• ३ जेठ २०८१, बिहिबार

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी फाइनलमा

blog

हक्कीमा गोल गर्ने प्रयास गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख १७ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा  प्रवेश गरेका छन् । 

धुलिखेलमा सोमबार भएको खेलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोलले हरायो । आर्मीलाई जित दिलाउन सरस्वती तामाङले तीन गोल गर्नुभयो । डम्मरा भट्टले दुई तथा सीमा खड्काले एक गोल गर्नुभयो । 

आर्मीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुभएकी निर्मला पाण्डे प्लेअर अफ दि म्याच हुनुभयो । अर्को खेलमा खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोलले हराउँदै गण्डकीले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो । जसमा गण्डकी बाजी मार्न सफल भयो । गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्नुभयो ।


सीता माया बल र शिल्पा डगौराले गोल गर्न सक्नुभएन । यता सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन् । सुदूरपश्चिमका सन्जु चौधरी, पूर्णिमा नेगी, आशिका एसके र जमुना भट्टराई चुक्नुभयो । 

यसअघि निर्धारित समयमा गण्डकीका लागि सीता मायाले दुई र गीता पुनमगरले एक गोल गर्नुभएको थियो । सुदूरपश्चिमका लागि पूर्णिमा उराउले दुई तथा नमिता एसकेले एक गोल गर्नुभएको थियो ।सुदूरपश्चिमकी आशिका एसके प्लेअर अफ दि म्याच हुनुभयो ।

गण्डकी र आर्मीबिच मङ्गलबार फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले एक लाख र उपविजेता टोलीले ७५ हजार रुपियाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँ प्रदान गरिने नेपाल हक्की सङ्घले जनाएको छ ।