्र विकले बताउनुभयो । गाउँमा अझै पनि ढिकेनुन प्रयोग हुने गरेको छ । दलित बस्तीमा गलगाँड, कुपोषण, गरिबी र बेरोजगारीको समस्या रहेको उहाँको गुनासो छ ।

“थलागाउँका दलितले शुद्ध पिउने पानीसम्म पाएका छैनन्,” विकले भन्नुभयो, “आयोडिन नुन कहाँबाट पाउनु ? ढिके नुन किन्न पनि भारतमा ज्याला मजदुरी गर्न जानु पर्छ । ढिके नुन सस्तो हुने भएकाले दलित बस्तीमा आयोडिनयुक्त नुन खाने परिवार निकै कम छन् ।”

गलगाँडका बिरामी भेटिएको विषयमा स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले अहिलेसम्म गलगाँडका बिरामी भेटिनु भनेको अचम्मको कुरा भएको बताउनुभयो । “गलगाँडको समस्या निर्मूल भयो भनिरहेका छौँ,” स्वास्थ्य प्रमुख भट्टले भन्नुभयो, “बैतडीका दुर्गम गाउँमा अझै पनि यो समस्या कायम देखिनु भनेको जीवनस्तर कति दयनीय छ भन्ने कुराको प्रमाण हो ।”